स्वास्थ्यसमाचार/ औषधीको मूल्यवृद्धि सम्बन्धी विवाद चुलिँदै जाँदा औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई तत्काल मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको मन्त्रालय स्रोतले बतायो।विभागीय कामकारबाहीमाथि प्रश्न उठेपछि मन्त्री मेहताले आवश्यक छानबिनका लागि ढकाललाई मन्त्रालय तानिएको हो।
यसअघि प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सांसद राजीव खत्रीले महानिर्देशक ढकालमाथि चलखेल गरी औषधीको मूल्य बढाएको आरोप लगाउनुभएको थियो।
उहाँले बजारमा औषधीको अस्वाभाविक मूल्यवृद्धि भएको उल्लेख गर्दै यसको जिम्मेवारी विभाग नेतृत्वले लिनुपर्ने बताउनुभयो।सांसद खत्रीको आरोपपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि चासो देखाउँदै महानिर्देशक ढकालसँग स्पष्टीकरण मागेको स्रोतले जनाएको छ।
औषधी व्यवस्था विभागले दिउँसो एक विज्ञप्ति जारी गर्दै औषधी मूल्यसम्बन्धी विषयमा आफ्नो धारणा स्पष्ट पार्ने प्रयास गरेको थियो। विभागले मूल्य निर्धारण प्रक्रिया नियमअनुसार भएको दाबी गरेको जनाएको छ।विभागको स्पष्टीकरण आउनुअघि नै मन्त्री मेहताले ढकाललाई मन्त्रालयमा हाजिर गराउने निर्णय गरिसक्नुभएको थियो ।
मन्त्रालयका एक अधिकारीका अनुसार छानबिन प्रक्रिया अगाडि बढाउनका लागि यस्तो निर्णय गरिएको हो।

प्रतिकया दिनुहोस्