स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकार अन्तर्गतका मन्त्रालयहरूले आफ्नै नव–निर्मित आधुनिक, सुव्यवस्थित र सेवा–मैत्री भवनहरूबाट औपचारिक रूपमा सेवा शुभारम्भ गरेका छन्। यस ऐतिहासिक क्षणसँगै प्रदेशबासीले सुशासनको प्रत्याभूति, सेवा प्रवाहमा सहजता र प्रशासनिक कार्यमा नयाँ गति प्राप्त हुने अपेक्षा गरेका छन्।
प्रदेश सरकारको यो कदमलाई विकास प्रशासनको एक महत्वपूर्ण मोडका रूपमा लिइएको छ, जसले सेवाग्राहीको समय, श्रम र झन्झट घटाउँदै डिजिटल तथा भौतिक दुवै रूपमा सेवा प्रवाहलाई आधुनिक बनाउने विश्वास गरिएको छ।
२०७७ साल असोज २० गते लुम्बिनी प्रदेशसभाले प्रदेशको नाम “लुम्बिनी” र दाङ जिल्लाको देउखुरी उपत्यकालाई स्थायी राजधानी तोक्ने ऐतिहासिक निर्णय गरेको थियो। सोही निर्णयअनुसार २०७९ मंसिर २८ गतेदेखि स्थायी राजधानीबाट सरकारी कामकाज सुरु भएको थियो। आजको दिनले त्यस यात्रालाई अझ संस्थागत र व्यवस्थित बनाएको छ।
यस अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले प्रतिक्रिया दिँदै भन्नुभयो,“नयाँ भवनले मात्र होइन, नयाँ सोच र नयाँ कार्यसंस्कृतिले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनेछ। अब नागरिकले सरकारलाई टाढाबाट होइन, नजिकबाट अनुभूति गर्नेछन्।”
त्यस्तै, स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले भन्नुभयो,, “पहिले सानो र असहज स्थानबाट सेवा दिनुपर्थ्यो, जसले कामको गति प्रभावित हुन्थ्यो। अब आफ्नै व्यवस्थित भवन र पर्याप्त पूर्वाधारले सेवा प्रवाहमा सहजता आउनेछ, र सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन अझ सजिलो हुनेछ।”
यस परिवर्तनसँगै लुम्बिनी प्रदेश सरकार सुशासन, पारदर्शिता र सेवा प्रभावकारिताको दिशामा एक नयाँ अध्यायमा प्रवेश गरेको छ। आधुनिक पूर्वाधार मात्र होइन, प्रशासनिक सोच र कार्यशैलीमा पनि सुधार ल्याउने अपेक्षा गरिएको छ। प्रदेशबासीका लागि यो दिन केवल भवन उद्घाटनको औपचारिकता मात्र नभई, विकास र विश्वासको नयाँ सुरुवातका रूपमा स्मरणीय बन्नेछ।

प्रतिकया दिनुहोस्