बुटवल–सैनामैनामा आमा तथा नवजात शिशुका लागि ‘स्वच्छ हावा’ कार्यक्रम सुरु

स्वास्थ्यसमाचार/ रुपन्देहीको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकामा आमा तथा नवजात शिशुको स्वास्थ्यलाई लक्षित गर्दै ‘आमा तथा नवजात शिशुका लागि स्वच्छ हावा’ कार्यक्रम सुरु गरिएको छ।

स्थानीय स्वास्थ्य प्रणाली सुदृढीकरण, घरायसी व्यवहार परिवर्तन तथा वायु प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले सेतो गुराँस बाल विकास केन्द्रले उक्त कार्यक्रम सञ्चालन गरेको हो।

बेलायत सरकारको फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसिडिओ) अन्तर्गत ‘ब्रेथ इनीसिएटिभ एन्ड इनोभेसन’ परियोजनाको सहयोगमा सञ्चालन हुने यो कार्यक्रम सन् २०२६ सेप्टेम्बरसम्म चल्ने प्रोजेक्ट कोर्डिनेटर निराजन पोखरेलले जानकारी दिए।

उनका अनुसार कार्यक्रममार्फत बुटवल र सैनामैनाका बासिन्दालाई स्वच्छ वातावरण र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा तथा अनुगमन प्रणाली सुदृढ गर्ने योजना रहेको छ। साथै गर्भवती महिला र नवजात शिशुका लागि सुरक्षित र स्वच्छ वातावरण सुनिश्चित गर्न स्वास्थ्य संस्थालाई सशक्त बनाइने सेतो गुराँस बाल विकास केन्द्रकी कार्यकारी निर्देशक सुमित्रा शर्माले बताइन्।

घरायसी तथा सामुदायिक स्तरमा स्वच्छ चुलो प्रविधिको प्रयोग विस्तार गरिने र यसले घरभित्र हुने धुवाँजन्य प्रदूषण घटाई वायु गुणस्तर सुधार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। बुटवल उपमहानगरपालिकाको अध्ययन अनुसार वडा नम्बर १६, १७, १८ र १९ मा वायु प्रदूषणको जोखिम उच्च रहेको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए।

कार्यक्रमको सुरुवातसँगै जनप्रतिनिधिहरूका लागि आयोजित कार्यशालामा विज्ञहरूले रुपन्देहीमा वायु प्रदूषणको अवस्था चिन्ताजनक रहेको बताएका छन्। वातावरण इन्जिनियर भुषण दाहालका अनुसार विश्वका ९९ प्रतिशत मानिस प्रदूषित वातावरणमा बस्न बाध्य छन् भने नेपालमा हरेक वर्ष करिब ४८ हजार ५ सय जनाको मृत्यु वायु प्रदूषणका कारण हुने गरेको तथ्यांक छ।

कार्यक्रममार्फत स्वास्थ्यकर्मीलाई तालिम, समुदायस्तरमा जनचेतना अभियान तथा नीतिगत सुधारका पहलहरू अघि बढाइने जनाइएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :