स्वास्थ्य सेवामा पहुँच मात्र होइन, गुणस्तर अनिवार्य : स्वास्थ्यमन्त्री सारु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवालाई पहुँचसँगै गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभएको छ। बुटवलमा आयोजित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको १३औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री सारुले गुणस्तरीय स्वास्थ्य सेवा बिना नागरिकको जीवन रक्षा सम्भव नहुने बताउनुभयो।

उहाँले स्वास्थ्य संस्थाहरूलाई प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गर्दै रुपन्देही जिल्ला स्वास्थ्य पर्यटनको केन्द्रका रूपमा विकास हुँदै गएको उल्लेख गर्नुभयो। यहाँका स्वास्थ्य संस्थाहरूले प्रदान गर्ने सेवाका कारण धेरै नागरिक लाभान्वित भएको र रुपन्देही अब ‘हेल्थ टुरिजम हब’ बन्दै गएको उहाँको भनाइ थियो।

मन्त्री सारुले बुटवलमा निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण प्रगति यस वर्ष ४५ प्रतिशत पुग्ने जानकारी दिनुभयो। प्रादेशिक अस्पतालमा सुरु हुने विशिष्टीकृत तथा गुणस्तरीय सेवाले रुपन्देहीलाई स्वास्थ्यको हब बनाउने विश्वास व्यक्त गर्दै उहाँले चालु आर्थिक वर्षमा अस्पताल निर्माणका लागि १ अर्ब ६ करोड रुपैयाँ बजेट व्यवस्थापन गरिएको पनि बताउनुभयो। निर्धारित समयमै अस्पताल सम्पन्न हुने उहाँको विश्वास छ।

सेवा प्रदायक स्वास्थ्य संस्थालाई मन्त्रालयको तर्फबाट पर्याप्त सहयोग गर्न नसकिएको स्वीकार गर्दै मन्त्री सारुले आगामी वर्षको बजेटमार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिए पनि पर्याप्त बजेट नहुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताउनुभयो। त्यस्तै पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन राज्यको लगानी अपरिहार्य रहेको धारणा राख्नुभयो।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले मुटु अस्पतालका लागि आवश्यक जग्गा बुटवलमै खोजिनुपर्ने बताउँदै अस्पताललाई बुटवल बाहिर जान नदिने नगरपालिकाको चाहना रहेको स्पष्ट पार्नुभयो।

कार्यक्रममा उपप्रमुख सावित्रा अर्याल, रोटरी ३२८२ नेपाल–भुटानका अध्यक्ष राजेन्द्र ध्वजु, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो।

संस्थाको अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले स्थापना भएको १२ वर्षमा ४ लाख १६ हजारभन्दा बढी बिरामीले ओपिडी सेवा लिएको जानकारी दिनुभयो। अस्पताल भवन निर्माणका लागि पहल भए पनि हालसम्म सार्थक नबनेको उहाँले बताउनुभयो।

अस्पतालका निर्देशक डा. समिर गौतमले अव्यवस्थित खानपान र लापरबाहीका कारण मुटु रोगीको संख्या बढ्दै गएको भन्दै सबैलाई नियमित स्वास्थ्य परीक्षण गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा दशक सम्मान अन्तर्गत मोहन बेल्बासे र दीपक कुमारी चौधरी थारुलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो। त्यसैगरी निरज राना, हरियामा थापा, कृष कार्की, पुष्पा घिमिरे, डा. दीपक शर्मा, विष्णु बहादुर सारु, अर्जुन केवट र प्रेम आलेलाई उत्कृष्ट कर्मचारीका रूपमा नगद र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव बाबुराम बोहोराले गर्नुभएको थियो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :