रुपन्देहीमा ‘ग्यास्ट्रो कोर २.०’ सम्मेलन सुरु

गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकार प्रतिबद्ध : स्वास्थ्य मन्त्री घिमिरे

स्वास्थ्यसमाचार / पेट, आन्द्रा, कलेजो तथा प्यान्क्रियाजसम्बन्धी रोगहरूको उपचारमा आधुनिक प्रविधि, नवीनतम अनुसन्धान तथा उपचार पद्धतिबारे ज्ञान आदान-प्रदान गर्ने उद्देश्यले बुटवलमा आयोजित ‘ग्यास्ट्रो कोर २.०-२०२६’ सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले गर्नु भयो .

उद्घाटन समारोहमा वोल्दै स्वास्थ्य मन्त्री घिमिरेले लुम्बिनी प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति विकास, उपचार पद्धतिलाई सर्वसुलभ बनाउने तथा प्रदेशलाई स्वास्थ्य तथा आरोग्य पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यका साथ काम गरिरहेको बताउनुभयो।

उहाँले स्वास्थ्य क्षेत्रमा निरन्तर नयाँ-नयाँ प्रविधि भित्रिरहेको उल्लेख गर्दै सोहीअनुसार दक्ष जनशक्ति उत्पादन र सबै सरोकारवालासँग सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

कार्यक्रमको स्वागत तथा सम्मेलनको उद्देश्यबारे जानकारी लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ चिकित्सक डा. नन्दु पाठकले ग्यास्ट्रोइन्टेस्टाइनल रोगहरूको उपचारमा विश्वस्तरमा भइरहेका प्रगति र त्यसको अनुभव नेपाली चिकित्सकमाझ आदान–प्रदान गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताउनुभयो।

कार्यक्रममा बिर अस्पतालका पुर्व निर्देशक डा. भुपेन्द्र बस्नेतले आधुनिक चिकित्सा विज्ञानमा निरन्तर भइरहेका अनुसन्धान र प्रविधिको उपयोगले जटिल रोगहरूको उपचारलाई थप प्रभावकारी बनाएको उल्लेख गर्दै यस्ता सम्मेलनले चिकित्सकहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने धारणा राख्नुभयो।

बरिष्ठ चिकित्सक डा. शशि शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा विभिन्न विषयमा २० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो। कार्यपत्रहरूमा पेट, आन्द्रा, कलेजो तथा प्यान्क्रियाज रोगको निदान, उपचार र अत्याधुनिक प्रविधिको प्रयोगबारे छलफल गरिएको आयोजकले जनाएको छ।

‘ग्यास्ट्रो सेन्टर बुटवल’को आयोजनामा भएको सम्मेलनको मुख्य उद्देश्य आधुनिक उपचार पद्धति र अन्तर्राष्ट्रिय स्तरमा विकसित प्रविधिलाई नेपाली चिकित्सकहरूसम्म पु¥याउनु रहेको छ।

सम्मेलनका संयोजक तथा वरिष्ठ पेट, आन्द्रा तथा कलेजो रोग विशेषज्ञ डा. मोहन भुसालले विश्व चिकित्सा क्षेत्रमा भइरहेका नवीन प्रयोग र प्रविधिलाई नेपालमा भित्र्याउन सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो।

उहाले “पेट तथा कलेजोका जटिल रोगहरूको उपचारका लागि अझै पनि धेरै नेपाली बिरामी विदेश जान बाध्य छन्,। डा भुसालले भन्नु भयो “हाम्रो लक्ष्य अत्याधुनिक प्रविधिलाई स्वदेशमै भित्र्याउने, चिकित्सकहरूको क्षमता अभिवृद्धि गर्ने तथा कम खर्चिलो र प्रभावकारी उपचार पद्धतिलाई नेपालमै उपलब्ध गराउनु हो।”

सम्मेलनमा नेपाल र भारका गरि बिभिन्न २सय २० जना चिकित्सको सहभागीता रहेको ‘ग्यास्ट्रो सेन्टर बुटवल’ बुटबलले जनाएको छ।

सम्बन्धित शिर्षक :