स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न नगर प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभएको छ ।
पालिकास्तरीय ०७८/०७९ को पोषण समीक्षा तथा कार्ययोजना कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य सुविधाका क्षेत्रमा अगुवा शहर बनाउने गरी काम गर्न निर्देशन दिनुभयो ।
उहाँले बुटवलमा कसैले पनि स्वास्थ्य उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना नहुने गरी कार्ययोजना बनाउने र त्यसैअनुसारले जनशक्ति परिचालन गर्न जोड दिइने बताउनुभयो ।
‘हामीले बुटवलभित्रका बासिन्दाले उपचार अभाव भयो, औषधि अभाव भयो र समयमा उपचार गर्न पाइएन भन्ने अवस्था सिर्जना गर्नुहुन्न, उहाँले भन्नुभयो–अहिले हामीसँग उपलब्ध श्रोत साधन र जनशक्तिको भरपूर उपयोग गरेर सेवाप्रवाह गरौं, आगामी दिनमा हाम्रा स्वास्थ्य केन्द्रहरुको स्तर वृद्धि हुनेछ र थप अस्पतालहरु बन्नेछन्, यसले बुटवललाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउनेछ ।’
उहाँले बुटवलमा विशिष्टीकृत अस्पताल स्थापनाका लागि संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्य भइरहेको बताउँदै छिटै नै बुटवल स्वास्थ्य सुविधाका क्षेत्रमा अगुवा शहर बन्ने बताउनुभयो ।
नगर प्रमुख पाण्डेयले मातृस्वास्थ्य र शिशुस्वास्थ्यमा विशेष चासो दिन र उपचारमा विशेष प्राथमिकता दिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो । गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य बीमाको कार्यक्रमबारे विज्ञहरुसँग परामर्श भइरहेको र छिटै नै प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यमा पोषणको महत्वपूर्ण भूमिका रहने भएकाले यो कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले बुटवलमा स्वास्थ्य उपचार प्रभावकारी बनाउनका लागि क्रियाशील हुनका लागि स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले स्वास्थ्य सुविधा प्रदानका लागि स्वास्थ्यकर्मीहरु प्रतिबद्ध रहेको बताउनुभयो पालिका स्तरीय ०७८/०७९ को पोषण समीक्षा तथा कार्ययोजना कार्यक्रममा हालसम्मको प्रगति र आगामी कार्ययोजनाबारे छलफल हुने शिक्षा तथा जनस्वास्थ्य महाशाखाकी कमला भुसालले जानकारी दिनुभयो ।
प्रतिकया दिनुहोस्