खोपको महिना बैशाखसँगै विश्व खोप सप्ताह: खोजौं र खोपौं अभियानमा जुटौं

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्षको बैशाख महिनालाई खोपको महिनाको रूपमा मनाउँदै आएको छ। अप्रिल महिनाको अन्तिम हप्तालाई विश्वभर विश्व खोप सप्ताहका रूपमा पनि मनाइन्छ। यो अभियानलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा समन्वय गर्दै आएको पाइन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैशाख महिनामा खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाका लागि बृहत् खोज र खोप अभियान २०८३ सञ्चालन गरेको छ। मन्त्रालयले बैशाखलाई पूर्ण खोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले यो खोप अभियान सञ्चालन गर्न लागेको हो।

खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्ण खोप सुनिश्चित गर्ने उद्देश्यले बैशाख महिनामा देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट १५ महिनाभित्र लगाउनुपर्ने नियमित खोपमा छुटेका ५ वर्ष मुनिका बालबालिकालाई खोप दिने अभियान सञ्चालन गरिन्छ। त्यसैले बैशाख महिनालाई खोपको महिनाका रूपमा परिभाषित गरिएको हो।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गत रहेका सम्पूर्ण खोप कार्यक्रम सञ्चालन भएका सूचीकृत स्वास्थ्य संस्थाहरूमा राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि २ वर्षभित्रका बालबालिकालाई विभिन्न घातक रोगविरुद्ध खोपहरू निःशुल्क रूपमा उपलब्ध गराइन्छ भन्ने कुरा सर्वविदितै छ।

यस्ता घातक रोगहरूबाट भविष्यका कर्णधार बालबालिकालाई पूर्ण रूपमा बचाउन प्रत्येक परिवारले आफ्ना बालबालिकालाई जन्मपश्चात १५ महिनाको उमेरसम्म अर्थात २ वर्षभित्र स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीहरूसँग सम्पर्क गरी खोप लगाउन आवश्यक छ। “रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै बेस” भन्ने भनाइलाई आत्मसात गर्दै यो कार्यलाई अत्यन्त महत्वपूर्ण मानिन्छ।

त्यसैले यो खोप कार्यक्रमलाई संवेदनशील र अनिवार्य कार्यक्रमका रूपमा लिइन्छ। यसलाई P1 (पि वान) कार्यक्रम अर्थात कार्यक्रमको पनि प्रमुख कार्यक्रमका रूपमा मानिन्छ।

हरेक वर्ष बैशाख महिनामा स्वास्थ्यकर्मीहरूले आ–आफ्नो सेवाक्षेत्रभित्र घरधुरी सर्वेक्षण गरी खोप छुटेका बालबालिकालाई खोजी गरी खोप केन्द्रमा बोलाएर खोप लगाउने, पूर्ण खोप सुनिश्चित गर्ने तथा खोपको दिगोपना कायम गर्ने कार्य गरिन्छ।

याद गरौं—जबसम्म सबै बालबालिकाले खोप लगाउँदैनन्, तबसम्म कोही पनि सुरक्षित हुँदैनन्। त्यसैले खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाका लागि २०८३ बैशाख महिनाको बृहत् खोज र खोप अभियान सफल बनाउन आ–आफ्नो स्थानबाट लागिपरौं।

हाल नेपालमा नियमित खोप कार्यक्रमअन्तर्गत १४ प्रकारका रोगविरुद्ध खोप दिइन्छ, जसले प्रतिरोधात्मक क्षमता विकास गरी रोग लाग्नबाट बचाउँछ।

रोगहरू:
१. क्षयरोग
२. रोटाभाइरसबाट हुने झाडापखाला
३. पक्षघात (पोलियो)
४. निमोनिया
५. भ्यागुते रोग
६. लहरे खोकी
७. धनुष्टंकार
८. हेपाटाइटिस बी
९. हेमोफिलस इन्फ्लुएन्जा बी
१०. दादुरा
११. रुबेला
१२. टाइफाइड
१३. जापानीज इन्सेफलाइटिस
१४. पाठेघरको मुखको क्यान्सर

खोपको महत्व

खोप निःशुल्क पाइन्छ, खोप सुरक्षित छ, खोपले जीवन रक्षा गर्दछ। खोप ठुलो जनसमूहलाई सुरक्षित गर्ने साधन हो। प्रत्येक पाँच जना बालबालिकामध्ये एक जनालाई खोपबाट बचाउन सकिन्छ। खोपले जीवन बचाउँछ। खोप सबैभन्दा राम्रो लगानी हो र जनताको निःशुल्क अधिकार हो।

रोग लाग्ने दर, अपाङ्ग हुने दर र मृत्यु दर घटाउनु खोप कार्यक्रमको लक्ष्य हो। एक जना बच्चालाई सबै खोप पूरा गर्न करिब ३० हजार रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिन्छ। त्यसैले नेपाल सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको यो कार्यक्रम अत्यन्त महत्वपूर्ण छ।

खोप नलगाउँदा बालबालिकामा लुलोपन, अपाङ्गता, मानसिक तथा शारीरिक विकासमा असर पर्न सक्छ। त्यसैले नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा गई अनिवार्य रूपमा खोप लगाऔं। आफ्ना बालबालिकाको भविष्य उज्ज्वल बनाऔं।

खोपबारे जान्नै पर्ने कुराहरू

१. विश्वमा हरेक वर्ष करिब ४० लाख मानिसको जीवन खोपले बचाउँछ।
२. खोप निःशुल्क र सुरक्षित हुन्छ।
३. जन्मेदेखि १५ महिनासम्मका सबै खोप समयमै पूरा गर्नुपर्छ।
४. सबै खोप पूरा गर्न कम्तीमा ७ पटक स्वास्थ्य संस्था जानुपर्छ।
५. खोपपछि सामान्य ज्वरो, दुखाइ, सुन्निनु हुन सक्छ, जुन केही दिनमा ठीक हुन्छ।
६. गम्भीर समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ।
७. खोप कार्ड सुरक्षित राख्नुपर्छ।
८. खोप नलगाए कानुनी कारबाही हुन सक्छ।
९. खोपसँगै सरसफाइको अभ्यास पनि आवश्यक छ।
१०. आफ्नो र आफ्ना बालबालिकाको स्वास्थ्यको जिम्मेवारी आफैं लिनुपर्छ।

भोजराज पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुनुहुन्छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :