डा. निकोलस भुसालले लिए उम्मेद्वारी फिर्ता ,सुलभ खरेललाई समर्थन

स्वास्थ्यसमाचार/ रुपन्देही–२ बाट स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका डा. निकोलस भुसालले आफ्नो उम्मेद्वारी औपचारिक रूपमा निष्क्रिय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेल लाई पूर्ण समर्थन गर्ने घोषणा गरेका छन्।

आज जारी प्रेस विज्ञप्तिमार्फत डा. भुसालले देशको राजनीति नयाँ दिशातर्फ अग्रसर हुनुपर्ने ऐतिहासिक आवश्यकता औंल्याउँदै जेन–जी पुस्ताले उठाएका पारदर्शिता, जवाफदेहिता, सुशासन र प्रणालीगत सुधारका मागहरूलाई केन्द्रमा राखेर आफूले स्वतन्त्र उम्मेद्वारी दिएको उल्लेख गरेका छन्।

तर, “नयाँको लडाइँमा पुराना शक्तिहरू पुनः स्थापित भई प्रतिगमन हावी हुने अवस्था देखिएकाले देशले जित्नु ठूलो कुरा हो भन्ने मान्यतासहित” समर्थनको निर्णय लिएको उनले स्पष्ट पारे।

“मैले जित्नु भन्दा ठूलो कुरा देशले जित्नु हो, म बन्नु भन्दा ठूलो कुरा नेपाली जनताले जित्नु हो,” विज्ञप्तिमा उल्लेख छ। देश, जनता र धर्म स्थापनाको लागि जीवन समर्पित गरेको बताउँदै उनले आफ्नो स्वार्थभन्दा माथि राष्ट्रहितलाई सधैं राख्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

देशमा पुराना शक्तिहरूको दोहोरिएको वर्चस्वले अपेक्षित परिवर्तन सम्भव नहुने निष्कर्षमा पुगेको उल्लेख गर्दै उनले वैकल्पिक राजनीतिक शक्तिलाई सशक्त बनाउनु अपरिहार्य भएको बताएका छन्। सोही सन्दर्भमा रास्वपाका उम्मेदवार सुलभ खरेललाई आफ्नो पूर्ण समर्थन रहने जनाइएको छ।

डा. भुसालले आफ्नो उम्मेद्वारीमार्फत अघि सारेका प्रमुख एजेण्डाहरूमा प्रदेश सरकार खारेज, शिक्षा–स्वास्थ्य निःशुल्क, देशमा धर्म स्थापना, पारदर्शी तथा डिजिटल शासकीय प्रणाली, युवा सहभागिता र उद्यमशीलता प्रवर्द्धन, शिक्षा–स्वास्थ्य क्षेत्रमा संरचनागत सुधार, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता तथा नीतिगत निर्णयमा विज्ञताको समावेश रहेका छन्।

उक्त एजेण्डाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता सुलभ खरेलले व्यक्त गरेकाले नैतिक तथा राजनीतिक जिम्मेवारी उहाँलाई सुम्पिएको डा. भुसालको भनाइ छ। उनले यस निर्णयलाई व्यक्तिगत महत्वाकांक्षाको परित्याग मात्र नभई राजनीतिक संस्कृतिमा गुणात्मक परिवर्तनका लागि गरिएको रणनीतिक सहकार्यका रूपमा व्याख्या गरेका छन्।

समर्थक, शुभेच्छुक तथा सम्पूर्ण मतदातालाई वैकल्पिक राजनीतिक शक्तिलाई सुदृढ बनाउन सक्रिय सहभागिता जनाउन उनले हार्दिक अपिल गरेका छन्।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :