सिदार्थनगर सिटी अस्पतालद्वारा ‘सुलभ स्वास्थ्य सेवा’ सुरु, न्यून शुल्कमै सुपर स्पेशालिटी उपचार

स्वास्थ्यसमाचार/ सिदार्थनगर सिटी अस्पताल ले कम आय भएका तथा स्वास्थ्य सेवामा पहुँच कम भएका नागरिकलाई लक्षित गर्दै ‘सुलभ स्वास्थ्य सेवा कार्यक्रम’ सञ्चालनमा ल्याएको छ।

अस्पतालले पत्रकार सम्मेलनमार्फत कार्यक्रम सार्वजनिक गर्दै वैशाख १६ गतेदेखि सेवा लागू गरिएको जनाएको हो।अस्पताल प्रशासनका अनुसार सरकारी अस्पतालमा घण्टौं लाइन बस्नुपर्ने, अपरेशनका लागि महिनौं कुर्नुपर्ने, सफा तथा शान्त वातावरणमा उपचार नपाइने, स्वास्थ्यकर्मीबाट पर्याप्त समय र नम्र व्यवहार नपाइने जस्ता बिरामीका गुनासोलाई मध्यनजर गर्दै कार्यक्रम ल्याइएको हो।

सबै वर्गका बिरामीलाई समयमै गुणस्तरीय, सम्मानजनक र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले योजना सुरु गरिएको अस्पतालले जनाएको छ। कार्यक्रम अन्तर्गत सुलभ ओपिडी टिकट शुल्क १५० रुपैयाँ, जनरल वार्ड ५०० रुपैयाँ प्रतिदिन, आईसीयू सेवा २ हजार २०० रुपैयाँ प्रतिदिन, सिटी स्क्यान ३ हजार ५०० रुपैयाँ, भिडियो एक्स–रे ८०० रुपैयाँ तथा एनआईसीयू सेवा २ हजार रुपैयाँ प्रतिदिन निर्धारण गरिएको छ। साथै विभिन्न सर्जरी तथा अपरेशन प्याकेज समेत सुलभ दरमा उपलब्ध गराइने अस्पतालले जनाएको छ।

अस्पतालले प्रत्येक महिना एक जना विपन्न बिरामीलाई पित्तथैलीको पत्थरी, नाक–कान–घाँटी सम्बन्धी शल्यक्रिया तथा पाठेघरको अपरेशन निःशुल्क गर्ने घोषणा पनि गरेको छ। निःशुल्क सेवा अत्यन्त गरिब तथा विपन्न बिरामीलाई निश्चित प्रक्रिया पूरा गरेपछि उपलब्ध गराइने अस्पताल प्रशासनले जनाएको छ।

सुलभ ओपिडी सेवा लिन चाहने बिरामीले बिहान ७ बजेदेखि ९ः३० बजेसम्म टिकट काटिसक्नुपर्ने व्यवस्था गरिएको छ। अस्पतालले नेपाल सरकारको निर्देशनअनुसार १० प्रतिशत बिरामीलाई निःशुल्क सेवा दिने कार्यक्रमलाई समेत प्रभावकारी ढंगले कार्यान्वयन गरिरहेको जनाएको छ।

यसका साथै अस्पतालमा नेपाल सरकारअन्तर्गत विपन्न नागरिकका लागि निःशुल्क डायलाइसिस सेवा, सामाजिक सुरक्षा कोष कार्यक्रम लगायतका सेवाहरू सञ्चालन हुँदै आएको जानकारी अस्पतालले दिएको छ।

अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेल का अनुसार प्रदेशकै पहिलो १०० बेड क्षमताको सुपर स्पेशालिटी अस्पतालका रूपमा सञ्चालनमा रहेको संस्थामा ट्रमा सेवा देखि क्याथल्याबसम्मका अत्याधुनिक सेवा उपलब्ध छन्।

अस्पतालमा हाल २ सयभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मी कार्यरत रहेको तथा पाँच वर्षको अवधिमा ८९ हजारभन्दा बढी बिरामीलाई सेवा प्रदान गरिएको पौडेलले जानकारी दिए।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :