स्वास्थ्यसमाचार/ क्षयरोग (टीबी) का बिरामीहरूलाई समुदायमा खोजपडताल तथा उपचार सेवामा संलग्न गराउँदा हुने लाञ्छना, भेदभाव तथा लैङ्गिक असमानता न्यूनीकरण गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमा दुईदिने सामुदायिक अधिकार तथा लैङ्गिक अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ।
बिराट नेपाल मेडिकल ट्रस्ट (BNMT Nepal)को आयोजनामा सम्पन्न तालिमको अध्यक्षता लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक रोशनलाल चौधरीको अध्यक्षता स्वास्थ्य कर्यलय रुपन्देहीकी प्रमुख जनस्वास्थ्य प्रशासक उमा देवी थापा विशिष्ट अआतिथ्यता तथा स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्सन कृष्णगोपाल चौधरी रस्वास्थ्य कार्यालय रुपन्देहीका क्षयरोग फोकल पर्सन टीकाराम अधिकारीलगायतको आतिथ्यता भएको थियो।
तालिममा सुभारम्भमा बोल्दै स्वास्थ्य निर्देशक रोशनलाल चौधरीले क्षयरोग नियन्त्रणका लागि समुदायस्तरमा सक्रिय खोजपडताल, समयमै उपचार तथा निरन्तर अनुगमन आवश्यक रहेको बताउनुभयो। उहाँले बिरामीप्रति हुने लाञ्छना र भेदभाव अन्त्य गर्न सबै सरोकारवालाले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
प्रमुख जनस्वास्थ्य प्रशासक उमा देवी थापाले लैङ्गिक हिंसा तथा यसको रोकथामका विषयमा प्रशिक्षण दिँदै स्वास्थ्य सेवामा पहुँच र व्यवहारमा लैङ्गिक समानता कायम गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले विशेषगरी संवेदनशील समूहलाई सेवा प्रदान गर्दा सम्मानजनक व्यवहार अपनाउनुपर्नेमा जोड दिनुभयो।
स्वास्थ्य निर्देशनालय लुम्बिनीका क्षयरोग फोकल पर्सन कृष्णगोपाल चौधरीले प्रदेशमा क्षयरोगको वर्तमान अवस्था, नियन्त्रणका चुनौती तथा आगामी रणनीतिबारे जानकारी दिनुभयो। उहाँले समुदायस्तरमा सक्रिय खोजपडताल, समयमै उपचार तथा निरन्तर अनुगमनबाट मात्र क्षयरोग नियन्त्रण सम्भव हुने बताउनुभयो।
त्यसैगरी, बिराट नेपाल मेडिकल ट्रस्ट (BNMT Nepal) कोशी प्रदेशका संयोजक रामप्रसाद कोइरालाले संस्थाले क्षयरोग नियन्त्रणका लागि समुदायमा आधारित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार बिरामीलाई केन्द्रमा राखेर सेवा सुधार गर्ने दृष्टिकोणका साथ काम भइरहेको छ।
त्यस्तै, डा. समिर मैनालीले कम्युनिटी–लेड मोनिटरिङ (Community-Led Monitoring) (CLM) को अवधारणा तथा यसको महत्त्वबारे विस्तृत जानकारी गराउनु भयो। उहाँले समुदाय स्वयंले स्वास्थ्य सेवाको निगरानी गर्दा सेवाको गुणस्तरमा सुधार आउने बताउनुभयो।
स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयरोग तथा कुष्ठरोग अधिकृत टीकाराम अधिकारीले प्रशिक्षणका क्रममा लैङ्गिक हिंसा, सामाजिक विभेद तथा क्षयरोग प्रभावित व्यक्तिहरूले भोग्ने समस्याबारे व्यावहारिक जानकारी प्रस्तुत गर्नुभयो। उहाँले समुदायमा सचेतना विस्तार नगरेसम्म भेदभाव पूर्ण रूपमा अन्त्य गर्न कठिन हुने बताउनुभयो।
तालिममा बिराट नेपाल मेडिकल ट्रस्ट (BNMT Nepal)का रुपन्देही, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, नवलपरासी, पाल्पा, प्युठान र रोल्पा गरी ९ जिल्लाका पालिका तथा जिल्ला संयोजकहरूको सहभागिता रहेको थियो।
आयोजक संस्था बिराट नेपाल मेडिकल ट्रस्ट (BNMT Nepal) का अनुसार संस्थाले लुम्बिनी, कोशी, मधेश, बागमती तथा कर्णाली प्रदेशमा क्षयरोग नियन्त्रण तथा समुदाय–आधारित स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ।
तालिमबाट क्षयरोगका बिरामीप्रति हुने सामाजिक भेदभाव न्यूनीकरण, लैङ्गिक संवेदनशील स्वास्थ्य सेवा प्रवर्द्धन तथा समुदाय–केन्द्रित स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
साथै, तालिमले क्षयरोगका बिरामीप्रति हुने विभेद न्यूनीकरण, अधिकारमुखी दृष्टिकोणको प्रवर्द्धन तथा लैङ्गिक रूपमा संवेदनशील स्वास्थ्य सेवा प्रवाहमा सकारात्मक योगदान पुर्याउने आयोजकले जनाएको छ। तालिमको सञ्चालन बिराट नेपाल मेडिकल ट्रस्ट (BNMT Nepal) लुम्बिनी प्रदेश संयोजक विवेचना पाण्डेले गर्नुभएको थियो।


प्रतिकया दिनुहोस्