बुटवल हस्पिटल :अर्ब,३ लगानी ३सयलाई रोजगारी दिएका चुन्न पौडेल

स्वास्थ्यसमाचार/ रुपन्देहीको बुटवल सहर पछिल्ला वर्षहरूमा स्वास्थ्य सेवाको उदीयमान केन्द्रका रूपमा चिनिन थालेको छ। पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको संगमस्थलमा अवस्थित बुटवलमा निजी लगानीबाट सञ्चालनमा आएको बुटवल हस्पिटल प्रा. लि. यस परिवर्तनको एउटा महत्वपूर्ण आधार बनेको छ।

आज भन्दा २५ बर्ष पहिले १ करोड ५ जनाबाट सुरु गरिएको यो अस्पताल अहिले करिब १ अर्ब रुपैयाँको निजी साझेदारी लगानीमा स्थापित भएको छ ।अस्पतालमा १७ जना सेयर सदस्य छन् भने मुख्य लगानीकर्ता तथा अध्यक्ष चुन्नु पौडेल रहनु भएको छ ।

सुरुदेखीनै चर्चित रहेको यो प्रालि अहिले १०० शय्याको क्षमतासहित सञ्चालनमा रहेको छ अस्पतालमा कार्डियो सर्जरी र डायलासिस बाहेकका प्रायः सबै आधारभूत तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ।

दैनिक २०० भन्दा बढी बिरामीलाई सेवा दिईरहेकोे संरचना र उपकरणसहितको यो अस्पतालले छोटो समयमै सेवा गुणस्तरका आधारमा आफ्नो पहिचान बनाएको छ।

अध्यक्षको दृष्टिः सेवा र प्रणाली दुवै सुधार चुन्नु पौडेल स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय रहनु भएको छ। अस्पताल व्यवस्थापनका क्रममा उहाले नजिकबाट देखेका नीति–जटिलता, स्रोतको असन्तुलन र सार्वजनिक–निजी समन्वयको कमीले उहालाई व्यवस्थापनलाई केवल व्यवसाय नभई सामाजिक दायित्वका रूपमा हेर्न प्रेरित गरेको देखिएको छ।

अस्पताल निजी भए पनि सरकारी मापदण्डअनुसार १० प्रतिशत सेवा निःशुल्क उपलब्ध गराइँदै आएको छ। अस्पतालका अनुसार हरेक वर्ष ५० भन्दा बढी विपन्न नागरिकले निःशुल्क सेवा पाउँछन् र अहिलेसम्म करिब १ करोड रुपैयाँ बराबरको उपचार निःशुल्क प्रदान गरिएको छ।

अस्पतालका मेसु  डा. कृष्ण खनाल भन्नुहुन्छ्, “हाम्रो लक्ष्य बिरामीको उपचार मात्र होइन, परिवारलाई पनि विश्वास दिलाउनु हो। अस्पतालमा प्रवेश गरेपछि उनीहरूले न्यानोपन र पारदर्शिता महसुस गर्नुपर्छ।” व्यवस्थापनले सेवा गुणस्तर सुधारका लागि दक्ष जनशक्ति, आधुनिक ल्याब, व्यवस्थित अपरेशन थिएटर र विशेषज्ञ चिकित्सकको उपलब्धतामा निरन्तर लगानी गरेको छ।

अस्पतालले करिब ३ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ-जसमध्ये ठूलो हिस्सा युवा चिकित्सक नर्स, पारा-मेडिकल र प्राविधिक जनशक्ति रहेका छन । अस्पतालले प्रतेका बर्ष स्थानिय पालिका संग सहकार्य गरेर निशुल्क स्वास्थ्य शिबिर गरेको छ ।

यो बर्ष पनि गुल्मी देखी प्युठान लगायका क्षेत्रमा ५ बटा शिबिर संञ्चालन गरेर गाउँदेखी शहरसम्म आउन नसक्ने बिरामीको मानविय उत्तरदाईत्यो अन्तरगतको सेवा गरेको अस्पतालले जनाएको छ । शिबिरमा बिषेयज्ञ डाक्टर देखी निशुल्क औषधी बितर गर्ने गरेको खनालको भनाई छ ।

स्वास्थ्य क्षेत्रको दीर्घकालीन सुधारका लागि दक्ष जनशक्ति उत्पादन अनिवार्य हुने निष्कर्षसहित अस्पतालले नर्सिङ शिक्षा प्रवद्र्धनको तयारी थालेको छ।

बुटवलको कालिका नगरमा अक्सब्रिज इन्टरनेशनल कलेज सञ्चालन गर्ने योजना अन्तिम चरणमा पुगेको छ। आगामी शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्ने लक्ष्य राखिएको यस कलेजले स्वास्थ्य क्षेत्रमा स्थानीय युवालाई दक्ष जनशक्ति बन्ने अवसर दिने अपेक्षा गरिएको छ। यसले स्वास्थ्य संस्थालाई मात्र होइन, समग्र क्षेत्रमा मानवीय पूँजी निर्माणमा योगदान पुग्ने विश्वास अस्पताल व्यवस्थापनको छ।

सेवा गुणस्तरबारे स्थानीय प्रतिक्रिया अस्पतालबाट सेवा लिएका स्थानीय सेवाग्राहीहरू सेवा, व्यवहार र पूर्वाधारप्रति सकारात्मक देखिन्छन्। उपचारमा आएका फर्सुराम भण्डारी भन्छन्, “सेवा उत्कृष्ट छ। बिरामी मात्र होइन, परिवारलाई पनि सम्मानपूर्वक व्यवहार गरेको महशुस भयो ।
उहाँमात्र होईन अर्घाखाचीबाट बुटबलमा उपचार गर्नको लागी आमालाई लिएर उपचार गराउनु भएको पाबर्ता बेल्वासेले अस्पतालमा पारदर्शिता र भरोसा महसुस भएको अनुभव सुनाउनु भयो “प्रत्येक सेवा स्पष्ट र व्यवस्थित छ।

बुटवलमा स्वास्थ्य सेवाको नयाँ मानक जस्तो लागेको छ,” उहाले भन्नु भयो । स्थानीय प्रतिक्रिया र सन्तुष्टिलाई व्यवस्थापनले आफ्ना सुधारका आधारका रूपमा लिँदै आएको अस्पतालका मेसु डा खनालले बताउनु भयो ।

निर्वाचनको सन्दर्भ र स्वास्थ्य एजेन्डा

रुपन्देही क्षेत्र नं. २ मा प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा चुन्नु पौडेल स्वास्थ्य क्षेत्रको अनुभवसहित उम्मेदवारका हुनुभएको छ्। उहाले आफ्नो चुनावी एजेन्डाको केन्द्रमा स्वास्थ्य क्षेत्रलाई राखेका मतदाताहरुसंग मत माग्दै हिडनु भएको छ ।

उहाले स्वास्थ्यमा स्वास्थ्य बीमा कार्यक्रमको दिगोपन र प्रभावकारी कार्यान्वयन, ग्रामीण क्षेत्रमा विशेषज्ञ सेवा विस्तार, सार्वजनिक–निजी साझेदारी मोडेलमार्फत सरकारी अस्पतालको सुदृढीकरण, मातृ तथा नवजात स्वास्थ्यमा विशेष कार्यक्रम र स्थानीय युवालाई स्वास्थ्य क्षेत्रमा रोजगारी सिर्जना समावेश जस्ता कुरालाई मुख्य एजेन्डा बनाउनु भएको छ ।

उम्मेदवार पौडेल भन्नुहुन्छ , “स्वास्थ्य सेवा सुधारका लागि कानुनी संरचना, पर्याप्त बजेट र प्रभावकारी अनुगमन आवश्यक छ। यी विषय नीति निर्माण तहमा उठाउनुपर्छ। व्यवस्थापनमा देखेका चुनौतीलाई अब नीतिमा सम्बोधन गर्नुपर्छ।” उहाको भनाई छ—स्वास्थ्य संस्थाको व्यावहारिक अनुभव भएका प्रतिनिधिले मात्र प्रणालीगत सुधारको वास्तविक आवश्यकता बुझ्न सक्छन्।

स्वार्थ–द्वन्द्व र पारदर्शिताको प्रश्न

निजी अस्पतालसँग प्रत्यक्ष सम्बन्ध राख्ने व्यक्ति निर्वाचनमा उम्मेदवार बनेपछि स्वार्थ–द्वन्द्वको प्रश्न उठ्नु स्वाभाविक मानिन्छ। यसबारे पौडेल भन्नुहुन्छ्, “सार्वजनिक पदमा पुगेपछि कानुनले तोकेको आचारसंहिता पूर्ण रूपमा पालना गरिनेछ। निजी व्यवसाय र सार्वजनिक जिम्मेवारी स्पष्ट रूपमा अलग राखिनेछ।”

पौडेलले बुटवललाई लुम्बिनी प्रदेशकै स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ्।पूर्व–पश्चिम र उत्तर–दक्षिणबाट आउने बिरामीलाई गुणस्तरीय सेवा उपलब्ध गराउँदै अन्य शहर धाउनुपर्ने बाध्यता अन्त्य गर्ने गरि स्वास्थ्यसेवा प्रवाह गर्ने लक्ष्यराखिएको उहाँको भनाई छ ।

निजी लगानी, रोजगारी सिर्जना, निःशुल्क सेवा र मानव स्रोत विकासमा केन्द्रित बुटवल हस्पिटल प्रा. लि. ले क्षेत्रीय स्वास्थ्य सेवामा एउटा उदाहरण प्रस्तुत गरेको दाबी व्यवस्थापनको छ।

अब प्रश्न केवल एउटा अस्पतालको सफलतामा सीमित छैन-स्वास्थ्य क्षेत्रको अनुभव बोकेको उम्मेदवार नीति निर्माण तहमा पुग्दा त्यो अनुभवले कस्तो संरचनात्मक परिवर्तन ल्याउन सक्छ भन्ने हो। रुपन्देही–२ का मतदाताका लागि यही प्रश्न यसपटकको निर्वाचनमा निर्णायक बन्न सक्ने देखिन्छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :