स्वास्थ्यसमाचार/ भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीसहितका चिकित्सकमाथि हातपातको प्रयास, दुर्व्यवहार तथा ज्यान मार्ने धम्की दिइएको घटनापछि दोषीमाथि कारबाही र सुरक्षाको माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्।
बाँकेको बैजनाथ गाउँपालिका–६ की ६२ वर्षीया दिलसरा विकको मृत्यु प्रकरणलाई लिएर मंगलबार बिहान करिब साढे १० बजे एक समूह डा. सुवेदीको कार्यकक्षमा प्रवेश गरी हातपातको प्रयास गरेको तथा अपमानजनक व्यवहार गरेको थियो ।
अस्पताल प्रशासनका अनुसार उक्त समूहले प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेसहित अन्य चिकित्सकलाई ज्यान मार्ने धम्कीसमेत दिएको बताइएको छ।प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले दोषीमाथि कारबाही र सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता नभएसम्म सेवामा फर्किन नसकिने बताउनुभयो।
उहाँले उपचारका क्रममा बिरामीको मृत्यु हुनु दुःखद भए पनि असहमति भए कानुनी बाटो अपनाउन सकिने अवस्थामा चिकित्सकमाथि आक्रमण प्रयास हुनु अस्वीकार्य रहेको बताउनुभयो। यस्ता घटनाले चिकित्सकहरूको मनोबल खस्किएको र अस्पतालमा त्रासको वातावरण सिर्जना भएको उहाँको भनाइ छ।
उहाँले इमरजेन्सीबाहेक अन्य सबै सेवा स्थगित गरेर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो। प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले पनि चिकित्सकहरू त्रासमा रहेको बताउनुभयो। उहाँले उपचार प्रक्रियामा असन्तुष्टि भए कानुनी बाटो खुला हुँदाहुँदै चिकित्सकमाथि हातपातको प्रयास हुनु निन्दनीय भएको बताउनुभयो। चिकित्सक दोषी देखिए कानुनी कारबाही भोग्न तयार रहेको तर हिंसात्मक व्यवहार कुनै हालतमा स्वीकार्य नहुने उहाँले बताउनुभयो।
प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारको सहजीकरणमा सोमबार चिकित्सक र मृतकका आफन्तबीच छलफल भई उपचारमा संलग्न चिकित्सकमाथि कानुनी प्रक्रिया अघि बढाउने तथा मंगलबार शव पोस्टमार्टम गरी आफन्तलाई बुझ्ने सहमति भएको बताइएको छ। सोहीअनुसार पीडित परिवारले सोमबार नै प्रहरीमा जाहेरी दिएको बताइएको छ।
तर सहमति भइसकेको विषयमा मंगलबार अचानक एक समूह कार्यकक्षमै प्रवेश गरी आक्रमणको प्रयास गरेको डा. सुवेदीले बताउनुभयो। मृतकका छोरा सुरेश विकले भने आफूले हातपात नगरेको दाबी गर्नुभएको छ। उहाँले शव बुझेर लगिसकेको बताउनुभयो। गत वैशाख ६ गते उपचारका लागि भेरी अस्पतालमा भर्ना भएकी दिलसरा विकको वैशाख १३ गते मृत्यु भएको थियो।

प्रतिकया दिनुहोस्