स्वास्थ्यसमाचार / सुदर्शन बराल यतिबेला प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेर चुनावी अभियानमा सक्रिय छन्। लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्रीसमेत रहनुभएका बरालले स्वास्थ्य, शिक्षा र अधुरा पूर्वाधार सम्पन्न गर्ने एजेन्डालाई मुख्य प्राथमिकतामा राखेका छन्।
नेकपाले लुम्बिनी प्रदेशका २६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको सन्दर्भमा बरालले एक्लै चुनावमा जाँदा स्पष्ट राजनीतिक एजेन्डासहित मतदातामाझ जान सहज भएको बताउँछन्। उनका अनुसार विगतको गठबन्धनका कारण पार्टीको पहिचान कमजोर बनेको अनुभूति भए पनि अहिले संगठन एकजुट भएर सक्रिय रूपमा प्रचारमा जुटेको छ।
स्वास्थ्य क्षेत्रबारे बोल्दै बरालले ग्रामीण भेगमा आधारभूत स्वास्थ्य सेवाको पहुँच अझै कमजोर रहेको उल्लेख गरे। उनले प्राथमिक स्वास्थ्य चौकीहरूको स्तरोन्नति, विशेषज्ञ सेवा विस्तार, पर्याप्त औषधि आपूर्ति र दक्ष स्वास्थ्यकर्मी व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता जनाए। दुर्गम बस्तीका नागरिकले सामान्य उपचारका लागि लामो दूरी पार गर्नुपर्ने बाध्यता अन्त्य गर्ने उनको योजना छ।
शिक्षा क्षेत्रमा उनले सामुदायिक विद्यालयको पूर्वाधार सुधार, शिक्षक दरबन्दी पूर्ति र प्राविधिक शिक्षाको विस्तारलाई प्राथमिकता दिएका छन्। प्रदेश मन्त्री हुँदा सुरु गरिएका केही कार्यक्रमलाई संघीय तहबाट निरन्तरता दिने उनको भनाइ छ।
बरालले गुल्मी–१ मा अधुरा सडक, खानेपानी, सिँचाइ र विद्युत् विस्तारका कामलाई अघि बढाउने बताएका छन्। उनले कृषि उत्पादन वृद्धि, युवा रोजगारी सिर्जना र पर्यटकीय सम्भावनाको उपयोगमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्यसमेत अघि सारेका छन्।
आफ्नो विगतको कार्यअनुभव, संगठनको बल र मतदाताको सकारात्मक प्रतिक्रियाका आधारमा आफू विजयी हुने उनको दाबी छ। निर्वाचन अभियान अन्तर्गत उनी घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

प्रतिकया दिनुहोस्