स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका वडा नं. १० लाई पूर्ण संस्थागत प्रसूति सेवा युक्त वडा तथा पूर्ण खोप सुनिश्चितता दिगोपना वडा घोषणा गरिएको छ ।
सेमरा बजार स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा वडालाई औपचारिक रूपमा घोषणा गरिएको हो । स्वास्थ्य चौकी प्रमुख कमल पान्डेय
ले प्रस्तुत गरेको प्रतिवेदन अनुसार वडा भित्र रहेका १६२ जना गर्भवती महिलाले स्वास्थ्य संस्थामै पुगेर प्रसूति सेवा लिएका छन् ।
प्रतिवेदन अनुसार नेपाल सरकारको मापदण्ड अनुसार गर्भवती अवस्थामा गरिने चार पटकको एएनसी (ANC) जाँच तथा सुत्केरीपछिको पीएनसी (PNC) सेवा पनि शतप्रतिशत सम्पन्न भएको छ । वडा भित्र कुनै पनि महिलाले घरमै प्रसूति नगराएको स्वास्थ्य चौकीले जनाएको छ ।
यसैगरी घरधुरी सर्वेक्षणका आधारमा ० देखि १५ महिना र १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले सरकारले तोकेको खोप तालिका अनुसार पूर्ण खोप लगाएको पुष्टि भएपछि वडालाई पूर्ण खोप सुनिश्चितता दिगोपना वडा घोषणा गरिएको हो ।
कार्यक्रम वडा अध्यक्ष गोपाल प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगर उपप्रमुख जगेश्वरी देवी चौधरी प्रमुख अतिथि रहेका थिए भने कार्यक्रममा सामाजिक विकास समिति संयोजक रबि शेन्चुरी, स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख जगेश्वरी देवी चौधरीले सुरक्षित मातृत्व र पूर्ण खोप सुनिश्चित गर्नु स्थानीय सरकारको प्राथमिकता रहेको बताईन । उनले वडा नं. १० ले स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरेको उल्लेख गर्दै अन्य वडामा समेत यस्तो अभियान विस्तार गरिने बताईन ।
सामाजिक विकास समिति संयोजक रबि शेन्चुरीले स्वास्थ्य सेवामा समुदायको सहभागिता बढ्दै गएको बताउँदै पूर्ण खोप र संस्थागत प्रसूति अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले पूर्ण खोप तथा सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुँदा मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।
वडा अध्यक्ष गोपाल प्रसाद घिमिरेले वडालाई पूर्ण संस्थागत प्रसूति र पूर्ण खोप सुनिश्चितता दिगोपना वडा बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीयवासीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
कार्यक्रममा स्थानीय महिला स्वास्थ्य स्वयंसेविका लगायतको सहभागिता रहेको स्वास्थ्य संस्थाका प्रमुख जनस्वास्थ्य अधिकृत कमल पाण्डेले जानकारी दिए ।


प्रतिकया दिनुहोस्