स्वास्थ्य कार्यालय रुपन्देहीको अर्धवार्षिक समीक्षा, आगामी कार्यक्रम सार्वजनिक

स्वास्थ्यसमाचार /स्वास्थ्य कार्यालय रुपन्देहीले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा सम्पन्न गरेको छ। आर्थिक वर्षको सुरुवातदेखि हालसम्म सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको अवस्था मूल्यांकन, सुधारका क्षेत्र पहिचान तथा आगामी कार्ययोजना तय गर्ने उद्देश्यले दुई दिने समीक्षा कार्यक्रम आयोजना गरिएको हो।

समीक्षामा खोप, पोषण, क्षयरोग, परिवार नियोजन, मातृ तथा शिशु स्वास्थ्यलगायतका विषयमा रुपन्देहीका १६ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूले आ–आफ्नो प्रगति र चुनौती प्रस्तुत गरेका थिए। कार्यक्रममार्फत जिल्लाभर सञ्चालन भइरहेका स्वास्थ्य गतिविधिहरूको समग्र अवस्था समीक्षा गरिएको थियो।

समीक्षा पश्चात् आगामी कार्यक्रमहरू पनि तय गरिएको छ। जसअनुसार बैशाख ६ र ७ गते भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिनेछ। साथै समुदायस्तरमा पोषण लेखाजोखा तथा नसर्ने रोगहरूको स्क्रिनिङ कार्यक्रम १६ वटै पालिकाका सबै वडामा सञ्चालन गरिने योजना बनाइएको छ।

त्यसैगरी, जेठ महिनामा पोषण प्रवद्र्धन, पोषिलो जाउलो प्रदर्शन, पूर्ण खोप दिगोपना सुनिश्चितता तथा जिल्ला र पालिकालाई पूर्ण खोप घोषणा गर्ने कार्यक्रम तय गरिएको छ। साथै कुष्ठरोगका बिरामी खोजपडतालाई पनि प्राथमिकताका साथ सञ्चालन गर्ने योजना रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका ल्याब टेक्निसियन अधिकृत खिमलाल पाण्डेले जानकारी दिनुभयो।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रमको सुभारम्भ गर्दे प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा. राजेन्द्र गिरीले स्वास्थ्य सेवाको गुणस्तर र पहुँच बढाउन सबै पक्षले समन्य र सहकार्य गर्नु पर्ने बताउनु भयो । उहाँले तयार पारिएका योजना र कार्यक्रमहरू समुदायसम्म प्रभावकारी रूपमा लागु गर्न समेत सुझाब दिनु भयो ।

भने समापन जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापाले समीक्षा कार्यक्रमको समापन गर्दै स्वास्थ्य सेवा सुधारका कदमहरू र आगामी योजनाहरूमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको वताउनु भयो ।

उहाले जिल्लामा धेरै सुचकहरु राम्रा भएपनि केहि कमजोर देखिएको वताउदै सुध्रानका लागी सबैले आफनो ठाउबाट सक्रिय हुनपर्ने बताउनु भयो ।कार्यक्रममा रुपन्देहीका १६ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन खिमलाल पाण्डेले गर्नुभएको थियो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :