स्वास्थ्यसमाचार/ लामो समयदेखि टेन्डर प्रक्रिया रोकिएको लुम्बिनी प्रादेशिक अस्पताल को चमेनागृह (क्यान्टिन) अन्ततः टेन्डर गरिएको छ । अस्पताल प्रशासनले नयाँ आर्थिक प्रस्तावसहित चमेनागृह सञ्चालनका लागि प्रक्रिया अघि बढाएको हो ।
अस्पताल स्रोतका अनुसार यसपटक चमेनागृहको न्यूनतम बोलकबोल रकम नै ४२ लाख रुपैयाँभन्दा माथि हुने अनुमान गरिएको छ । हाल चमेनागृह वार्षिक करिब २५ लाख रुपैयाँमा सञ्चालन हुँदै आएको छ । अस्पतालमा दैनिक बिरामी, कुरुवा तथा सेवाग्राहीको अत्यधिक चाप रहने भएकाले चमेनागृह आर्थिक रूपमा आकर्षक मानिन्छ ।
अस्पतालका प्रशासन प्रमुख प्रेम गौतम ले लामो समयपछि प्रक्रिया अघि बढाइएको जानकारी दिँदै अस्पतालको राजस्व वृद्धि र सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउन टेन्डर आवश्यक रहेको बताए ।
त्यस्तै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिष्णु गौतम ले चमेनागृहलाई व्यवस्थित, स्वच्छ र सेवामैत्री बनाउन प्रतिस्पर्धात्मक प्रक्रिया अपनाइएको बताए । उनले अस्पतालभित्र सञ्चालन हुने सेवाहरूलाई मापदण्डअनुसार सञ्चालन गर्न प्रशासन प्रतिबद्ध रहेको उल्लेख गरे ।
यसअघि तत्कालीन मेसु डा. राजेन्द्र खनाल को कार्यकालमा अस्पतालको चमेनागृहको टेन्डर प्रक्रिया सम्पन्न गरिएको थियो । त्यसपछि नयाँ टेन्डर प्रक्रिया हुन सकेको थिएन ।

प्रतिकया दिनुहोस्