लुम्बिनी प्रादेशिक अस्पतालमा विश्व स्तनपान सप्ताह २०२५ मनाइयो

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा विश्व स्तनपान सप्ताह २०२५ विविध कार्यक्रमका साथ मनाइएको छ। “स्तनपानलाई प्राथमिकता दिऔं, सहयोगी वातावरण निर्माण गरौं” भन्ने मूल नाराका साथ एम.सि.एच. क्लिनिकमा आयोजित जनचेतना कार्यक्रममा आमाहरूलाई स्तनपानको महत्वबारे जानकारी गराइएको छ।

कार्यक्रममा बोल्दै अस्पतालकी मेट्रोन नेहा थापाले स्तनपानलाई स्थापित, प्रोत्साहित र सुदृढ बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले आमाहरूलाई नवजात शिशुलाई समयमै स्तनपान गराउन आग्रह गर्दै यसले मातृ–शिशु स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।उहाले “स्तनपान शिशुको पहिलो  जीवनरक्षक अमृत हो यसलाई प्राथमिकता दिँदा मात्र मातृ–शिशु स्वास्थ्य सुदृढ बनाउन सकिन्छ।”

सो अवसरमा नर्सिङ अधिकृत माधुरी ज्ञवाली, रचना कार्की, मञ्जु न्यौपाने र कमला ज्ञवालीले स्तनपानको महत्व, सही विधि, आसन र प्रोत्साहन गर्ने तरिकाबारे जानकारी प्रदान गर्नुभयो। कार्यक्रममा सहभागी बिरामी र कुरुवाबाट आएका जिज्ञासाहरूको समाधान विशेषज्ञ चिकित्सक डा केबिना श्रैष्ठले जानकारी गराउनु भयो ।

सप्ताहभर (अगस्ट १ देखि ७) अस्पतालका सम्बन्धित विभागमा स्तनपानसम्बन्धी जनचेतना र प्रदर्शन कार्यक्रम सञ्चालन हुने मेट्रोन नेहा थापाले जानकारी दिनुभयो।

स्तनपानका फाइदाहरू
१. शिशुका लागि फाइदा

पूर्ण पोषणको स्रोत – जन्मपश्चात् पहिलो ६ महिना शिशुलाई आवश्यक सबै पोषक तत्व आमा–दूधमै पाइन्छ।

प्रतिरोधात्मक क्षमता वृद्धि – आमा–दूधमा रहेका एन्टिबडीहरूले शिशुलाई निमोनिया, झाडापखाला, कानको संक्रमणजस्ता रोगबाट जोगाउँछन्।

मस्तिष्क र शारीरिक विकास – आमा–दूधमा पाइने डीएचए र आवश्यक फ्याटी एसिडहरूले दिमाग र स्नायुको विकासमा मद्दत गर्छ।

अकस्मात शिशु मृत्यु दर (SIDS) घटाउँछ – स्तनपान गराइएका शिशुमा अचानक मृत्युको जोखिम कम हुन्छ।

दीर्घकालीन रोगबाट जोगाउँछ – भविष्यमा मधुमेह, मोटोपना र हृदय रोगको जोखिम कम हुन्छ।

२. आमाका लागि फाइदा
प्रसूति पछिको रक्तस्राव कम गर्छ – बच्चा जन्मिएलगत्तै स्तनपान गराउँदा गर्भाशय छिटो संकुचित भई रक्तस्राव घट्छ।

गर्भनिरोधक प्रभाव – नियमित र पूर्ण स्तनपानले केही समयसम्म प्राकृतिक गर्भनिरोधकको काम गर्छ।

स्तन र अण्डाशय क्यान्सरको जोखिम कम गर्छ

आर्थिक र भावनात्मक फाइदा – स्तनपान गर्दा बच्चासँगको भावनात्मक सम्बन्ध बलियो हुन्छ र महँगो दूधको खर्च बचत हुन्छ।

३. समाज र परिवारका लागि फाइदा
आर्थिक बचत – कृत्रिम दूध वा बोतल खुवाउनुपर्ने खर्च घट्छ।

स्वास्थ्य सेवा खर्च घट्छ – स्तनपान पाएका शिशुहरू कम बिरामी पर्छन्, जसले अस्पताल र औषधिको खर्च कम गर्छ।

पर्यावरणमैत्री – बोतल, डिब्बा, प्लास्टिक र दूध उत्पादनका लागि अतिरिक्त स्रोत आवश्यक पर्दैन।

सम्बन्धित शिर्षक :