स्वास्थ्यसमाचार/ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनमा स्वास्थ्य सूचकतर्फ बुटवल उपमहानगरपालिका अग्रस्थानमा देखिएको छ भने इटहरी सबैभन्दा पछाडि परेको छ।
आयोगले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार बुटवलले समग्र मूल्यांकनमा ६४.४४ अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको छ। इटहरी उपमहानगरपालिका भने ३८.९६ अंकसहित सबैभन्दा कमजोर देखिएको छ।
मूल्यांकनमा स्वास्थ्यसँग सम्बन्धित सूचकहरूलाई पनि महत्त्व दिइएको थियो। गर्भवती महिलाले नियमित गर्भजाँच (एएनसी) सेवा लिएको अनुपात र खोप लगाइएका बालबालिकाको प्रतिशतलाई मुख्य स्वास्थ्य सूचकका रूपमा समावेश गरिएको थियो। यी सूचकले मातृ तथा शिशु स्वास्थ्य सेवाको पहुँच र प्रभावकारिता मापन गर्ने आधार प्रदान गरेका छन्।
दाङका दुई उपमहानगरपालिकामध्ये तुल्सीपुरले ६१.५३ अंक प्राप्त गरेको छ भने घोराहीले ६०.०८ अंक हासिल गरेको छ। धरान उपमहानगरपालिकाले ४९.७६ अंक ल्याएको देखिन्छ।
आयोगले स्थानीय तहको मूल्यांकनका लागि कुल १७ सूचक प्रयोग गरेको जनाएको छ। वित्तीय अनुशासन, बजेट सार्वजनिक तथा पारित गर्ने समयसीमा, राजस्व संकलन र प्रदेश सञ्चित कोषमा रकम जम्मा गर्ने दायित्वका साथै शिक्षा र स्वास्थ्य क्षेत्रका सूचकहरू मूल्यांकनको आधार बनेका छन्।
विशेषगरी गर्भजाँच सेवा लिने महिलाको अनुपात र खोप लगाइएका बालबालिकाको दरले स्थानीय तहको स्वास्थ्य सेवा व्यवस्थापन र प्रभावकारिताको स्तर देखाउने भएकाले यी सूचकलाई महत्त्वपूर्ण मानिएको छ। स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारमा स्थानीय सरकारको भूमिकालाई आयोगले मूल्यांकनमार्फत उजागर गरेको छ।

प्रतिकया दिनुहोस्