लुम्बिनी प्रदेशमा नसर्ने रोग सम्बन्धी सम्मेलन २०८२ सम्पन्न

नसर्ने रोगको रोकथामका लागि सचेतना सँगै समुदाय स्तरमा स्क्रिनिङ गरिरहेका छाै‌ : मन्त्री सारू

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारू मगरले पछिल्लो समय नसर्ने रोगको अवस्था भयावह बन्दै गएको बताउनुभयो। यसको रोकथामका लागि प्रदेश सरकारले समुदाय स्तरमै पुगेर स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो।

स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशले दाङको भालुवाङमा आयोजना गरेको “नसर्ने रोगको रोकथाम, प्रारम्भिक पहिचान र निदान” विषयक एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री सारूले नसर्ने रोग नियन्त्रणका लागि प्रदेश सरकार सक्रिय रूपमा लागिरहेको बताउनुभयो।

मन्त्री सारूले पछिल्लो समय उच्च रक्तचाप, मधुमेह, मुटु रोग र क्यान्सर जस्ता नसर्ने रोगहरू तीव्र रूपमा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। “पछिल्लो समय नसर्ने रोगको अवस्था निकै भयावह बन्दै गएको छ।

यसको उपचारमा मात्रै प्रदेश सरकारले करोडौं रुपैयाँ खर्च गर्नुपरेको छ,” मन्त्री सारूले भन्नुभयो, “बिरामीको संख्या चार गुणासम्म बढ्दै जानु अत्यन्त चिन्ताजनक विषय हो।”

मन्त्री सारूले नसर्ने रोग समयमै पहिचान गर्न सके उपचार सहज हुने र जटिलता कम गर्न सकिने भएकाले समुदाय स्तरमै स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार यस वर्ष लुम्बिनी प्रदेशभर करिब ५ लाख नागरिकको स्क्रिनिङ परीक्षण गर्ने लक्ष्य राखिएको छ।

“नसर्ने रोगका बिरामीहरू धेरैजसो अस्पताल पुग्दा ढिलो भइसकेको अवस्था देखिन्छ। त्यसैले हामीले समुदायमै पुगेर प्रारम्भिक जाँच गर्ने अभियान थालेका छौं,” मन्त्री सारूले भन्नुभयो।

प्रदेशका सबै जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई नसर्ने रोगको स्क्रिनिङ कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिँदै स्थानीय तहसँग समन्वय गरेर अभियानलाई सफल बनाउन स्वास्थ्य मन्त्री सारूले आग्रह गर्नुभयो।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लीराज अर्यालले नसर्ने रोग नियन्त्रणका लागि जनचेतना अभिवृद्धि अत्यन्त आवश्यक रहेको बताउनुभयो। स्वस्थ जीवनशैली अपनाउन सके नसर्ने रोगको जोखिम धेरै हदसम्म कम गर्न सकिने उहाँको भनाइ थियो।

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले स्थानीय तह स्वास्थ्य सेवाको पहिलो आधार भएकाले नसर्ने रोग नियन्त्रणका कार्यक्रमलाई स्थानीय स्तरमा प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।समुदायमा जनचेतना फैलाउने, नियमित स्वास्थ्य परीक्षण गर्ने तथा स्वस्थ जीवनशैली अपनाउने अभियानलाई स्थानीय सरकारले पनि प्राथमिकता दिएको बताउनुभयो।

उहाँका अनुसार राप्ती गाउँपालिकामा यस वर्ष करिब ६ हजार ३ सय जनाको स्क्रिनिङ परीक्षण गरिएको छ।प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुवरले स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले विभिन्न सुधारका कार्यक्रम सञ्चालन गरिरहेको भए पनि नसर्ने रोग नियन्त्रणका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभयो। उहाँले रोग लाग्न नदिन पूर्वसचेतनामूलक कार्यक्रम नै सबैभन्दा महत्त्वपूर्ण हुने बताउनुभयो।

कार्यक्रममा स्वास्थ्य तथा अनुसन्धान क्षेत्रका विज्ञहरूले नसर्ने रोग (एनसीडी) को अवस्था, जोखिम तथा नियन्त्रणका उपायबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्की रिसर्च एसोसिएट एलिना खत्रीले “नेपालको एनसीडी महामारी संक्रमण ः चरण–२०१९ का प्रमुख निष्कर्ष र लुम्बिनी प्रदेशमा एनसीडी नियन्त्रणका लागि यसको प्रभाव” विषयमा प्रस्तुति दिँदै नेपालमा नसर्ने रोगको बढ्दो प्रवृत्ति तथा त्यसको नियन्त्रणका लागि प्रदेशस्तरमा आवश्यक रणनीतिबारे प्रकाश पार्नुभयो।

त्यस्तै डा. अच्युतराज पाण्डेले “बृहत् निर्धारक र रोगको बोझबीचको सम्बन्ध ः स्वास्थ्य क्षेत्रमा अन्तरक्षेत्रीय सहकार्य किन आवश्यक छ ?” विषयमा कार्यपत्र प्रस्तुत गर्दै नसर्ने रोग नियन्त्रणका लागि स्वास्थ्य क्षेत्र मात्र नभई शिक्षा, कृषि, वातावरण र स्थानीय शासनलगायत अन्य क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका कार्यकारी निर्देशक तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समीर गौतमले “लुम्बिनीमा कार्डियोभास्कुलर नसर्ने रोगहरूको क्लिनिकल व्यवस्थापन ः स्क्रिनिङदेखि उपचार सम्मको सम्बन्ध र जटिलता न्यूनिकरण” विषयमा प्रस्तुति गर्दे मुटुरोगको समयमै पहिचान, नियमित परीक्षण र प्रभावकारी उपचार व्यवस्थापनको महत्वबारे जानकारी गराउनुभयो।

त्यसैगरी प्रदेश आयुर्वेद अस्पतालका प्रमुख डा. प्रवेश श्रीवास्तवले “लुम्बिनी प्रदेशका आयुर्वेद अस्पतालहरूमा दैनिक ओपीडीमा आउने एनसीडी बिरामीहरूको ढाँचा, जीवनशैली व्यवस्थापन, आउटरिच क्लिनिक, पूरक उपचार सेवा तथा रोकथामका रणनीतिहरू” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले आयुर्वेदिक जीवनशैली, आहार–विहार तथा प्राकृतिक उपचार पद्धतिले नसर्ने रोगको जोखिम कम गर्न महत्त्वपूर्ण योगदान पु¥याउन सक्ने धारणा राख्नुभयो।

त्यस्तै “एनसीडी रोकथामका लागि बहु–क्षेत्रीय कार्य ः नीतिदेखि अभ्याससम्म” विषयमा छलफल पनि गरिएको थियो। उक्त सत्रमा डा. अच्युत न्यौपाने डा. सुवास पाण्डे, खिमबहादुर कुवर, प्रकाश विष्ट, चुरामणि भट्टराई, डा. तिलक पोखरेल, सागर दाहाल  डा. अच्युतराज पाण्डे र स्वास्थ्य मन्त्रालयका वरिष्ठ नर्सिङ प्रशासक ईश्वरी केसी लगायतले नसर्ने रोग नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा प्रदेशभरका स्वास्थ्यकर्मी, जनस्वास्थ्य क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नसर्ने रोग नियन्त्रणका लागि समुदायमा जनचेतना अभिवृद्धि, नियमित स्वास्थ्य परीक्षण तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो।

कार्यक्रमको व्यवस्थापन स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक तथा कार्यक्रमका फोकल पर्सन नेत्रलाल अर्यालले गर्नुभएको थियो। कार्यक्रममा नसर्ने रोगको स्क्रिनिङ लक्ष्यअनुसार सफलतापूर्वक कार्यान्वयन गरेको भन्दै पाल्पा, प्यूठान र अर्घाखाची जिल्लालाई सम्मान गरिएको थियो।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठको अध्यक्षता, स्वास्थ्य निर्देशक रोशनलाल चौधरीको स्वागत मन्तव्य तथा वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत भरत कुवर र जनस्वास्थ्य अधिकृत चाँदनी शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :