अर्घाखाँची पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

स्वास्थ्यसमाचार /अर्घाखाँची जिल्लालाई पूर्ण खोपसुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । शुक्रबार आयोजित विशेष समारोहमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर शारुले अर्घाखाँचीलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरे ।

स्वास्थ्य मन्त्रालयको राष्ट्रिय खोप कार्यक्रमअनुसार जन्मेदेखि ५९ महिनासम्मका बालबालिकाहरूलाई आवश्यक १३ प्रकारका खोपहरूको सम्पूर्ण मात्रा दिइएको पुष्टि भएपछि जिल्लाभरिका ६ वटै पालिकालाई पूर्ण खोपको दिगोपनासहित घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा बोल्दै मन्त्री शारुले कुनै पनि बालबालिका खोप पाउने अधिकारबाट बञ्चित हुनु हुँदैन भन्दै स्वस्थ नागरिक नै नेपालको सम्पत्ति हुन् भन्ने धारणा व्यक्त गरे । उनले नेपाल सरकारको खोप अभियानपछि बाल मृत्युदरमा ७५ प्रतिशतले कमी आएको उल्लेख गरे ।

स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोख्रेलका अनुसार जिल्लाका बालबालिकाले पोलियो, दादुरा, हेपाटाइटिस, जापानी इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायतका रोगविरुद्धको खोप पूर्ण रूपमा पाएका छन् । प्रत्येक वर्ष चैतमा ‘घरभेट सर्वेक्षण’ गरी खोप छुटेका बालबालिकालाई वैशाखमा खोप दिने कार्यक्रम सञ्चालन गरिन्छ ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय प्रमुख जीवनारायण कोईरालाले कार्यक्रमको अध्यक्षता गरेका थिए । कार्यक्रममा प्रदेश सांसद रामजीप्रसाद घिमिरेले जिल्लालाई पूर्ण खोप सुनिश्चित बनाउन योगदान पु¥याउने सबैलाई धन्यवाद तथा शुभकामना व्यक्त गरे ।

सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउनेतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराए ।कार्यक्रमको सञ्चालन बसन्त श्रेष्ठ र स्वागत मन्तव्य स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद पोख्रेलले राखेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल, प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्ल, जिल्ला अस्पताल प्रमुख डा. जगन्नाथ तिवारी, साथै विभिन्न पालिका प्रमुख, उपप्रमुख, राजनीतिक दलका नेता, कार्यालय प्रमुख र स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक :