स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले अहिले सरकार छोटो समयमा निर्वाचन गराउने जिम्मेवारीका साथ बनेको भएपनि संस्थागत सुदृढीकरण, प्रणाली सुधार र भ्रष्टाचार न्यूनीकरण पनि मुख्य काम भएको बताएकी छन् ।
शुक्रबार राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री डा. शर्माले देशमा बेथितीको अन्य हुन आवश्यक रहेको बताइन् । ‘अहिलेको सरकार छोटो समयका लागि निर्वाचन गराउने जिम्मेवारीसाथ आएको छ तर यो सरकारको मुख्य काम संस्थागत सुदृढीकरण, प्रणाली सुधार र भ्रष्टाचार न्यूनीकरण हो,’ मन्त्री डा. शर्माले भनिन्, ‘देशमा रहेका बेथितीको अन्त्य हुनुप¥यो, त्यसकारण मैले केही नगरी नहुने प्राथमिकता तोकेको छु ।
केही नियमित रुपमा भइरहेका कार्यक्रमलाई प्रभावकारी बनाउन लागिरहेकी छु ।’ उनले आफूले स्वास्थ्यमा तीन कुरा प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । ‘मानसिक स्वास्थ्य, दोस्रो श्रमिकको स्वास्थ्य र तेस्रोमा हाम्रो डेमाग्राफिक हेल्थ सर्वेले देखाएको थियो चार वटा प्रदेश लुम्बिनी, मधेश, कर्णाली र सुदूपश्चिममा इन्डीकेटरहरु एभरेजभन्दा तल छन्, ती प्रदेशमा अझ प्रभावकारी रुपमा कार्यक्रम लैजाऔं,’ उनले भनिन्, ‘मानसिक स्वास्थ्यको काम धेरै अस्पतालहरुले राम्रोसँग लग्नुभएको छ ।’
रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र धान्ने श्रमिकले स्वास्थ्य सेवा लिन अप्ठयारो रहेको उल्लेख गर्दै उनले त्यही कारण श्रमिकको स्वास्थ्यलाई प्राथमिकतामा राखिएको बताइन् । होस्ट कन्ट्रीले श्रमिकको स्वास्थ्यको जिम्मेवारी लिनुपर्छ भन्ने कुरा आफूहरुले विश्व स्वास्थ्य संगठनमा पनि उठाएको उनको भनाइ थियो । ‘विभिन्न देशका सरकारसँग पनि यो कुरा उठाएका छौं,’ उनले भनिन्, ‘विश्व स्वास्थ्य संगठनले नीति नै बताइदियो भने सजिलो हुन्छ ।’
प्रजनन स्वास्थ्यमा आफूले प्रगति नदेखेको उनले बताइन् । डा. शर्माले औषधी व्यवस्था विभाग, राष्ट्रिय औषधी प्रयोगशालाले अध्ययन गरेर थुप्रै दस्तावेज बनाएपनि त्यो दस्तावेजमै सिमित भएको बताइन् । ‘त्यो डकुमेन्टमा सिमित भएका कुरालाई हामी कसरी कार्यक्रममा लैजाने भनेर विभिन्न दातृ राष्ट्रहरुसँग कुरा गरिसकेको छु, अझै पनि गर्दैछु,’ उनले भनिन्, ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई अझ स्टे«न्थेनिङ गरौं र डिडिएलाई अझ प्रभावकारी बनाऔं ।’
डा. शर्माले आफ्नो कार्यकालको अन्त्यसम्मको यसको नतिजा आउने दावी गरिन् । आपूर्तिमा अहिले मन्त्रालयका १४ जना निलम्बनमा परेको बताउँदैं उनले केही कुरा नबुझेर कतै ढंग नपुगेको त कतै वास्तविक समस्यासमेत रहेको हुन सक्ने बताइन् । ‘त्यहाँ पनि विज्ञहरु राखेर आफूले काम गरिरहेका छौं,’ उनले भनिन् । डा. शर्माले स्वास्थ्य क्षेत्रमा पछिल्ला वर्षहरुमा धेरै परिवर्तन भएको बताउँदैं सामान्य औषधि नपाउने अवस्था अहिले नरहेको उल्लेख गरिन् ।
‘धेरै उपचार गर्न बाहिर जानुपर्थ्यो। अहिले धेरै चिकित्सकको उत्पादन छ । उपचार राम्रो छ,’ उनले भनिन्, ‘तर, चुप लागेर बस्ने अवस्था छैन । किनभने, चुनौतीहरु धेरै छन् । भएका स्रोत साधन प्रयोग गरेर हामीले अझ धेरै राम्रो गर्न सक्थ्यौं । गर्न सक्ने अवस्था छ र गर्नुपर्छ ।’ त्यो नगर्दा मान्छेभित्र आक्रोस, छटपटी, दिक्दारी भएर जेनजी आन्दोलनमा रुपमा विस्फोट भएको उनको भनाइ थियो ।
‘हामीले त्यसलाई शिक्षाको रुपमा लिनुपर्नेछ किनभने भोलि दिनमा गएर यस्तो नहोस्,’ उनले भनिन् । स्वास्थ्य संस्थाका अन्डरलाइन कजहरुलाई हटाउनुपर्नेमा उनको जोड थियो । ‘हाम्रो स्वास्थ्य संस्थामा कहिलेकाही केही न केही घटना भइरहेको देख्छौं । चिकित्सकहरु भगवान होइनन् उपचार गर्दा केही बिरामीको मृत्यु हुन्छ,’ डा. शर्माले भनिन्, ‘त्यो यहाँ पनि हुन्छ विकसित देशमा पनि हुन्छ ।
तर, तुलनात्मक रुपमा कहाँ बढी हुन्छ भन्ने हो । अन्डरलाइन कजलाई कम गर्नुपर्छ ।’ अहिले हक, अधिकारको सवालमा धेरै जना सचेत भएका कारण न्यायालयमा पुगेर स्वास्थ्यकर्मीलाई असहज हुने अवस्था सिर्जना भएको उनको भनाइ थियो । उनले कर्मचारीतन्त्रले क्षमताअनुसार काम नगरेको बताइन् । ‘हाम्रो कर्मचारीतन्त्र र हाम्रो पढाइ राम्रो छ ।
तर, हामीले त्यसलाई खिया लगाएछौं,’ उनले भनिन्, ‘हामी दुःख गरेर यहाँसम्म पुगेका हौ । तर, हामीले त्यस किसिमको पफर्मेन्स हामीले दिएका छौं । हामीले दिएको पुगेको छैनजस्तो लागिरहेको छ ।’
उनले कर्मचारीहरुलाई आफ्नो क्षमताको म्याक्सिमम प्रयोग गर्न सुझाव दिइन् । ‘चौमासिकको प्रगति राम्रो छ तर यो आर्थिक वर्षको चौमासिकको कति कार्यक्रम पूरा भएको छ ?,’ उनले प्रश्न गरिन् ।

प्रतिकया दिनुहोस्