स्वास्थ्यसमाचार/ नयाँ सरकार गठनको तयारीसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी स्वास्थ्य क्षेत्रमै सक्रिय व्यक्तिहरूलाई दिने सम्भावना बढेको छ। मन्त्रीमण्डल गठनमा प्रत्यक्ष निर्वाचनबाट विजयी भएका सांसदहरूलाई प्राथमिकता दिने संकेत देखिएकाले यसपटक स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरू चर्चामा आएका छन्।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चिकित्सक डा. लेखजंग थापा, डा. तोसिमा कार्की र डा. शम्भुकुमार यादव निर्वाचित भएका छन् भने नेपाली कांग्रेसबाट डा. मोहम्मद फिर्दोस आलम विजयी भएका छन्। त्यस्तै रास्वपाबाट जनस्वास्थ्यविज्ञ डा. आनन्दबहादुर चन्द, जनस्वास्थ्य विज्ञ दीपककुमार साह र स्वास्थ्य स्वयंसेविका आशा झा पनि संसदमा पुगेका छन्।
यसपटकको संसदमा स्वास्थ्य क्षेत्रका अनुभवी र व्यावसायिक पृष्ठभूमिका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति देखिएको छ। यसले स्वास्थ्य नीतिमा सुधार र सेवा प्रवाहमा प्रभावकारीता आउने अपेक्षा गरिएको छ।
रुपन्देही–३ बाट निर्वाचित डा. लेखजंग थापा वरिष्ठ न्युरोलोजिस्ट हुन्। उनले एमडी (इन्टरनल मेडिसिन) र डीएम (न्युरोलोजी) अध्ययन गरेका छन् र राष्ट्रिय न्युरो केन्द्र, काठमाडौंका पूर्व निर्देशकसमेत हुन्। नेपाल स्ट्रोक संघका संस्थापक अध्यक्षसमेत रहेका उनी अन्तर्राष्ट्रिय नेटवर्कसँग आबद्ध छन्।
ललितपुर–३ बाट निर्वाचित डा. तोसिमा कार्की दोस्रोपटक संसदमा पुगेकी हुन्। एमबीबीएस र एमएस (शल्य–चिकित्सा) अध्ययन गरेकी उनी पूर्व स्वास्थ्य राज्यमन्त्रीसमेत हुन्। नेपाल मेडिकल काउन्सिलकी पूर्व कार्यकारी सदस्य रहेकी कार्की चिकित्सा शिक्षा सुधार अभियानबाट राजनीतिमा आएकी हुन्।

कैलाली–५ बाट निर्वाचित जनस्वास्थ्य विज्ञ आनन्दबहादुर चन्द नसर्ने रोग नियन्त्रण र सुर्तीजन्य पदार्थ विरुद्धका अभियानमा सक्रिय छन्। उनले जैविक रसायनशास्त्रमा स्नातकोत्तर तथा पीएचडी गरेका छन्।
सिराहा–३ बाट निर्वाचित डा. शम्भुकुमार यादवले एमबीबीएस अध्ययन पूरा गरेका छन् र लामो समयदेखि स्थानीयस्तरमै स्वास्थ्य सेवा दिँदै आएका छन्।
महोत्तरी–२ बाट निर्वाचित जनस्वास्थ्य विज्ञ दीपककुमार साह दृष्टि स्वास्थ्यका क्षेत्रमा विज्ञ मानिन्छन्। उनले अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थाहरूमा अध्ययन गरेका छन् र त्रिवि शिक्षण अस्पतालमा कार्यरत थिए।
मोरङ–५ बाट निर्वाचित आशा झा १६ वर्षसम्म स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरेकी जनस्वास्थ्यकर्मी हुन्। उनी समुदायस्तरमा स्वास्थ्य सेवा विस्तारमा सक्रिय रहँदै आएकी छन्।
स्वास्थ्य क्षेत्रका यस्ता अनुभवी व्यक्तिहरूको संसदमा उपस्थिति बढ्नु सकारात्मक संकेतका रूपमा हेरिएको छ। अब उनीहरूमध्ये कसले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भन्नेमा चासो बढेको छ। साथै, उनीहरूले आफ्नो अनुभवलाई नीति निर्माण र कार्यान्वयनमा कत्तिको प्रभावकारी रूपमा रूपान्तरण गर्छन् भन्ने पनि महत्त्वपूर्ण हुनेछ।

प्रतिकया दिनुहोस्