स्वास्थ्यसमाचार / नेपाल सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएसँगै लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
जारी गरिएको निर्णयअनुसार अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछन् भने कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कार्यालय समय कायम रहनेछ। सोहीअनुसार अस्पतालहरूले पनि आफ्नो सेवा समय समायोजन गर्ने निर्णय गरेका छन्।
लुम्बिनी प्रादेशिक अस्पतालका विभिन्न विभाग तथा वार्डहरूमा २४ घण्टा सेवा दिने कर्मचारीहरूको ड्युटी भने यथावत रहनेछ। साथै, बिदाको दिन तथा कार्यालय समय बाहेकका समयमा भर्ना भएका बिरामी, इमर्जेन्सी सेवा र आकस्मिक अपरेशन कार्यहरू सम्बन्धित विभाग प्रमुख र चिकित्सकको समन्वयमा सञ्चालन गरिनेछ।
ओपीडी सेवासँग सम्बन्धित विभागहरूले सेवा समयलाई मध्यनजर गर्दै पहिलेको भन्दा एक घण्टा अगाडि नै सेवा सुरु गर्ने निर्णय गरिएको छ, जसले बिरामीलाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ। त्यस्तै, अस्पताल प्रशासनले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै सेवा प्रभावकारिता बढाउने, गुनासो न्यूनिकरण गर्ने तथा थप सुधारका उपायहरू खोज्न सबै विभाग प्रमुखलाई निर्देशन दिएको छ।
यसैबीच, नियमित रूपमा सञ्चालन हुँदै आएका अपरेशन सेवामा पनि पुनः व्यवस्थापन गरिने भएको छ। शनिबार र आइतबार सार्वजनिक बिदा परेपछि अपरेशन तालिका मिलाउन विभागहरूबीच समन्वय गरी अन्य दिनमा समयमै सेवा दिने व्यवस्था मिलाइनेछ। अस्पतालले नयाँ कार्यतालिका अनुसार सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन सबै पक्षसँग सहकार्य गर्ने अस्पतालले जनाएको छ ।



प्रतिकया दिनुहोस्