कुपोषण पहिचानका लागि राष्ट्रिय पोषण लेखाजोखा अभियान २०८३ सुरु

“समयमै पहिचान र सही उपचार, कुपोषणमुक्त पुस्ताको आधार” भन्ने मूल नारासहित देशभर राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन भइरहेको छ । यस अभियानको मुख्य उद्देश्य ६ देखि ५९ महिनासम्मका बालबालिकामा पोषण लेखाजोखा मार्फत शीघ्र कुपोषण (SAM र MAM) को समयमै पहिचान गरी आवश्यक उपचार सेवा सुनिश्चित गर्नु हो ।

बच्चाको उमेरअनुसारको शारीरिक परिपक्वता, शारीरिक वृद्धि, शारीरिक अङ्गहरू र प्रणालीहरूको विकास जस्तैः तौल, उचाइ, टाउको, छाती र पाखुराको मापन गरी गणितीय मानाङ्कनका आधारमा अभिलेख राख्ने कार्यलाई पोषण लेखाजोखा एवं वृद्धि अनुगमन भनिन्छ ।

वृद्धि :वृद्धि भन्नाले उमेरअनुसारको शारीरिक परिपक्वता हो । यसले शरीरको वृद्धि जस्तैः तौल, उचाइ, टाउको, छाती र पाखुराको अवस्थालाई जनाउँछ ।

विकास: उमेरअनुसार शारीरिक अङ्गहरू र प्रणालीहरूको परिपक्वतासँगै सामाजिक उत्तरदायित्व बहन गर्न सक्ने क्षमता देखिनुलाई विकास भएको मानिन्छ ।

बच्चाको वृद्धि अनुगमन भनेको के हो ? यसमा के–के जाँचिन्छ ? बच्चाको उमेरअनुसारको शारीरिक परिपक्वता तथा शरीरको वृद्धि जस्तैः तौल, उचाइ, टाउको, छाती र पाखुराको जाँच गरी गणितीय मानाङ्कनका आधारमा अभिलेख राख्ने कार्यलाई वृद्धि अनुगमन भनिन्छ ।

वृद्धि थाहा पाउने सूचकहरू
१. तौल लिएर

२. उचाइ नापेर
३. टाउकोको परिधि

४. छातीको परिधि

५. MUAC (Mid Upper Arm Circumference) नापबाट

वृद्धि सम्बन्धी प्रचलित सूचकहरू

क. उमेरअनुसारको तौल

ख. उचाइअनुसारको तौल

ग. उमेरअनुसारको उचाइ

घ. छातीको परिधि

ङ. टाउकोको परिधि

च. मध्य पाखुराको नाप (MUAC)

बच्चा जन्मेदेखि २ वर्षको हुँदासम्म प्रत्येक महिना तौल लिनुपर्दछ । २ वर्षमा २४ पटक तौल लिएको अभिलेख हुनुपर्दछ ।

उमेरअनुसार बच्चाको विकास भए/नभएको कसरी थाहा पाउने ?

१. ३ देखि ४ महिनामा बच्चाले आफ्नो टाउको अड्याउन सक्छ ।

२. ६ महिनामा बच्चा कसैको सहायताले बस्न सक्छ ।

३. ६ देखि ८ हप्तामा बच्चा मुस्कुराउँछ ।

४. ९ महिनामा बच्चा कसैको सहायता बिना बस्न सक्छ ।

५. १२ महिनामा बच्चा आफैं उभिन सक्छ ।

६. १५ महिनामा बच्चा हिँड्न सक्छ ।

पोषण लेखाजोखा एवं वृद्धि अनुगमनको आवश्यकता र महत्व

१. बच्चाको पोषण अवस्था थाहा पाउन ।

२. बच्चाको उमेरअनुसार तौल र उचाइ बढेको छ/छैन भनेर थाहा पाउन ।

३. बच्चालाई कुनै रोग लागेको छ कि भनेर समयमै पहिचान गर्न ।

४. रोग लागेको भए समयमै उपचार गर्न ।

बालबालिकाको वृद्धि र विकासमा प्रभाव पार्ने तत्वहरू
१. पोषण

२. भौतिक वातावरण जस्तैः घाम, पानी, हावा

३. सामाजिक वातावरण

४. वंशाणुगत तत्व

५. परिवारको संख्या

६. अन्तःस्रावी ग्रन्थी

७. आमाको प्रसव अवस्था

८. जन्मजात विकृति आदि

MUAC टेपले के जनाउँछ ?
MUAC टेपले ६ महिनादेखि माथि र ५ वर्ष (५९ महिना) मुनिका बच्चाहरूको पोषण अवस्था देखाउँछ ।

१. हरियो – पोषण अवस्था राम्रो

२. पहेँलो – पोषण अवस्था राम्रो छैन

३. रातो – अवस्था जोखिमपूर्ण, उपचार आवश्यक

पाखुराको नाप १३.५ से.मि.भन्दा माथि भए पोषण अवस्था राम्रो मानिन्छ । १२.५ देखि १३.५ से.मि.सम्म भए थप स्याहार आवश्यक भएको बुझिन्छ । १२.५ से.मि.भन्दा कम भए कुपोषणको जोखिम भएको मानिन्छ ।

बच्चा जन्मँदा तौल २.५ के.जी.भन्दा माथि हुनुपर्दछ । जन्मँदाको उचाइ ४२ देखि ५७ से.मि. हुनुपर्दछ । जन्मँदा टाउकोको परिधि ३५ से.मि. र छातीको परिधि ३२ से.मि. हुनु स्वास्थ्यका दृष्टिले उपयुक्त मानिन्छ ।

बच्चाको वृद्धि अनुगमन कहाँ गरिन्छ ?
हरेक महिना स्वास्थ्य संस्था वा स्वास्थ्य संस्थाअन्तर्गत सञ्चालन हुने गाउँघर क्लिनिकमा स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाद्वारा बालबालिकाको तौल लिने कार्य गरिन्छ ।

२०८३ बैशाख १५ देखि ३० सम्म देशभरका ७५३ वटै स्थानीय तहमा अभियानका रूपमा पोषण लेखाजोखा सञ्चालन गरिँदैछ । पोषण लेखाजोखा गर्ने स्थानहरूमा स्वास्थ्य संस्था, खोप केन्द्र, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन, प्रारम्भिक बालविकास केन्द्र तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाका बैठक स्थलहरू तय गरिएका छन् ।

बच्चाको पोषण अवस्था निरन्तर थाहा पाउन हरेक महिना बच्चालाई तौलिएर वृद्धि अनुगमन कार्ड भर्नुपर्दछ । स्वास्थ्यकर्मीहरूले आफ्नो सेवा क्षेत्रभित्रका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकामार्फत सूचना प्रवाह गरी २४ महिनासम्मका बालबालिकालाई सम्बन्धित स्थानमा उपस्थित गराई तौल लिने, स्वास्थ्य अवस्था मूल्याङ्कन गर्ने तथा अभिभावकलाई आवश्यक परामर्श दिने गर्दछन् ।

त्यसैले हरेक आमा–बुबाले आफ्नो बच्चालाई नजिकको स्वास्थ्य संस्था वा गाउँघर क्लिनिकमा लगी नियमित तौल जाँच गराउनु आवश्यक छ । बच्चा २४ महिनाको हुँदासम्म २४ पटक तौल जाँच गराई बालबालिकालाई लाग्न सक्ने सामान्य तथा घातक रोगबारे जानकारी लिनुका साथै रोगबाट बचाउन सकिन्छ । यस कार्यको महत्वपूर्ण जिम्मेवारी अभिभावक स्वयंले लिनुपर्दछ ।

भोजराज पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुनुहुन्छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :