घोराहीमा तीन सय शैयाको सञ्जीवनी शिक्षण अस्पताल माघ २८ देखि सञ्चालनमा आउँदै

समाचार /घोराही उपमहानगरपालिका–३, गोग्लीस्थित सञ्जीवनी शिक्षण अस्पतालको सेवा माघ २८, बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।

तीन सय शैयाको क्षमतायुक्त यस अत्याधुनिक अस्पतालले विशेषज्ञ चिकित्सकहरुको साथमा ‘केयर फर अल’ मूल नाराका साथ सेवा प्रदान गर्नेछ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले तीन अर्ब लगानीमा निर्माण गरिएको अस्पतालको भौतिक संरचना र सबै तयारी पूरा भएको बताए। उनले संघीय जनसंख्या तथा स्वास्थ्य मन्त्रालयबाट आवश्यक स्वीकृति प्राप्त गरी अस्पतालले सबै सेवाहरू एकैसाथ सुरु गर्न लागेको जानकारी दिनुभयो।

अस्पतालले ओपीडीमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, स्त्री–प्रसूति, जनरल सर्जरी, मानसिक तथा नसारोग, छाला तथा यौन, शिशु–बालरोग, मुटुरोग, ग्यास्ट्रोलोजी, इएनटी, डेन्टल, नेत्ररोग र फिजियोथेरापी विशेषज्ञ सेवा उपलब्ध गराउने छ।

साथै, आइसियु, सिसियु, एमआइसियु, एनआइसियु, पिआइसियु, एसआइसियु, एचडियु र हेमोडायलासिस सेवा पनि उपलब्ध हुने छन्।

रेडियोग्राफीतर्फ डिजिटल एक्स–रे, भिडियो एक्स–रे, म्यामोग्राफी, इसिजी, इको, सिटि स्क्यान, एमआरआइ, इन्टरभेन्सनल इन्डोस्कोपी, कोलोनस्कोपी सेवा उपलब्ध हुने बताइएको छ। भर्ना हुने बिरामीका लागि जनरल र डिलक्स क्याबिन, २४ घण्टे इमेरजेन्सी, फार्मेसी, ल्याब सेवा, एम्बुलेन्स र मोडुलर ओटीमा सामान्य तथा मेजर सर्जरीको सुविधा उपलब्ध हुने छ।

दीर्घकालीन योजनाअनुसार तीन वर्षभित्र शैया संख्या पाँच सय पुर्‍याउने र एमविविएस तथा विडिएस शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको छ। हाल अस्पतालमा करिब ३५० कर्मचारीले रोजगारी पाएका छन्।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन र दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले अस्पतालले स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रवाह गर्दै आम नागरिकमा विश्वास दिलाउनुपर्ने बताउनुभयो।

सम्बन्धित शिर्षक :