स्वास्थ्यसमाचार/ बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रियस्तरमा सुरु भएको ‘स्वर्णविन्दु प्राशन’ अभियानमा सहभागिता बढ्दै गएको छ । बुटवलमा असोज २९ बाट शुरु भएको यो अभियान अन्तरगत हरेक महिनाको पुष्य नक्षत्रका दिनमै अर्को मात्रा खुवाउनु पर्ने हुन्छ । सोही अनुसार कात्तिक २५ गते बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयमा अर्को मात्रा खुवाइएको छ । असोजको तुलनामा कात्तिकमा बालबालिकाको सहभागिता अत्याधिक धेरै रहेको छ ।
चिकित्सालयका सूचना अधिकारी वरिष्ठ कविराज गणेशप्रसाद सापकोटाका अनुसार असोजमा ३ सय ७० जना सहभागि भएकोमा कात्तिकमा ७ सय ८५ जना सहभागि भए । बुधवार बुटवल भन्दा बाहिरबाट पनि बालबालिकालाई ल्याइएको थियो । रुपन्देही, नवलपरासी जिल्लाका समेत बालबालिकालाई सहभागि गराइएको चिकित्सालयका वैद्य समेत रहेका योग अभियान्ता विष्णुहरी आचार्यले बताए । यसको महत्वबारे जानाकारी बढ्दै गएपछि सहभागिता बढ्दै गएको उनको भनाइ छ ।
लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा. कलावती विश्वकर्माले नेपाल सरकारले २५ वटा जिल्लामा यो अभियान शुरु गरेसगै लुम्बिनीका १२ वटै जिल्लामा लागु भएको भन्दै बुटवलमा सहभागिता बढ्दो रहेको बताउछिन् । लुम्बिनीका सबै जिल्लामा लागु अभियान सबैमा कार्यान्वयनमा गएपछि बाहिरी जिल्लाका बुटवलमा आउनुपर्ने समस्या हट्ने विश्वास ब्यक्त गर्दै उनले मंगलबारको सहभागिता निकै उत्साहजनक रहेको बताइन् ।
यो अभियान अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई यो थोपा खुवाइने गरिन्छ ।‘स्वर्ण प्राशन’ कम्तीमा ३० मात्रा खुवाउँदा हुन्छ । आयुर्वेद शास्त्रअनुसार बिहानको समयमा खाली पेटमा स्वर्णविन्दु प्राशन खुवाउनु उपयुक्त हुने आयुर्वेद चिकित्सकहरूको भनाइ छ ।








प्रतिकया दिनुहोस्