रुपन्देहीको मर्चवारमा अत्यधिक चिसोले ५८ वर्षीय वृद्धको बाटोमै मृत्यु

स्वास्थ्यसमाचार/रुपन्देहीको मर्चवार क्षेत्रमा अत्यधिक चिसोका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका–५ मझगावाँ निवासी ५८ वर्षीय बङ्गुर लम्बु हरिजन रहेका छन्।

इलाका प्रहरी कार्यालय मझगावाँका अनुसार हरिजन सोही वडास्थित दुईमोहान पुल नजिक अत्यधिक चिसोका कारण बाटोमै ढलेका थिए। उनी लुम्बिनीस्थित महिलवारमा औषधि उपचार गराएर घर फर्किंदै गर्दा असह्य चिसोले स्वास्थ्य बिग्रिएर ढलेको बताइएको छ।

प्रहरी निरीक्षक तपेन्द्र विष्टले मंगलबार बेलुका करिब ४ः३० बजे घटनास्थलमा हरिजन लडेको अवस्थामा भेटिएको जानकारी दिए। प्रत्यक्षदर्शीका अनुसार उनी बजारबाट घर फर्किंदै गर्दा अचानक ढलेका थिए।

घटनापछि स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धान अनुसार अत्यधिक चिसोले स्वास्थ्यमा असर पारी मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ।

स्थानीय प्रशासनले मौसम चिसो बढेसँगै विशेषगरी वृद्ध, बिरामी र कमजोर स्वास्थ्य भएका व्यक्तिहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। प्रहरीले घटनासम्बन्धी थप विवरण संकलन तथा आवश्यक अनुसन्धान जारी राखेको छ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :