बुटवलमा जेष्ठ नागरिक स्वास्थ्य अभियान प्रभावकारी :एक सातामै १,२३७ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

स्वास्थ्यसमाचार /बुटवल उपमहानगरपालिकाले सञ्चालन गरिरहेको ‘बा–आमासँग नगर प्रमुख’ कार्यक्रम अन्तर्गत मंगलबार वडा नम्बर ११ मा जेष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। जेष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्ने तथा उपचारमा सहज पहुँच पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरभित्र रहेका जेष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा आवश्यक उपचारमा सहयोग पुर्‍याउन कार्यक्रम सञ्चालन गरिएको बताए। उनले आगामी आर्थिक वर्षदेखि वर्षमा तीन पटकसम्म कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।

नगरप्रमुख पाण्डेयले प्रदेश सरकारसँग प्रयोगशाला परीक्षणका लागि सहकार्य भइरहेको उल्लेख गर्दै स्वास्थ्य संस्थासम्म आउन नसक्ने जेष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिने तयारी गरिएको बताए। साथै बिरामीको अवस्थाअनुसार बुटवलको मोतिपुर क्षेत्रमा चिकित्सक सेवा तथा वडा नम्बर १२ को बेलवास क्षेत्रमा फिजियोथेरापी सेवा सञ्चालन गरिने जानकारी दिए।

उपप्रमुख सावित्रादेवी अर्यालले ‘बा–आमासँग नगर प्रमुख’ कार्यक्रम प्रभावकारी बन्दै गएको बताउँदै यसको दायरा अझ विस्तार गर्न नगरपालिकाले थप योजना बनाइरहेको जानकारी दिइन्।

उपमहानगरपालिकाका जनस्वास्थ्य प्रमुख युवराज पाण्डेयका अनुसार मंगलबार मात्रै वडा नम्बर ११ मा करिब २ सय जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो। उनले कार्यक्रममार्फत जेष्ठ नागरिकको स्वास्थ्य अवस्था पहिचान हुनुका साथै उपचारमा समेत सहयोग पुगेको बताए।

कार्यक्रम अन्तर्गत रगतमा चिनीको मात्रा, पिसाबको सामान्य परीक्षण, क्रियाटिनिन, पूर्ण रक्त गणना (CBC) तथा युरिक एसिड लगायतका परीक्षण निःशुल्क रूपमा गरिएको छ। साथै आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको जनाइएको छ।

वैशाख १५ गतेदेखि सुरु भएको अभियान अन्तर्गत वैशाख २१ गतेसम्म १ हजार २ सय ३७ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण सम्पन्न भइसकेको छ। हालसम्म वडा नम्बर १७, १८, १९, ८ र ११ मा कार्यक्रम सञ्चालन गरिएको छ।

प्रदेश जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा सञ्चालन भइरहेको कार्यक्रममा स्वास्थ्यकर्मीको टोली वडा तहसम्म पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिरहेको नगरपालिकाले जनाएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :