लुम्बिनी प्रदेशमा स्वास्थ्यको प्रमुख गन्तव्य बन्दै रुपन्देही जिल्ला

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला पछिल्ला वर्षहरूमा स्वास्थ्य क्षेत्रको प्रमुख गन्तव्यका रूपमा तीव्र रूपमा उभिँदै गएको छ। विशेषगरी बुटवल, भैरहवा र देवदह क्षेत्रमा सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूको विस्तारसँगै जिल्लाको समग्र स्वास्थ्य पूर्वाधार मजबुत बन्दै गएको हो।

जिल्लामा ठूला लगानीका अस्पताल सञ्चालनमा आएका छन् भने केही अत्याधुनिक अस्पताल निर्माणाधीन अवस्थामा छन्। यसको केन्द्रमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लाई १२ सय शय्यामा विस्तार गर्ने लक्ष्यसहित करिब ७ अर्ब रुपैयाँ लागतमा पूर्वाधार निर्माण तीव्र गतिमा अघि बढिरहेको छ।

प्रदेशस्तरीय मात्र नभई बहुप्रदेशीय सेवा केन्द्रका रूपमा विकसित हुँदै गएको उक्त अस्पतालमा लुम्बिनी प्रदेशसँगै गण्डकी र कर्णाली प्रदेशका बिरामीहरू उपचारका लागि आउने गरेका छन्। अस्पताल व्यवस्थापनका अनुसार दैनिक ३ सयभन्दा बढी बिरामी ओपिडी सेवामा पुग्ने गरेका छन्। आपतकालीन, सर्जरी, स्त्रीरोग, बालरोग, मुटु तथा मिर्गौला सेवामा बिरामीको चाप उल्लेख्य छ। सीमावर्ती भारतका सुनौली र गोरखपुरबाट समेत बिरामी आउने क्रम बढ्दो छ।

रुपन्देहीमा सरकारी अस्पतालसँगै निजी क्षेत्रको लगानी पनि उल्लेख्य छ। देवदह मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, लुम्बिनी आयुर्वेद चिकित्सालय ,भीम अस्पताल, आम्दा अस्पताल (३०० शय्या), सिद्धार्थ सिटी अस्पताल, बुटवल हस्पिटल प्रा.लि., मेडिटेक अस्पताल प्रा.लि., मर्सी सिटी अस्पताल र एडमन सिटी अस्पताल लगायतका संस्थाले विशेषज्ञ सेवा प्रदान गरिरहेका छन्। निर्माणाधीन संजीवनी इन्टरनेशनल अस्पताल तथा लुम्बिनी क्यान्सर अस्पताल ले आगामी दिनमा थप अत्याधुनिक सेवा विस्तार गर्ने अपेक्षा गरिएको छ।

पालिका स्तरमा १५ शय्याका आधारभूत अस्पताल सञ्चालनमा ल्याइएका छन् भने तिलोत्तमामा सरकारी मेडिकल कलेज स्थापना प्रक्रिया अघि बढेको छ। सामुदायिक मुटु अस्पताल सञ्चालनको तयारीले नसर्ने रोगको उपचारमा प्रदेशको क्षमता थप सुदृढ हुने विश्वास गरिएको छ।

हाल सञ्चालनमा रहेका तथा निर्माणाधीन अस्पताल र मेडिकल कलेजहरूमा मात्रै करिब दर्जनौं अर्ब रुपैयाँ बराबरको लगानी भइसकेको अनुमान छ। विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र सुविधा सम्पन्न संरचनासहित अब सामान्यदेखि जटिल रोगसम्मको उपचार रुपन्देहीमै सम्भव हुने अवस्था बन्दै गएको छ।

यसले स्थानीय बिरामीलाई काठमाडौं वा भारत जानुपर्ने बाध्यता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सीमावर्ती क्षेत्र तथा अन्य प्रदेशबाट बिरामी आगमन बढ्दै जाँदा रुपन्देही मेडिकल टुरिजमको सम्भावित हबका रूपमा विकसित हुने आधार पनि बलियो बन्दै गएको छ।

सरकार, स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा स्वास्थ्य सेवा विस्तार, जनशक्ति व्यवस्थापन र आधुनिक प्रविधि जडानमा जोड दिइँदै आएको छ। यी प्रयासहरूले रुपन्देहीलाई लुम्बिनी प्रदेशकै मात्र नभई राष्ट्रिय स्तरमै उदाहरणीय स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्ने मार्ग प्रशस्त गरिरहेका छन्।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :