भैरहवामा सञ्चालनमा रहेका १७ अवैध मेडिकल बन्द,अनुगमनमा कडाइ

स्वास्थ्यसमाचार / रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–भैरहवा क्षेत्रमा सञ्चालनमा रहेका मेडिकल तथा स्वास्थ्य संस्थाहरूमा अनुगमन गर्दै १७ वटा अवैध रूपमा सञ्चालित मेडिकल बन्द गराइएको छ।

वैशाख ११ गते दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म गरिएको अनुगमनका क्रममा मापदण्ड विपरीत तथा इजाजत बिना सञ्चालन भइरहेका मेडिकल तथा फार्मेसीहरू फेला परेपछि ती संस्थाहरू तत्काल बन्द गराइएको हो।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीको नेतृत्वमा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक अशोक जी.सी. सहितको टोली, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख उमादेवी थापा तथा सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखाका प्रतिनिधिहरूको संयुक्त सहभागितामा अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा दर्ता नभएका, आवश्यक मापदण्ड पूरा नगरेका तथा नियम विपरीत औषधि बिक्री वितरण गरिरहेका मेडिकलहरू पहिचान गरिएको थियो। तीमध्ये १७ वटा संस्थालाई तत्काल बन्द गराइएको प्रशासनले जनाएको छ।

सम्बन्धित निकायले यस्ता अवैध तथा मापदण्डविपरीत सञ्चालन हुने स्वास्थ्य संस्थाहरूले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले नियमित अनुगमनलाई थप कडाइ गरिने चेतावनी दिएको छ। साथै, बिना दर्ता तथा इजाजत सञ्चालन हुने संस्थालाई कानुनी कारबाही गरिने पनि जनाएको छ।

स्थानीय तह र सरोकारवाला निकायले नागरिकलाई पनि प्रमाणित तथा दर्ता भएका स्वास्थ्य संस्थाबाट मात्रै सेवा लिन आग्रह स्वास्थ्यकार्यलय ले आग्रह गरेको छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :