स्वास्थ्यसमाचार/खाद्य स्वच्छता, गुणस्तर नियन्त्रण तथा उपभोक्ता स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउन सरोकारवालाबीच अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीको आयोजनामा बुटवलमा आयोजित कार्यक्रममा सरकारी निकाय, उपभोक्ता अधिकारकर्मी, स्थानीय तहका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालाबीच खाद्य स्वच्छता प्रणाली व्यवस्थापनका विषयमा व्यापक छलफल गरिएको हो।
कार्यक्रममा राजकुमार गुप्ताले कार्यपत्र प्रस्तुत गर्दै खाद्य सुरक्षा व्यवस्थापन प्रणाली आईएसओ २२००० का बारेमा जानकारी गराउनुभयो। उहाँले खाद्य उत्पादन, प्रशोधन तथा बिक्री वितरणका सबै चरणमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो। खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्न व्यवसायीले स्वच्छता, भण्डारण, प्रशोधन तथा वितरण प्रक्रियामा विशेष ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो।
बुटवल उपमहानगरपालिका योजना शाखाका शाखा अधिकृत ठगिश्वर पोखरेलले विगतको तुलनामा खाद्य स्वच्छता र गुणस्तरको क्षेत्रमा सुधार हुँदै गएको बताउनुभयो। स्थानीय तह, सरकारी निकाय र व्यवसायीबीच सहकार्य बढेमा अझ राम्रो परिणाम हासिल गर्न सकिने उहाँको भनाइ थियो।
त्यसैगरी उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष तेजकुमार पाठकले मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने खाद्य पदार्थमा मिसावट गर्नु गम्भीर अपराध भएको बताउनुभयो। उहाँले बजारमा पाइने खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्न स्थानीय तहले नियमित अनुगमन गर्नुका साथै मिसावट परीक्षणका लागि बुटवलमै आधुनिक प्रयोगशाला (ल्याब) स्थापना गर्न आवश्यक रहेको सुझाव दिनुभयो।
गुणस्तर कार्यालय बुटवलका प्रमुख तिलक जिसीले अहिले गुणस्तरको विषयमा बहस सुरु हुनु सकारात्मक पक्ष भएको बताउनुभयो। उहाँले केवल आईएसओ प्रमाणपत्र ल्याउँदैमा मात्र गुणस्तर सुनिश्चित नहुने भन्दै वास्तविक गुणस्तर व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो। खाद्य उत्पादन र बिक्री वितरण गर्ने संस्थाले व्यवहारमै गुणस्तर कायम राख्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालले बुटवल क्षेत्रमा खाद्य स्वच्छता र गुणस्तरमा क्रमशः सुधार हुँदै गएको बताउनुभयो। उहाँले उपभोक्ता र व्यवसायी दुवै सचेत नभएसम्म जनप्रतिनिधिले मात्र अनुगमन गरेर पूर्ण सुधार सम्भव नहुने उल्लेख गर्नुभयो।
अर्यालले आफूहरू निर्वाचित भएपछि बुटवल क्षेत्रमा ५ सयभन्दा बढी अनुगमन गरिएको छ र नियम उल्लंघन गर्ने केही व्यवसायीलाई जरिवाना समेत गरिएको छ। अनुगमनका क्रममा दूध, घिउ, मासु तथा तेलजस्ता दैनिक उपभोगका खाद्य पदार्थमा समेत मिसावट भेटिएको अनुभव उहाँले सुनाउनुभयो।
उहाँले अनुगमनका क्रममा देखिएका केही उदाहरण उल्लेख गर्दै ३ किलो मासुमा आधा किलो कुहिएको मासु मिसाइएको, गाईको घिउ भनेर बेचिएको घिउमा डाल्डा भएको पाइएको तथा बाहिरबाट आउने महँगो तेलसमेत गुणस्तरहीन हुने गरेको बताउनुभयो। “अनुगमनका क्रममा देखिएका अवस्थाले कतिपय खाद्य पदार्थ खानै छाडेको छु,” उहाँले भन्नुभयो।
अनुगमनका क्रममा आफन्त वा चिनजानका व्यक्तिलाई फोन गरेर दबाब दिने प्रवृत्तिलाई अन्त्य गरिएको पनि उहाँले बताउनुभयो। बुटवल उपमहानगरपालिकाले होटल, विद्यालय, अस्पताल लगायत विभिन्न क्षेत्रमा नियमित अनुगमन गर्दै आएको र यसले बजार व्यवस्थापनमा सकारात्मक प्रभाव परेको उहाँको भनाइ थियो।
उप प्रमुख अर्यालले खाद्य पदार्थको गुणस्तर परीक्षणका लागि ल्याब टेस्ट मेसिनको व्यवस्था गर्ने विषयमा पनि छलफल भइरहेको जानकारी दिनुभयो। साथै उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्न बुटवल उपमहानगरपालिकाले बजेट विनियोजन गरेर काम गरिरहेको पनि उहाँले बताउनुभयो।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीका प्रमुख अनुप हलवाईले कार्यालयले कारबाहीमूलक र सचेतनामूलक दुवै प्रकारका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्ष खाद्य सम्बन्धी मापदण्ड उल्लंघन गर्ने १५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो भने यस वर्ष पनि ५ जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको वताउनु भयो ।
उहाँले कार्यालयले हालसम्म ४ सयभन्दा बढी फलफूल तथा तरकारीका नमुना संकलन गरी प्रयोगशाला परीक्षण गरेको जानकारी दिनुभयो। रुपन्देही जिल्लामा बुटवल उपमहानगरपालिकाबाहेक अन्य स्थानीय तहहरूले खाद्य अनुगमनमा अपेक्षित सक्रियता नदेखाएको पनि वताउनु भयो । कार्यालयमा हाल १५ जना कर्मचारी कार्यरत रहेको र कार्यक्षेत्र ६ जिल्ला भए पनि डिभिजन कार्यालयको व्यवस्था अनुसार आफूहरूले मुख्य रूपमा रुपन्देही र नवलपरासी जिल्लामा काम गरिरहेको हलवाईले वताउनु भयो ।
कार्यक्रममा खाद्य स्वच्छता, गुणस्तर नियन्त्रण तथा उपभोक्ता स्वास्थ्य सुरक्षाका विषयमा सरोकारवालाबीच व्यापक छलफल गरिएको थियो। सहभागीहरूले खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्न सरकार, स्थानीय तह, व्यवसायी र उपभोक्ता सबै पक्षको समान जिम्मेवारी रहने धारणा व्यक्त गर्नु भएको थियो। अन्तरक्रिया गोष्ठीकोे सञ्चालन खाद्य निरीक्षण एलिना गौतमले गर्नुभएको थियो।


प्रतिकया दिनुहोस्