स्वास्थ्यसमाचार, /रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ भैरहवामा ४ अर्ब रुपैयाँको लगानीमा २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण हुने भएको छ। लुम्बिनी क्यान्सर हस्पिटल प्रालिको नाममा निर्माण हुन लागेको उक्त अस्पतालको तयारी अन्तिम चरणमा पुगेको हो।
अस्पताल निर्माणका लागि आवश्यक करिब ३ बिघा क्षेत्रफल जग्गा खरिद प्रक्रिया पूरा भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रतिवेदन अन्तिम चरणमा पुगेको बताइएको छ। ईआईए प्रतिवेदन स्वीकृतिपछि निर्माण कार्य औपचारिक रूपमा सुरु गरिने तयारी गरिएको छ।
अस्पतालका प्रमुख लगानीकर्ता कमल भण्डारीले भैरहवा क्षेत्रमा आधुनिक क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल स्थापना गर्न लागिएको बताउनु भयो। उहाँले यस क्षेत्रमा क्यान्सर उपचारका लागि विशेष अस्पतालको अभाव रहेको र यस क्षेत्रका बिरामीहरू उपचारका लागि काठमाडौं तथा भारतका विभिन्न शहरमा जान बाध्य भइरहेकाले सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्यसहित अस्पताल सञ्चालनको तयारी गरिएको बताउनु भयो।
उहाँका अनुसार अस्पताल सञ्चालनमा आएपछि क्यान्सरको पहिचान, किमोथेरापी, रेडियोथेरापी, सर्जरी लगायत सम्पूर्ण सेवा एउटै स्थानबाट उपलब्ध गराइनेछ। आधुनिक उपकरण, विशेषज्ञ चिकित्सक तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यसहित अस्पतालको पूर्वाधार विकास गरिने पनि उहाँले जानकारी दिनुभयो।
भण्डारीले भैरहवामा क्यान्सर अस्पतालसँगै एडभान्स मल्टिस्पेशलिस्ट अस्पताल सञ्चालनको तयारी पनि अन्तिम चरणमा पुगेको बताउनु भयो। उहाँले यसअघि पनि स्वास्थ्य तथा स्वास्थ्य शिक्षा क्षेत्रमा लगानी गर्दै आउनु भएको छ।
अस्पताल सञ्चालनमा आएपछि रुपन्देहीसहित लुम्बिनी प्रदेशका हजारौं बिरामीलाई सहज, सुलभ तथा गुणस्तरीय उपचार सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ। यसले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता घटाउने मात्र नभई प्रदेशको स्वास्थ्य सेवा सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
पछिल्लो समय भैरहवा स्वास्थ्य सेवाको प्रमुख केन्द्रका रूपमा विकास हुँदै गएको छ। यहाँ सरकारी अस्पताल, मेडिकल कलेज, नर्सिङ होम तथा निजी स्वास्थ्य संस्थाहरू सञ्चालनमा आइसकेका छन्। नयाँ क्यान्सर अस्पताल निर्माणसँगै यस क्षेत्रको स्वास्थ्य पूर्वाधार अझ सुदृढ हुने तथा रोजगारीका अवसर समेत सिर्जना हुने अपेक्षा गरिएको छ।

प्रतिकया दिनुहोस्