स्वास्थ्यसमाचार/ निजी स्वास्थ्य क्लिनिकमा चिकित्सकको जाँच कोठाको न्यूनतम मापदण्ड कार्यान्वयनलाई लिएर रुपन्देहीमा विवाद बढ्दै गएको छ।
प्रदेश राजपत्रमा उल्लेखित स्वास्थ्य क्लिनिक तथा पोलिक्लिनिकसम्बन्धी मापदण्डअनुसार बिरामी जाँच गर्ने कोठा कम्तीमा १४ वर्गमिटर हुनुपर्ने व्यवस्था गरिएपछि साना तथा पुराना क्लिनिकहरू समस्यामा पर्ने देखिएको हो।
विशेषगरी सहरी क्षेत्रमा भाडामा सञ्चालन भइरहेका क्लिनिकहरूले सीमित स्थानका कारण मापदण्ड पूरा गर्न कठिन हुने बताएका छन्। बुटवलका अधिकांश क्लिनिक भाडाका घरमा सञ्चालनमा रहेकाले कोठा विस्तार सम्भव नभएको व्यवसायीहरूको भनाइ छ। बुटवलमा करिब ८० प्रतिशत क्लिनिक भाडामा सञ्चालनमा रहेका छन्।
मापदण्डअनुसार जाँच कोठा हावापास हुने वा वातानुकूलित हुनुपर्ने, बिरामी बस्ने ठाउँ, चिकित्सकका लागि छुट्टै टेबल–कुर्सी, शौचालय, स्वच्छ खानेपानी लगायतका आधारभूत सुविधा अनिवार्य गरिएको छ। साथै उपकरण व्यवस्थापन, अभिलेख प्रणाली र सरसफाइसम्बन्धी मापदण्ड पनि कडाइका साथ लागू गरिने उल्लेख छ।
नेपाल औषधी व्यवसायी संघ रुपन्देही का अध्यक्ष खड्ग बस्नेत ले गुणस्तरीय सेवा सुनिश्चित गर्न मापदण्ड आवश्यक भए पनि यसको कार्यान्वयन व्यवहारिक हुनुपर्ने बताए। उनले चिकित्सकको जाँच कोठाको आकार घटाएर अन्य मापदण्ड पालना गर्न व्यवसायीहरू तयार रहेको उल्लेख गरे।
“एक जना चिकित्सक, बिरामी र बिरामीका आफन्त सहज रूपमा अट्ने व्यावहारिक मापदण्ड बनाउनुपर्छ,” उनले भने। व्यवसायीहरूले यस विषयमा बुटवल उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशमा ज्ञापनपत्र बुझाइसकेको बताएका छन्।
हाल बुटवलमा ५० भन्दा बढी क्लिनिक दर्ता भइसकेका छन् भने अन्य क्लिनिक दर्ता प्रक्रियामा रहेका छन्। रुपन्देहीमा औषधि पसलहरूको संख्या भने एक हजारभन्दा बढी रहेको बताइएको छ।

प्रतिकया दिनुहोस्