स्वास्थ्यसमाचार/ बुटवलमा बुधबारदेखि एक महिने स्वस्थ मुख महाअभियान सुरु हुने भएको छ । यो अभियान आधुनिक समाज विकास फाउण्डेशनको आयोजनामा, आधुनिक समाज डेन्टल केयर प्रालिको प्राविधिक सहयोगमा तथा लायन्स क्लब अफ रुपन्देही, रोटरी क्लब अफ लुम्बिनी स्टार्स, दारी ग्याङ लगायत क्लबहरूको सहकार्यमा सञ्चालन हुने भएको हो ।
मंगलबार बुटवलमा पत्रकार सम्मेलनमार्फत फाउण्डेशनका अध्यक्ष तथा अभियानकर्ता अमृत भुषालले सामाजिक उत्तरदायित्वअन्तर्गत यो अभियान थाल्न लागिएको जानकारी दिए । उनका अनुसार रुपन्देहीका १६ पालिकाभित्रका संघ–संस्थाका अगुवाहरुलाई दैनिक रुपमा मुख स्वास्थ्यबारे प्रशिक्षण दिइनेछ, जसलाई उनीहरूले आफ्नै समुदायमा पु–याउने जिम्मेवारी लिनेछन् ।
‘हामीले एक महिनामा करिब २० हजार जनालाई शिक्षा दिने लक्ष्य लिएका छौं,’ भुषालले भने, ‘राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, लेखक, शिक्षक, बुद्धिजीवी, व्यवसायिक संघ–संस्था, सञ्चारकर्मी, युवा क्लब लगायत सबैको सहभागिता रहनेछ ।’ बुटवलमा गुणस्तरीय दन्त सेवा दिँदै आएको प्रालि सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएको उनले उल्लेख गरे । उनका अनुसार मुख स्वास्थ्यको कारण शरीरमा लाग्ने ५० प्रतिशत रोगलाई न्युनिकरण गर्न सकिन्छ ।
अघिल्लो वर्ष मात्रै संस्थाले ५०० निःशुल्क शिविर सञ्चालन गरेको र रोटरी स्टार्ससँगको सहकार्यमा एक वर्षमा एक लाख बालबालिकाको दाँत परीक्षण गराइएको उनले जानकारी दिए । कन्सल्टेन्ट इन्डोडोन्टिस्ट डा. सुनिल खरेलका अनुसार अभियानको उद्घाटन पुष्पलाल पार्कमा हुने र त्यहाँबाट ¥याली सम्पन्न गरी सोही स्थानमा १० चिकित्सकसहित निःशुल्क मुख परीक्षण तथा प्रशिक्षण सञ्चालन गरिनेछ । प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तीन दन्त चिकित्सक र प्राविधिक टिमसहित निःशुल्क सेवा दिइने कार्यक्रम रहेको उनले बताए ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपालका गभर्नर बालाराम भट्टराईले यो वर्ष स्वास्थ्य सेवासँग सम्बन्धित सबैभन्दा महत्त्वपूर्ण अभियान हुने बताए । उनले सडक दुर्घटना न्यूनीकरणका लागि २०० ट्राफिक सचेतना बोर्ड वितरण गर्ने र मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।
त्यस्तै, रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का गभर्नर विनोद कोइराला, लायन्स क्लब अफ रुपन्देहीका अध्यक्ष घनश्याम घिमिरे, रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष यादव भण्डारी र क्लबका अध्यक्ष विमल ढकालले सामाजिक हितका अभियानमा सबै सरोकारवाला एक भएर लाग्दा प्रभावकारी परिणाम आउने धारणा व्यक्त गरे ।
प्रतिकया दिनुहोस्