हाम्रा घर, गाउँ, छिमेक, कार्य क्षेत्रमा आफन्त, छिमेकीहरु, साथीभाइहरु, विद्यार्थीहरु डेंगु भएर उपचार गराइरहनुभएको र आराम गरिरहनुभएको अनि उहाँहरुको डेंगु ज्वरोबाट प्रभावित हुँदाका अनुभव पनि सुनिरहेका छौं । सन् २००४ मा नेपालमा डेंगुको पहिलो रिपोर्ट आएदेखि सन् २०१९ सम्म ६८ जिल्लामा कुल १७ हजार ९९२ डेंगुका बिरामीको रिपोर्ट भएको छ । सन् २०१८ मा डेंगुका बिरामी झन्डै पाँच गुणा बढेको थियो । सन् २०१९ मा यो संख्या १४० गुणा बढी थियो । अहिले काठमाडौं उपत्यकामा डेंगुको संक्रमण बढ्दो छ ।
सरकारले डेंगु ज्वरोबाट चितवन, कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, पर्सा, रुपन्देही, रौतहट, सर्लाही, सप्तरी र झापा जिल्लालाई उच्च जोखिममा लिए तापनि केही वर्षदेखि मध्य पहाड र त्यस बाहिर फैलिने क्रम बढेको छ । जलवायु परिवर्तन र हिमाली क्षेत्रमा बढ्दो तापक्रमका कारण लामखुट्टेको वृद्धिदर बढ्दो छ । पृथ्वीको बढ्दो तापक्रम, अनियन्त्रित शहरीकरण, बढ्दो यातायात र लामखुट्टे नियन्त्रण प्रभावकारी हुन नसक्दा डेंगु समतल र पहाडी क्षेत्रहरूमा फैलिएको हुनसक्छ ।
त्यसैले दिनप्रतिदिन डेंगु ज्वरोका कारण बिरामी हुने दर पनि बढ्दो छ । तसर्थ सरकारले सम्भावित प्रकोपको बारेमा छिटो छरितो सतर्कता अपनाएर र डेंगुको रिपोर्टिङ गर्ने प्रणालीको विकास गरेको छ । तथापि डेंगुको प्रकोपलाई रोक्न सरकार र स्वास्थ्य क्षेत्रको सक्रियता पर्याप्त भने हुन सकेको छैन । भविष्यमा डेंगुको महामारीलाई कम गर्न निदान र स्रोतहरूको उपलब्धता बढाउन तत्काल उपायहरू अपनाउन र जनचेतना फैलाउन पनि आवश्यक छ । तसर्थ यस लेखमार्फ जनचेतना अभिवृद्धि गर्ने जमर्काे गरिएको छ ।
डेंगु ज्वरो ‘आर्बाेभाइरस’ को कारणले हुन्छ । जुन भाइरस पोथी एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टेबाट सर्ने गर्दछ । डेंगु संक्रमित व्यक्तिलाई टोक्दा एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टे पनि डेंगु भाइरसबाट संक्रमित हुन्छ । यस लामखुट्टे वर्षाको मौसममा वृद्धि हुन्छ । तर, पानीले भरिएको फूलको भाँडो, प्लाष्टिकको झोला र क्यानमा वर्षैभरि वृद्धि भइरहन्छ । संक्रमित लामखुट्टेको टोकाइले रोग लाग्नसक्छ । तर, डेंगु ज्वरो सीधै एक व्यक्तिबाट अर्काेमा सर्दैन । डेंगु ज्वरोको कारक भाइरसलाई मध्यवर्ती भेक्टरको रुपमा लामखुट्टले एक व्यक्तिबाट अर्को व्यक्तिमा लैजान्छ ।
मानिसहरूमा डेंगु भाइरसका चार मुख्य सेरोटाइपहरूमा डेन भी- १, डेन भी- २, डेन भी- ३ र डेन भी- ४ हुन्छन् । यीमध्ये कुनै पनि सेरोटाइपको संक्रमणले मानिसहरूमा आजीवन प्रतिरक्षा प्रदान गर्दछ । मनसुनपछिको समयलाई डेंगु भाइरसको उच्च प्रभावित सिजन मानिए पनि नेपालमा प्रि-मनसुन, मनसुन र मनसुनपछिको सिजनमा डेंगु ज्वरोको प्रकोप देखिएको छ ।
डेंगुका लक्षण
डेंगु ज्वरोका लक्षणहरुमा ज्वरो अत्यधिक आउने, शरीर काम्ने, टाउको दुख्ने, आँखा दुख्ने र रातो हुने, अनुहार रातो देखिने, तल्लो ढाड दुख्ने, अत्यधिक कमजोरी महसुस हुने, र खुट्टा तथा जोर्नीहरूमा गहिरो दुखाइ अनुभूति हुने हुन्छ । साथै पेट, छाती र ढाडमा स-साना राता दानाहरु देखिन्छन् । तथापि डेंगु ज्वरोका एकदमै देखिने तीनवटा लक्षणमा ज्वरो, टाउको दुख्ने र शरीरमा राता दानाहरु देखिने हुन् । यी लक्षण देखिए तुरुन्त अस्पतालमा गएर डाक्टरको सल्लाहअनुसार रगत, पिसाब अनि र डेंगुको जाँच गराउनुपर्छ ।
जाँचपश्चात कुनै अरु समस्या छैन भने घरमै बसेर उपचार गराउन सकिन्छ । ज्वरो आउने र टाउको दुख्ने, खोकी लाग्ने, शरीरमा स-साना बैजनी रङका दाना, ठूला निला डाम, पेट दुख्ने, कफी रङको वान्ता हुनुन डेंगुको अत्यन्तै गम्भीर प्रकृतिका लक्षणहरु हुन् । यस्तो अवस्थामा तुरुन्तै आफ्नो नजिकको अस्पातल जानुपर्छ ।
डेंगु ज्वरो भाइरसबाट लाग्ने भएकाले यसको उपचारको लागि कुनै खास औषधि वा एन्टिबायोटिक छैन । डेंगु ज्वरो कुनै विशिष्ट उपचारविनै आफैं निको हुन्छ । तर पनि सामान्य डेंगुको लागि, लक्षणअनुसारको उपचार गर्न सकिन्छ । जस्तैः ज्वरो आएमा, धेरै टाउको, जोर्नी र मांसपेशी दुःखेमा डाक्टरको सल्लाहअनुसार सिटामोल र कोडिन चक्की खान सकिन्छ । ज्वरोका कारणबाट हुने जलवियोजनबाट शरीरलाई बचाउन शरीरका लागि आवश्यक पर्याप्त मात्रामा तरल पदार्थको सेवन गर्नुपर्दछ र आराम गर्नुपर्दछ ।
रोकथाम
डेंगुको रोकथाम गर्न रोग निम्त्याउने भाइरस बोक्ने लामखुट्टेको नियन्त्रण वा उन्मूलन आवश्यक हुन्छ । लामखुट्टेको टोकाइबाट बच्न लामो पाइन्ट र लामो बाहुला भएको लुगा लगाउनुपर्छ । व्यक्तिगत सुरक्षाको लागि डेंगुको महामारी भएको ठाउँमा जाँदा लामखुट्टे निरोधक स्प्रेहरू प्रयोग गर्नुपर्छ । झूलको प्रयोग गरेर सुत्ने बनी बसाल्नुपर्छ ।
लामखुट्टेको वृद्धि कम गर्न घर वरिपरि भएका खाल्डाहरु पुर्ने र पानी जम्न दिनु हुँदैन । पानी जम्ने पोखरी तथा खाल्डाहरुमा कीटनाशक विषादी प्रयोग गर्नुपर्छ । लामखुट्टे भगाउने गुण भएका लेमनग्रास वा तुलसी भाँडोमा पनि रोप्न सकिन्छ । यदि बगैंचा छ भने नीमको रुख रोप्न सकिन्छ । सुकेका नीमका पातहरू जलाएर, आफ्नो वरपरको लामखुट्टेलाई भगाउन सकिन्छ ।
विशेषगरी शहरी क्षेत्रमा प्रायः घर वा अन्य स्थानमा लुकेका लामखुट्टेहरुले कुनै पनि समयमा टोक्नसक्छ । पोथी एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टे विशेष गरेर सूर्योदय र सूर्यास्तको वरिपरि धेरै सक्रिय हुन्छ । त्यसैले लामखुट्टेको टोकाइबाट बच्न सूर्योदय र सूर्यास्तअघि दुई घण्टा घरबाट बाहिर नजाँदा लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।
घरेलु विधिबाट पनि डेंगुको उपचारमा सहयोग पुग्छ । केही विधि निम्न छन्ः
१) मेवाको हरियो पातको रसले रगतमा प्लेटलेटको संख्या बढाउनुका साथै प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । यसले डेंगुको उपचारमा पनि मद्दत गर्छ । मेवाको पातको रस दुई चम्चा दिनमा तीन पटक ६ घण्टाको अन्तरालमा सेवन गर्नु उपयुक्त हुन्छ ।
२) अम्बाको रसमा धेरै पोषक तत्वहरू हुन्छन् । भिटामिन सी प्रशस्त मात्रामा पाइने हुँदा रोग प्रतिरोधात्मक क्षमता बढाउन यसले मद्दत गर्छ । एक कप अम्बाको ताजा रस दिनमा दुई पटक पिउने वा ताजा अम्बा पनि खान सकिन्छ ।
३) मेथीको दानामा पनि धेरै पोषक तत्व जस्तै भिटामिन सी, के र फाइबर प्रशस्त पाइन्छ । एक कप तातोपानीमा मेथीको दाना भिजाइ पानी चिसो बनाएर दिनमा दुई पटक पिउँदा डेंगु ज्वरोलाई नियन्त्रण गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ ।
४) आहारमा रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरू जस्तैः सुन्तला, कागती, अमला, अनार, फर्सी, तीते करेला, लसुन, बदाम, बेसार, दालचिनी, तेजपत्ता, अदुवाको धूलो आदिको सेवन गर्न सकिन्छ ।
५) पानी उमालेर त्यसमा नीमका पातहरू केही बेर डुबाएर पिउनाले रगतमा प्लेटलेट, सेतो रक्तकोषको संख्या बढ्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढ्छ र शरीरलाई बलियो बनाउँछ ।
६) किवीको फलमा धेरै खनिज र पोषक तत्वहरू हुने हुँदा डेंगु ज्वरोका कारण अनुभव गरिएका थकान र कमजोरी हटाउन नियमित रूपमा किवीको जुस पिउन सकिन्छ ।
७) तुलसी र मरिच दुइटैमा एन्टिअक्सिडेन्ट हुन्छ । जसले शरीरका कोषहरु क्षति हुनबाट बचाउँछ । तुलसी र मरिचको थोरै मात्रामा नियमित रूपमा सेवन गर्नाले डेंगु भाइरसलाई हटाउन मद्दत गर्छ ।
८) चुकन्दरमा फलामको मात्रा अत्यधिक हुने हुँदा रक्त कोशिकाको उत्पादन बढाउनु र रगतलाई शुद्ध गर्न ठूलो भूमिका खेल्ने हुँदा डेंगु संक्रमणका लक्षणहरू जस्तै थकान र दुखाइविरुद्ध लड्न मद्दत गर्छ । चुकन्दर र कागतीको रस सेवन गर्नाले शरीरमा आइरनको अवशोषण पनि बढाउँछ ।
(लेखक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र ललितपुर नर्सिङ क्याम्पस-स्कूल अफ नर्सिङ एन्ड मिडवाइफरीकी सहायक प्राध्यापक हुन् ।नेपाल प्रेसबाट साभार)
प्रतिकया दिनुहोस्