प्रेरणा परियोजनाको वार्षिक समीक्षा वैठक भैरहवामा सम्पन्न

स्वास्थ्यसमाचार/ रुपन्देहीका ११ वटै पालिकामा कार्यरत प्रेरणा परियोजनाको वार्षिक समीक्षा बैठक भैरहवामा सम्पन्न भएको छ। जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा तथा इन्द्रेणी ग्रामीण विकास केन्द्र र FAIRMED फेयर फाउन्डेसन नेपालद्वारा सञ्चालित प्रेरणा परियोजनाको समीक्षा गरिएको हो।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापाईको अध्यक्षतामा सम्पन्न समीक्षा बैठकमा मायादेवी गाउँपालिकाका अध्यक्ष धुर्बनारायण चौधरी, मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरई, सम्मरीमाई गाउँपालिकाकी उपाध्यक्ष कुमारी प्रियंका शाही सिंह तथा स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख उमादेवी थापाको आतिथ्यता रहेको थियो।

समीक्षा कार्यक्रममा प्रेरणा परियोजनाका जिल्ला संयोजक किरण श्रेष्ठले रुपन्देही जिल्लाका ११ वटै स्थानीय तहका स्वास्थ्य संस्थासँग सहकार्य गर्दै सञ्चालन गरिएका गतिविधि, त्यसबाट हासिल उपलब्धि तथा आगामी दिनमा गर्नुपर्ने कार्ययोजनाबारे विस्तृत जानकारी गराउनुभयो।

उहाँले प्रेरणा परियोजनामार्फत हात्तिपाइले, कुष्ठरोग तथा अन्य उपेक्षित उष्णप्रदेशीय रोगबाट प्रभावित व्यक्तिहरूको पहिचान, उपचारमा पहुँच अभिवृद्धि, नियमित अनुगमन तथा सामाजिक पुनर्स्थापनामा उल्लेखनीय उपलब्धि हासिल भएको बताउनुभयो।

स्वास्थ्यकर्मीहरूलाई तालिम प्रदान गर्ने, स्व–हेरचाह समूह गठन तथा सुदृढीकरण गर्ने, प्रभावित व्यक्तिहरूलाई आवश्यक सामग्री तथा परामर्श सेवा उपलब्ध गराउने कार्य प्रभावकारी रूपमा अघि बढाइएको उहाँको भनाइ थियो।

परियोजनाका कारण समुदायस्तरमा रोगप्रति सचेतना बढेको, प्रभावित व्यक्तिहरू नियमित उपचारमा जोडिन थालेको तथा स्व–हेरचाह अभ्यासमा सकारात्मक परिवर्तन देखिएको उहाँले उल्लेख गर्नुभयो। साथै स्थानीय तह र स्वास्थ्य संस्थाबीचको समन्वय मजबुत बनेको र समुदायमै आधारित सेवा प्रवाह प्रभावकारी हुँदै गएको बताउनुभयो।

आगामी दिनमा परियोजनालाई अझ प्रभावकारी बनाउन स्थानीय तहको स्वामित्व सुदृढ गर्ने, स्वास्थ्यकर्मीहरूको क्षमता विकासलाई निरन्तरता दिने, स्व–हेरचाह समूहहरूलाई आत्मनिर्भर बनाउने तथा सामाजिक विभेद र कलंक न्यूनीकरणमा केन्द्रित कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा प्रेरणा परियोजनाका टिम लिडर राजेन्द्र रुचालले स्वास्थ्य संस्थामा आवश्यक औषधि तथा उपकरण उपलब्ध गराउन सहयोगका लागि प्रयास गरिने बताउनुभयो। सुदोधन, सियारी, ओमसतिया र मर्चवारी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजकहरूले परियोजनाले स्वास्थ्य क्षेत्रमा खोजपडताल, तालिम, उपकरण तथा सहकार्यमा महत्वपूर्ण सहयोग पुर्‍याएको बताए।

स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख तथा जनस्वास्थ्य प्रशासक उमादेवी थापाले सरकारले स्वास्थ्य क्षेत्रलाई आवश्यक प्राथमिकतामा राख्न नसकेको उल्लेख गर्दै स्वास्थ्य नागरिकको आधारभूत अधिकार भए पनि पर्याप्त स्रोत, जनशक्ति र निरन्तर कार्यक्रम सुनिश्चित हुन नसकेको बताउनुभयो।

उहाँले सरकारले प्रभावकारी रूपमा अघि बढाउन नसकेका धेरै कार्यक्रम साझेदारी संस्थाहरूको सहयोगमा सम्पन्न भएको उल्लेख गर्दै प्रेरणा परियोजनाले उपेक्षित उष्णप्रदेशीय रोग नियन्त्रण, समुदायस्तरमा पहुँच विस्तार तथा स्वास्थ्य सचेतनामा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो।

थापाले रुपन्देहीमा कुष्ठरोग अझै पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको उल्लेख गर्दै नियमित खोज, समयमै उपचार र सामाजिक विभेद न्यूनीकरणमा जोड दिनुपर्ने बताउनुभयो। साथै केही पालिकामा रेबिज भ्याक्सिनको अभाव तथा घरमै सुत्केरी हुने समस्या कायमै रहेकाले जनचेतना अभिवृद्धि आवश्यक रहेको धारणा राख्नुभयो।

 

मायादेवी गाउँपालिकाका अध्यक्ष धुर्बनारायण चौधरीले प्रेरणा परियोजनाले पालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको बताउँदै विशेषगरी हात्तिपाइले र कुष्ठलगायत उपेक्षित रोगबाट प्रभावित व्यक्तिहरूको उपचार, स्व–हेरचाह र जनचेतनामा परियोजनाको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।

त्यसैगरी मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले परियोजनाले पालिकासँग सहकार्य गर्दै उपेक्षित रोगबाट प्रभावित नागरिकहरूको पहिचान र उपचारमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले रेबिज भ्याक्सिन पर्याप्त नपठाइने र पालिकाले खरिद गर्न समेत कठिनाइ भएको गुनासो व्यक्त गर्नुभयो।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापाईले प्रेरणा परियोजनाले हात्तिपाइले, कुष्ठरोगबाट प्रभावित व्यक्ति तथा अति विपन्न समुदायलाई लक्षित गरी सञ्चालन गरिएका कार्यक्रम प्रभावकारी देखिएको बताउनुभयो। परियोजनाले स्वास्थ्य संस्था, स्थानीय तह र समुदायबीचको समन्वय सुदृढ गर्दै लक्षित समुदायको जीवनस्तर सुधारमा सकारात्मक प्रभाव पारेको उहाँको भनाइ थियो।

कार्यक्रममा इन्द्रेणी ग्रामीण विकास परिषद्का उपाध्यक्ष चेतना थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने नारायण पन्थीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। समीक्षा बैठकमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

 

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :