“बुटवलको स्वास्थ्य क्रान्ति: घरदैलो सेवा देखि विशेषज्ञ उपचारसम्म”

“बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयसँग विशेष कुराकानी ”

बुटवल उपमहानगरपालिका पछिल्ला वर्षहरूमा स्वास्थ्य सेवा सुधार, पूर्वाधार विकास र डिजिटल प्रणालीको प्रयोगमार्फत एक नमुना स्थानीय तहका रूपमा आफुलाई स्थापित गर्दै अगाडी बढेको छ । नागरिकलाई घरदैलोसम्म गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित अघि बढेको नगरले मातृ–शिशु स्वास्थ्यदेखि लिएर नसर्ने रोग नियन्त्रण, सामुदायिक सहभागिता र संस्थागत समन्वय सम्मका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।

नगर प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा अघि बढिरहेको स्वास्थ्य सुधार अभियानले बुटवललाई नेपालको एक नमुना स्वास्थ्य प्रणाली भएको शहरका रूपमा स्थापित गर्ने आधार तयार गरेको छ ।यदि यी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन भए भने, बुटवलले भविष्यमा स्थानीय तहस्तरमा स्वास्थ्य सेवा व्यवस्थापनको उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने निश्चित देखिन्छ ।यिनै विषयमा केन्द्रित रहेर बुटवल उपमहानगरका  प्रमुख खेलराज पाण्डेयसँग स्वास्थ्यसमाचारका लागी चन्द्रकान्त खनालले गरेको कुराकानी।

बुटवलको स्वास्थ्य क्षेत्र अहिले कुन अवस्थामा छ ?

बुटवलको स्वास्थ्य क्षेत्र विगतको तुलनामा अहिले धेरै सुदृढ र व्यवस्थित अवस्थामा पुगेको छ । हाम्रो प्रमुख उद्देश्य “स्वास्थ्य सेवा नागरिकको पहुँचभित्र” भन्ने हो। त्यसका लागि हामीले आधारभूत स्वास्थ्य सेवाको विस्तारलाई पहिलो प्राथमिकता दिएका छौँ । अहिले १८ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा छन् ।

यसले नागरिकलाई सामान्य स्वास्थ्य सेवा लिन टाढा अस्पताल धाउनुपर्ने बाध्यता हटाएको छ।हामीले सेवा मात्र विस्तार गरेका छैनौँ, सेवाको गुणस्तरमा पनि सुधार ल्याएका छौँ । जनशक्ति व्यवस्थापन, उपकरणको उपलब्धता, औषधि आपूर्ति र सेवा प्रवाहको प्रभावकारितामा सुधार आएको छ ।

पूर्वाधार विकासमा उपमहानगरपालिकाको रणनीति के हो ?

स्वास्थ्य पूर्वाधार विकास बिना गुणस्तरीय सेवा सम्भव हुँदैन । त्यसैले हामीले योजनाबद्ध रूपमा स्वास्थ्य संस्थाहरूको भवन निर्माण, मर्मत र स्तरोन्नति गरेका छौँ । बुटवल–१३ मा सञ्चालनमा रहेको फिजियोथेरापी अस्पतालले विशेषगरी ज्येष्ठ नागरिकलाई लक्षित सेवा दिइरहेको छ । वृद्धावस्थामा देखिने हड्डी, जोर्नी र नसासम्बन्धी समस्यामा यो अस्पतालले ठूलो राहत दिएको छ ।

बुटवल–१७ मा आधारभूत नगर अस्पतालको पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ र सञ्चालनको अन्तिम तयारी भइरहेको छ । यसले नगरभित्रै थप विशेषज्ञ सेवा उपलब्ध गराउनेछ ।बुटवल–१४ स्थित सेमलार स्वास्थ्य चौकीबाट बर्थिङ सेवा सञ्चालनमा छ, जसले ग्रामीण तथा अर्धसहरी क्षेत्रमा सुरक्षित प्रसूति सेवा सुनिश्चित गरेको छ ।

त्यसैगरी, १५ वडा आधारभूत स्वास्थ्य केन्द्र, ११ वटा शहरी स्वास्थ्य केन्द्र र १२ वटा स्वास्थ्य प्रवद्र्धन केन्द्र आफ्नै भवनबाट सञ्चालनमा छन ।तर, अझै पनि वडा नं. १ र ३ मा भाडाका भवनबाट सेवा दिनुपरेको छ भने वडा नं. ७ मा एक सरकारी भबन को कोठाबाट सेवा सञ्चालन भइरहेको छ। यी सबैलाई छिट्टै आफ्नै भवनमा सार्ने हाम्रो योजना छ ।

स्वास्थ्य सेवामा प्रविधिको प्रयोग कत्तिको प्रभावकारी छ?

हामीले स्वास्थ्य सेवामा डिजिटल प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दिएका छौँ । स्वास्थ्य संस्थाहरूमा कम्प्युटर, ल्यापटप, ट्याबलेट, प्रिन्टर र इन्टरनेटको व्यवस्था गरिएको छ। यसले सेवा प्रवाहलाई छरितो बनाएको छ ।

DAIS, EHMIS, ETB, PAMV, Covid Certification जस्ता डिजिटल प्रणालीहरू प्रयोगमा ल्याइएको छ। यसले स्वास्थ्य तथ्याङ्क व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाएको छ। अब हामी डेटा–आधारित योजना निर्माणतर्फ उन्मुख भएका छौँ, जसले दीर्घकालीन रूपमा स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी बनाउनेछ ।

ठूला अस्पतालहरूसँगको सहकार्य कत्तिको छ ?

स्थानीय तह एक्लैले सबै सेवा दिन सम्भव हुँदैन । त्यसैले हामीले सरकारी, निजी र सामुदायिक संस्थासँग सहकार्यलाई प्राथमिकता दिएका छौँ। सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) लाई ३०० शैय्यामा स्तरोन्नति गर्न उपमहानगरपालिकाले समन्वय गरेको छ । यसले मातृ–शिशु स्वास्थ्यमा ठूलो सुधार ल्याउनेछ । PCL LEVEL KO NURSING ,HA, PHARMACY पढाई को शुरु भैसकेको छ।

लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति पनि जारी छ, जसले प्रदेशस्तरीय सेवा प्रदान गर्ने क्षमता बढाउनेछ ।त्यसैगरी, बुटबल लायन्स आँखा अस्पताल, नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र लगायतका संस्थासँग सहकार्य गरेर सेवा विस्तार गरिएको छ ।

मातृ–शिशु स्वास्थ्यमा बुटवलको उपलब्धि के छ?

मातृ–शिशु स्वास्थ्य सुधार बिना समग्र स्वास्थ्य सुधार सम्भव हुँदैन । हामीले गर्भवती महिलाहरूलाई प्रोटोकल अनुसार आठ पटक स्वास्थ्य जाँच सेवा उपलब्ध गराएका छौँ । सुत्केरी भएपछि स्वास्थ्यकर्मीले घरमै पुगेर ३ दिनभित्र र ७–१४ दिनभित्र दुई पटक PNC सेवा दिने व्यवस्था गरिएको छ ।

खोप कार्यक्रमलाई पनि प्रभावकारी रूपमा सञ्चालन गरिएको छ। पूर्ण खोप सुनिश्चितता कार्यक्रमले बालबालिकालाई रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको छ । यसका साथै, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, आङ खस्ने समस्या जाँच र प्रजनन स्वास्थ्य सेवा निःशुल्क रूपमा उपलब्ध गराइएको छ ।

सामुदायिक सहभागिता कत्तिको प्रभावकारी छ?

सामुदायिक सहभागिता बिना स्वास्थ्य सेवा प्रभावकारी हुँदैन। बुटवलका सबै वडामा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरू सक्रिय छन्। उनीहरूले टोल–टोलमा स्वास्थ्य सन्देश पु¥याउने, खोप कार्यक्रमलाई सहयोग गर्ने र जोखिममा रहेका नागरिकलाई स्वास्थ्य संस्थासम्म ल्याउने काम गरिरहेका छन ।

“बा–आमासँग नगर प्रमुख” कार्यक्रममार्फत चिकित्सकसहित वडास्तरमै निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिएको छ । विद्यालय नर्स कार्यक्रममार्फत विद्यार्थीहरूको नियमित स्वास्थ्य जाँच, महिनावारी स्वच्छता प्रवद्र्धन र स्यानिटरी प्याड वितरण गरिएको छ ।

कमजोर वर्गका लागि के–कस्ता विशेष कार्यक्रम छन?

हामीले समावेशी स्वास्थ्य प्रणाली निर्माणलाई प्राथमिकता दिएका छौँ।ज्क्ष्ख् संक्रमित १८ वर्षमुनिका बालबालिकालाई मासिक रु ३००० पोषण भत्ता उपलब्ध गराइएको छ।नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा निःशुल्क रगत तथा रक्तजन्य पदार्थ उपलब्ध गराइएको छ। यसले गरिब तथा विपन्न वर्गलाई ठूलो राहत दिएको छ।
जनशक्ति व्यवस्थापनमा चुनौती र समाधान के छन?

हाल ७३ जना स्वास्थ्यकर्मी तथा प्रयोगशालाकर्मीले सेवा दिइरहेका छन ्। तर, जनशक्ति अभाव अझै चुनौतीकै रूपमा छ । हामीले तालिम, क्षमता विकास र प्रोत्साहनमार्फत सेवा गुणस्तर सुधार गर्ने प्रयास गरेका छौँ । आगामी दिनमा थप दक्ष जनशक्ति व्यवस्थापन गर्ने योजना छ ।

नसर्ने रोग नियन्त्रण र रोकथाममा कस्तो काम भइरहेको छ?
क्षयरोग मुक्त अभियान अन्तर्गत स्क्रिनिङ, उपचार र व्यवस्थापनका कार्यक्रम सञ्चालन भइरहेका छन ्। नसर्ने रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप र क्यान्सरको प्रारम्भिक पहिचानका लागि स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिएको छ । हामी उपचारभन्दा रोकथाममा बढी जोड दिन्छौँ ।
आगामी लक्ष्य र योजना के छन ?

हामीले सबै स्वास्थ्य केन्द्रलाई आफ्नै भवनमा सार्ने, नगर अस्पताललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने र विशेषज्ञ सेवा विस्तार गर्ने लक्ष्य राखेका छौँ।डिजिटल स्वास्थ्य प्रणालीलाई अझ सुदृढ बनाउने, समुदाय–आधारित कार्यक्रमहरू विस्तार गर्ने र स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने योजना छ।हाम्रो लक्ष्य बुटवललाई “स्वास्थ्य मैत्री, सुरक्षित र समावेशी शहर” बनाउने हो ।

म बुटवल उपमहानगरपालिकामा नगरप्रमुख निर्वाचित भएदेखि नै यस अस्पतालमा आमा सुरक्षा कार्यक्रम सञ्चालन गरी राज्यले प्रदान गरेको सुविधा उपलब्ध गराउने प्रयास गरेको थिएँ । बुटवल उपमहानगरपालिकाको अनुदानमा यसै वर्षभित्र आमा सुरक्षा कार्यक्रम सञ्चालन हुनेछ । यसले बुटवलबासीलाई मात्रै नभई यस क्षेत्रकै प्रसुति सेवा लिनेको संख्या वृद्धि हुनेछ ।

अस्पतालको सेवालाई अझै स्तरीय बनाउन र अस्पताल प्रशासनलाई चुस्त दुरुस्त राख्नका लागि पनि केही प्रयासहरू भइरहेका छन् । यो अस्पताल बुटवल र बुटवलबासीको चाहनाअनुसार बुटवल उपमहानगरपालिका, आम्दा इन्टरनेशनल, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको समझदारीमा निरन्तर स्वास्थ्य सेवा र शैक्षिक जनशक्ति उत्पादनमा अगाडि बढ्नेछ ।भने बुटवल १३ मा फिजिओथेरापी अस्पताल सन्चलन गरि नागरिकहरूलाई थप स्वास्थ्य सेवाहरु प्रदान गर्ने लक्ष्य रहेको छ।

अन्त्यमा
प्रारम्भिक चरणको प्रयासबाट यो अवस्थासम्म ल्याइपु¥याउनका लागि सधै सकारात्मक भूमिका निर्वाह गर्ने बुटवलका समाजसेवीहरू, जनप्रतिनिधिहरू, यहाँका बासिन्दा र सबै अगुवाहरू प्रति सम्मान प्रकट गर्दछु । यो अस्पताललाई महिला र बालबालिकाको स्वास्थ्य उपचारमा अनवरत खटिनुहुने स्वास्थ्यकर्मीहरूप्रति सम्मान प्रकट गर्दछु ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :