नेपाल फार्मेसी संघ पाल्पा शाखाको दोस्रो अधिवेशन: अध्यक्षमा न्यौपाने

स्वास्थ्य प्रणाली सुधार र पेशागत एकतामा फार्मासिस्टहरूको भूमिका महत्वपूर्ण: चिडी

स्वास्थ्यसमाचार/ नेपाल फार्मेसी संघ पाल्पा शाखाको दोस्रो अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ।

शाखा अध्यक्ष सूर्यप्रसाद बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा औषधि व्यवस्था विभाग का अधिकृत बुद्धिबल चिडी प्रमुख अतिथि तथा नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेश अध्यक्ष खेमराज तिवारी विशिष्ट अतिथि रहनुभएको थियो।

कार्यक्रममा बोल्दै अधिकृत चिडीले फार्मेसी क्षेत्र स्वास्थ्य सेवाको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्नुभयो। सुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधि सर्वसाधारणसम्म पु¥याउन फार्मासिस्टहरूको भूमिका संवेदनशील र जिम्मेवार हुने बताउँदै उहाँले मापदण्डविपरीत गतिविधि नियन्त्रण गर्न सबै पेशाकर्मी एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

बदलिँदो स्वास्थ्य प्रणालीसँगै निरन्तर अध्ययन, तालिम तथा प्रविधिको प्रयोगमार्फत दक्षता अभिवृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो। विशिष्ट अतिथि तिवारीले फार्मेसी पेशालाई थप व्यवस्थित, मर्यादित र सेवामुखी बनाउन एकताबद्ध प्रयास आवश्यक रहेको बताउनुभयो।

गुणस्तरीय औषधि वितरण, पेशागत आचारसंहिता पालन तथा जनस्वास्थ्यप्रति उत्तरदायी भूमिका निर्वाह गर्न फार्मासिस्टहरूलाई उहाँले आग्रह गर्नुभयो।

त्यसैगरी नेपाल फार्मेसी एसोसिएसन का महासचिव उदयबहादुर खत्रीले फार्मासिस्टहरूको सीप अभिवृद्धि, निरन्तर तालिम तथा संस्थागत सुदृढीकरणमा जोड दिनुपर्ने धारणा राख्नुभयो।अधिवेशनमा करिब ४० जना फार्मासिस्टहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन महासचिव वासुदेव घिमिरेले गर्नुभएको थियो।

नयाँ नेतृत्व चयन

अधिवेशनबाट अध्यक्षमा कोसल राज न्यौपाने निर्वाचित हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा वासुदेव ज्ञवाली र लक्ष्मण ज्ञवाली, महासचिवमा मैना सुवेदी गौतम, कोषाध्यक्षमा सागर सापकोटा तथा सह–सचिवमा मधु खड्का चयन हुनुभएको छ। सदस्यहरूमा राजीव बिष्ट, विवेक कार्की र सुस्मिता घर्ति क्षेत्री निर्वाचित हुनुभएको छ।

नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा पाल्पामा फार्मेसी सेवाको गुणस्तर वृद्धि, पेशागत हकहित संरक्षण तथा सदस्यहरूको क्षमता अभिवृद्धिका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :