६ महिना देखि ५ वर्षका बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’खुवाइँदै

स्वर्णप्राशन निर्देशिका तयार, विभागले छुट्यायो १ करोड रुपैयाँ

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वर्णप्राशन निर्देशिका स्वीकृत गरेको छ । मन्त्रालयले भदौ १ गते मन्त्रीस्तर निर्णय गर्दै स्वर्णप्राशन निर्देशिका स्वीकृत गरेको हो । आयुर्वेदको ग्रन्थ एवं शास्त्रीय प्रचलनमा रहेको स्वर्णप्राशन कार्यक्रमलाई थप व्यवस्थितरूपमा सञ्चालन गर्ने निर्देशिका स्वीकृत गरेको मन्त्रालयले जनाएको छ ।

आयुर्वेद चिकित्सा विज्ञानको बालबालिकाको स्वास्थ्य संरक्षण, प्रवर्धन उपचार पुनर्स्थापना सम्बन्धी ग्रन्थ कौमारभृत्य (आयुर्वेद शिशुचिकित्सक )को मूल ग्रन्थ काश्यप संहितामा बालबालिकाको सर्वाङ्गिण विकासका लागि स्वर्णविन्दु प्राशनको वर्णन गरिएको छ। स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर लेहमा परिणत गरी थोपा अंशको रूपमा सेवन गराइने विधिलाई स्वर्णविन्दु प्राशन भनिन्छ।

बालबालिकाको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णविन्दु प्राशनको महत्त्वपूर्ण भूमिका छ। यस निर्देशिकाको मुख्य उद्देश्य स्वर्णप्राशनको सुरक्षित, सरसफाइयुक्त र प्रभावकारी रूपमा यसको सेवन सुनिश्चित, पारम्परिक आयुर्वेदिक पद्धतिलाई आधुनिक सुरक्षा र गुणस्तर मापदण्ड अनुसार संरक्षण गर्नु रहेको छ ।

स्वर्णविन्दु प्राशनबाट बाल स्वास्थ्य सम्वर्धनका साथै मातृशिशु स्वास्थ्य सम्वर्धनका कार्यक्रम सञ्चालन गर्नु रहेको छ । नेपालभरका २१ आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेदिक अस्पताल, तथा आयुर्वेद शिक्षण अस्पतालमा प्रयोगका लागि मार्गदर्शन प्रदान गर्ने रहेको छ । यस स्वर्णविन्दु प्राशन प्रत्येक महिनामा पुष्या नक्षत्रको दिन उल्लिखित स्वास्थ्य संस्थामा आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा तोकिए बमोजिमको मात्रामा खुवाइने छ।

यस कार्यक्रमबाट ६ महिनादेखि ५ वर्षसम्म वर्ष सम्मका बालबालिका लाभान्वित हुने छन्। यस कार्यक्रममा ज्वरो, अजीर्ण, झाडा पखाला, आउँ, रुघा खोकी सर्दी मर्की भएका बालबालिकालाई सहभागी गराइने छैन।

यस स्वर्णविन्दु प्राशन कार्यक्रमबाट बालबालिकाको समग्र स्वास्थ्य संरक्षण र प्रवर्धन भई रोग प्रतिरोधात्मक क्षमता बढ्ने अपेक्षाका साथ यस वर्षबाट राष्ट्रिय कार्यक्रमको रूपमा सञ्चालन गरिने छ । आगामी वर्षमा क्रमिक रूपमा आयुर्वेद स्वास्थ्य संस्था रहेका सबै स्थानीय तहमा विस्तार गरिने छ।

पहिलो चरणमा लागु हुने केन्द्रहरु

(क)    प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङ

(ख)    त्रि वि आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुर

(ग)     आयुर्वेद चिकित्सालय नरदेवी

(घ)    राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ

(ङ)    प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढी, सुदुरपश्चिम प्रदेश

(च)    प्रादेशिक आयुर्वेद चिकित्सालय, लखनपुर, झापा, कोशी प्रदेश

(छ)    प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,पर्सा, मधेश प्रदेश

(ज)    प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,धनुषा, मधेश प्रदेश

(झ)    प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,सर्लाही,  मधेश प्रदेश

(ञ)   आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौं, वागमति प्रदेश

(ट)    आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुर, वागमति प्रदेश

(ठ)    आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भक्तपुर, वागमति प्रदेश

(ड)    आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन वागमति प्रदेश

(ढ)    आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट, वागमति प्रदेश

(ण)    आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुर,  वागमति प्रदेश

(त)    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मोरंग, कोशी प्रदेश

(थ)    गण्डकी आयुर्वेद अस्पताल, पोखरा, गण्डकी प्रदेश

(द)    धौलागिरि आयुर्वेद अस्पताल, बागलुंग, गण्डकी प्रदेश

(ध)    प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तनहुँ, गण्डकी प्रदेश

(न)    लुम्बिनि आयुर्वेद चिकित्सालय, बुटवल, लुम्बिनी प्रदेश

(ऩ)    राप्ती आयुर्वेद चिकित्सालय, दांग, लुम्बिनी प्रदेश

(प)    बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्, गुलरिया, लुम्बिनी प्रदेश

(फ)    प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेत , कर्णाली प्रदेश

(ब)    आयुर्वेद स्वास्थ्य केन्द्र, दैलेख, कर्णाली प्रदेश

(भ)    आयुर्वेद स्वास्थ्य केन्द्र, जुम्ला, कर्णाली प्रदेश

सम्बन्धित शिर्षक :