लुम्बिनी आयुर्वेद चिकित्सालयमा सामाजिक परीक्षण : सेवा प्रभावकारी, जनशक्ति र पूर्वाधार मुख्य चुनौती

स्वास्थ्यसमाचार/ लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवलमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। रुपन्देही मिडिया नेटवर्क प्रालिको आयोजना तथा चिकित्सालयको सहकार्यमा सम्पन्न उक्त कार्यक्रम चिकित्सालय विकास समितिका अध्यक्ष शालिकराम भुसालको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा बुटवल उपमहानगरपालिका–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री प्रमुख अतिथि रहनुभएको थियो। उहाँले चिकित्सालयले हालसम्म सन्तोषजनक सेवा प्रवाह गरिरहेको उल्लेख गर्दै थप प्रभावकारी सेवा दिनका लागि स्थानीय तहसँगको समन्वय र सहकार्य अझै मजबुत बनाउनुपर्ने बताउनुभयो। “उपमहानगरपालिका सहकार्यका लागि सधैं तयार छ, चिकित्सालयलाई थप व्यवस्थित र सेवामुखी बनाउन आवश्यक छ,” उहाँले भन्नुभयो।

स्वास्थ्य निर्देशनालय लुम्बिनीका आयुर्वेद शाखा प्रमुख विभाकर ठाकुरले बिरामीको बढ्दो चापलाई ध्यानमा राख्दै नवौं तहको दरबन्दी आवश्यक रहेको औंल्याउनुभयो। उहाँका अनुसार लुम्बिनी प्रदेशमै पहिलोपटक यस चिकित्सालयमा सामाजिक परीक्षण कार्यक्रम सञ्चालन गरिएको हो, जसले सेवा सुधारका लागि महत्वपूर्ण आधार तयार गर्नेछ।

जिल्ला आयुर्वेद औषधालय कपिलवस्तुका प्रमुख डा. नलिननाथ तिवारीले सीमित स्रोतसाधनका बाबजुद पनि चिकित्सालयले उत्कृष्ट सेवा प्रदान गरिरहेको बताउँदै संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) गरी जनशक्ति व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो।

स्वास्थ्य कार्यालय रुपन्देहीका ल्याब टेक्निसियन अधिकृत खिमलाल पाण्डेयले सेवा विस्तारअघि आवश्यक कर्मचारी र पूर्वाधार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा वरिष्ठ अधिकृत गणेश सापकोटालगायतले पनि सेवा सुधारका विविध पक्षमा धारणा राख्नुभयो।

 

सामाजिक परीक्षण क्रममा सेवाग्राहीहरूको सहभागिता उल्लेखनीय रहेको थियो। आठ जना सेवाग्राहीहरूले आफ्ना अनुभव प्रस्तुत गर्दै नियमित योग सेवा सञ्चालन गर्नुपर्ने, अस्पतालबाट निस्कने फोहोर पानी व्यवस्थापनका लागि नाली निर्माण गर्नुपर्ने, वर्षभरि निःशुल्क औषधि उपलब्ध गराउनुपर्ने, जनचेतनामूलक कार्यक्रमको सूचना प्रभावकारी रूपमा प्रवाह गर्नुपर्ने तथा पञ्चकर्म सेवामा बढ्दो भीड व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन्।

चिकित्सालय प्रमुख डा. कलावती विश्वकर्माले हाल चिकित्सालयमा स्थायी दरबन्दीमा पाँच जना मात्र कर्मचारी रहेको जानकारी दिँदै O&M मार्फत दरबन्दी थप गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै भवन, औषधि व्यवस्थापन, उपकरण खरिद तथा सेवा विस्तारका लागि बजेट वृद्धि अपरिहार्य रहेको उहाँको भनाइ थियो।

लुम्बिनी आयुर्वेद चिकित्सालय २०४३ सालमा लुम्बिनी अञ्चल आयुर्वेद औषधालयको रूपमा स्थापना भई २०७५ सालमा लुम्बिनी आयुर्वेद चिकित्सालयको रूपमा नामकरण गरिएको थियो। २०८० सालदेखि १५ शय्यायुक्त अन्तरङ्ग सेवा सञ्चालनमा आएको छ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष शालिकराम भुसालले चिकित्सालयको सेवा थप प्रभावकारी बनाउन सबै सरोकारवालाको सहकार्य अपरिहार्य रहेको बताउँदै आफू समन्वय र सहकार्यका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

सामाजिक परीक्षणमा भौतिक पूर्वाधार, औषधि व्यवस्थापन, मानव स्रोत अभाव तथा रेकर्डिङ–रिपोर्टिङ प्रणालीमा सुधार आवश्यक रहेको निष्कर्ष निकालिएको छ। साथै आगामी दिनमा सेवा विस्तार, पञ्चकर्म सेवा व्यवस्थापन, मानसिक स्वास्थ्य तथा योग कार्यक्रम प्रवर्द्धन, पोषण तथा जनचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाउने सुझावहरू समेत प्रस्तुत गरिएको छ।

सामाजिक परीक्षण सार्वजनिक संस्था वा परियोजनाको सेवा प्रवाह, खर्च र उपलब्धिको पारदर्शिता सुनिश्चित गर्न गरिन्छ। यसको मुख्य उद्देश्य नागरिक सहभागिता बढाई सेवा गुणस्तर सुधार गर्नु हो।

सरकारी तथा सार्वजनिक निकायमा भएको कामकाजको जवाफदेहिता सुनिश्चित गर्नु पनि यसको लक्ष्य हो। सेवाग्राहीका गुनासो, सुझाव र आवश्यकता पहिचान गरी सुधारका उपाय खोजिन्छ। यसले सुशासन, पारदर्शिता र विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :