स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा क्षयरोग (टिबी) को अवस्था हेर्दा उपचारमा सुधार देखिए पनि संक्रमण दर अझै उच्च रहेको पाइएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्ला केही वर्षमा टिबी सम्बन्धी प्रमुख सूचकहरूमा मिश्रित अवस्था देखिएको छ।
आर्थिक वर्ष २०७६/७७ मा प्रति एक लाख जनसंख्यामा ११२ रहेको केस नोटिफिकेशन दर (CNR) क्रमशः बढ्दै २०७८/७९ मा १५८ पुगेको थियो। त्यसपछि केही उतारचढावका बीच २०८०/८१ मा १६४ पुगेको यो दर २०८१/८२ मा घटेर १५१ मा झरेको छ। यसले एकातर्फ केस पहिचान र परीक्षणको दायरा बढेको देखाए पनि संक्रमण अझै व्यापक रहेको संकेत गर्दछ।
उपचारतर्फ भने प्रदेशले उत्साहजनक प्रगति हासिल गरेको छ। उपचार सफलता दर २०७६/७७ मा ९१ प्रतिशत रहेकोमा २०८१/८२ मा बढेर ९४ प्रतिशत पुगेको छ। यसले स्वास्थ्य संस्थाहरूमा उपचार सेवा र निगरानी प्रणालीमा सुधार आएको देखाउँछ। तर मृत्यु दर भने ३ देखि ४ प्रतिशतको हाराहारीमा स्थिर रहेको छ, जसले समयमै पहिचान र उपचारमा अझै कमजोरी रहेको संकेत गर्दछ।
जिल्लागत तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी टिबी बिरामी रुपन्देही जिल्लामा भेटिएका छन्, जहाँ १११५ जना केस दर्ता भएका छन्। त्यसपछि दाङमा ७७४, बाँकेमा ५७९, कपिलवस्तुमा ५६२ र बर्दियामा ३८० केस रहेका छन्। तुलनात्मक रूपमा पहाडी जिल्लाहरूमा केस संख्या कम देखिए पनि सेवा पहुँचको सीमितताका कारण वास्तविक संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ।
प्रदेशभर कुल ४५०८ टिबी बिरामी दर्ता भएका छन्। स्वास्थ्य निर्देशनालय लुम्बिनीका क्षयरोग फोकल पर्सन कृष्ण गोपाल चौधरीका अनुसार कुल केस नोटिफिकेशन दर ८५.९५ प्रतिशत रहेको छ भने उपचार सफलता दर ९० प्रतिशत पुगेको छ। टिबी–एचआईभी सह–संक्रमणका ३२ केस र ART मा रहेका २० बिरामीहरू समेत फेला परेका छन्, जसले रोग नियन्त्रणमा चुनौती थपेको छ।
जनस्वास्थ्य विज्ञ तुल्सी भण्डारीका अनुसार क्षयरोग नियन्त्रणमा मुख्य समस्या ढिलो परीक्षण, उपचार अधुरो छोड्ने प्रवृत्ति तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवामा पहुँचको अभाव हो। विशेषगरी गरिब, सीमान्तकृत समुदाय र श्रमिक वर्गमा टिबीको जोखिम बढी देखिएको छ।
स्वास्थ्य कार्यालय रुपन्देहीका क्षय–कुष्ठ अधिकृत टिका राम अधिकारीका अनुसार टिबीको परीक्षण र उपचार नेपालभर निःशुल्क रूपमा उपलब्ध छ। “सरकारी स्वास्थ्य संस्था, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल तथा प्रदेश अस्पतालहरूमा टिबीको जाँच र औषधि पूर्ण रूपमा निःशुल्क पाइन्छ,” उनले बताए। उनका अनुसार DOTS (Directly Observed Treatment, Short-course) सेवा अन्तर्गत बिरामीलाई नियमित निगरानीमा औषधि सेवन गराइन्छ।
टिबीको पहिचानका लागि माइक्रोस्कोपी, GeneXpert (आधुनिक परीक्षण) तथा एआई एक्स–रे सेवा प्रयोग गरिन्छ। शंकास्पद बिरामीले नजिकैको स्वास्थ्य संस्थामा गएर निःशुल्क परीक्षण गराउन सक्ने उनले जानकारी दिए।
क्षयरोगका मुख्य लक्षणहरू
दुई हप्ताभन्दा बढी लगातार खोकी लाग्नु,
खोक्दा रगत आउनु,
तौल घट्दै जानु,
राति पसिना आउने,
ज्वरो आउने तथा शरीर कमजोर हुनु,
भोक कम लाग्नु आदि हुन्।
यस्ता लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा जाँच गराउन उनले आग्रह गरेका छन्।टिबी मुख्य रूपमा दुई प्रकारका हुन्छन्। फोक्सोको टिबी (Pulmonary TB) सबैभन्दा सामान्य र सर्ने प्रकार हो भने फोक्सो बाहिरको टिबी (Extra-pulmonary TB) हड्डी, ग्रन्थी, मस्तिष्क लगायत अन्य अंगमा देखिन्छ।
यस वर्ष “हामी क्षयरोग अन्त्य गर्न सक्छौँ: राष्ट्रिय अभियान, हाम्रो योगदान” भन्ने नारासहित विश्व क्षयरोग दिवस २०२६ मनाइँदै छ। स्वास्थ्यकर्मी हरूले समयमै परीक्षण, नियमित उपचार र जनचेतना अभिवृद्धिमा सबैको सहभागिता आवश्यक रहेको बताएका छन्।


प्रतिकया दिनुहोस्