कुनै पनि दम्पतीले आफ्नो जीवनमा सन्तान प्राप्त गर्ने योजना बनाएको समयदेखि वा आमाको गर्भमा बच्चा बसेदेखि बच्चा जन्मिने समयसम्म आमा र गर्भमा रहेको शिशुको स्वास्थ्यको हेरचाह, निगरानी तथा स्याहार–सुसारलाई पूर्व–प्रसूति स्याहार (Antenatal Care) भनिन्छ। यो स्याहार आमा र गर्भस्थ शिशुको स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।
जब कुनै दम्पतीले आफ्नो वंशलाई निरन्तरता दिन वा सन्तान जन्माउने चाहना राख्छन्, तब उनीहरूले गर्भधारण हुनुभन्दा करिब तीन महिना अगाडिदेखि नै स्वास्थ्यकर्मीको सल्लाह अनुसार स्वास्थ्य परीक्षण गराउनु उपयुक्त हुन्छ। यस अवधिमा फोलिक एसिड नामक औषधि दिनको एक गोलीका दरले गर्भ बसेपछि १२ हप्ता अर्थात् तीन महिनासम्म नियमित रूपमा सेवन गर्न सिफारिस गरिन्छ।
त्यसपछि गर्भवती आमाले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ। गर्भ बसेको ९१ औँ दिनपछि एक पटक जुकाको औषधि सेवन गराइन्छ। साथै गर्भावस्थामा क्याल्सियम र आइरन दिनको एक–एक गोलीका दरले नियमित रूपमा बच्चा जन्मिएको ४५ दिनसम्म सेवन गर्नुपर्छ।
यसका साथै गर्भवती आमालाई टिटानस–डिफ्थेरिया (TD) खोप पनि दिनुपर्छ। पहिलो गर्भवती महिलालाई एक महिनाको अन्तरालमा दुई डोज TD खोप दिइन्छ भने दोस्रो वा त्यसपछिका गर्भहरूमा थप एक डोजका आधारमा खोप दिइने व्यवस्था रहेको छ।
गर्भवती महिलाले गर्भावस्थामा कम्तीमा आठ पटक गर्भ जाँच (ANC Checkup) गराउनु अनिवार्य मानिन्छ। ती जाँचको समयतालिका यसप्रकार छः
१. पहिलो जाँच : गर्भ रहेको १२ हप्तामा
२. दोस्रो जाँच : गर्भ रहेको १६ हप्तामा
३. तेस्रो जाँच : गर्भ रहेको २० देखि २४ हप्तामा
४. चौथो जाँच : गर्भ रहेको २८ हप्तामा
५. पाँचौँ जाँच : गर्भ रहेको ३२ हप्तामा
६. छैटौँ जाँच : गर्भ रहेको ३४ हप्तामा
७. सातौँ जाँच : गर्भ रहेको ३६ हप्तामा
८. आठौँ जाँच : गर्भ रहेको ३८ देखि ४० हप्तामा
पूर्व–प्रसूति स्याहारबाट हुने फाइदा
नियमित गर्भ जाँचले आमा र गर्भमा रहेको शिशुको स्वास्थ्यलाई प्रत्यक्ष रूपमा फाइदा पुर्याउँछ। यसले बच्चाको गर्भावधि अनुसारको वृद्धि, तौल र शारीरिक विकासको अवस्था थाहा पाउन मद्दत गर्छ। आवश्यक परेमा भिडियो एक्स–रे जाँचमार्फत शिशुको अंग–प्रत्यंगको अवस्थासमेत बुझ्न सकिन्छ।
यसैगरी गर्भवती आमाको शारीरिक, मानसिक, पारिवारिक तथा सामाजिक अवस्थाबारे पनि जानकारी पाइन्छ। समयमै जाँच गराउँदा सम्भावित जोखिम पहिचान गर्न र आवश्यक उपचार वा सावधानी अपनाउन सहज हुन्छ। आमा र शिशु स्वस्थ रहेमा परिवारमा मानसिक, सामाजिक तथा आर्थिक समस्या समेत कम हुने भएकाले पूर्व–प्रसूति स्याहारलाई अत्यन्त महत्वपूर्ण मानिन्छ।
गर्भ जाँच गराउँदा पाइने सरकारी सुविधा
नेपाल सरकारले गर्भवती महिलाको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ। प्रोटोकल अनुसार आठ पटक गर्भ जाँच गराउने गर्भवती महिलालाई ८०० रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिन्छ।
यसैगरी सुरक्षित रूपमा बच्चा जन्माउन अस्पताल पुगेमा यातायात खर्च (गाडी भाडा) समेत उपलब्ध गराइन्छ। तराई जिल्लामा १००० रुपैयाँ, पहाडी जिल्लामा २००० रुपैयाँ र हिमाली जिल्लामा ३००० रुपैयाँका दरले सहयोग प्रदान गरिन्छ। साथै अस्पतालमै बच्चा जन्माउने आमालाई न्यानो झोला कार्यक्रम अन्तर्गत आवश्यक सामग्री समेत उपलब्ध गराइन्छ।
यी कार्यक्रमहरूले गर्भवती महिलालाई नियमित जाँच गराउन र अस्पतालमै सुरक्षित प्रसूति गराउन थप उत्साह र प्रोत्साहन प्रदान गरेको देखिन्छ।
स्वस्थ गर्भावस्थाका लागि आवश्यक सावधानी
गर्भावस्थामा पोषिलो र ताजा खाना खानु, पर्याप्त आराम गर्नु, हल्का व्यायाम गर्नु तथा स्वास्थ्यकर्मीको सल्लाह पालना गर्नु अत्यन्त आवश्यक हुन्छ। “हरेक बार खाना चार” भन्ने सन्देशलाई व्यवहारमा लागू गर्नु गर्भवती महिलाको स्वास्थ्यका लागि उपयोगी मानिन्छ।
निष्कर्ष
सरकारले मातृ तथा शिशु स्वास्थ्य सुधारका लागि विभिन्न कार्यक्रम र लगानी गरेको भए पनि स्वास्थ्य सेवाको उपयोग अझै अपेक्षाकृत कम देखिएको छ। यसमा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, स्वास्थ्यकर्मी तथा सबै सरोकारवालाहरूले समन्वय गरेर जनचेतना फैलाउनु आवश्यक छ।
यदि प्रत्येक व्यक्तिले “मेरो स्वास्थ्यको जिम्मेवारी म आफैं लिन्छु” भन्ने भावना अपनाएमा मात्र स्वास्थ्य सूचकहरू लक्ष्यअनुसार सुधार गर्न सकिन्छ। मानव जीवनको सुरुवात नै गर्भकालीन अवस्थाबाट हुने भएकाले यस समयमा आमाको स्याहार गर्नु भनेको दुई जीवनको स्वास्थ्य र विकासको स्याहार गर्नु हो। त्यसैले पूर्व–प्रसूति स्याहार मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण चरण हो।
लेखक भोजराज पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुनुहुन्छ ।

प्रतिकया दिनुहोस्