फोहोर संकटमा सिद्धार्थनगर , स्वास्थ्य र पर्यटन जोखिममा :डा. थापा

स्वास्थ्यसमाचार/ बुद्धको जन्मभूमि लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर विगत तीन महिनादेखि फोहोर व्यवस्थापनको गम्भीर संकटबाट गुज्रिरहेको छ। मनसुन सुरु भएसँगै सहरको फोहोर व्यवस्थापन नहुँदा स्थानीय बासिन्दा मात्र होइन, पर्यटकसमेत दुर्गन्ध र सरुवा रोगको जोखिममा परेका छन्।

प्रतिनिधि सभामा बिहीबार यस विषयलाई गम्भीरतापूर्वक उठाउँदै रुपन्देही क्षेत्र नं ३ का सांसद डा. लेखजंग थापाले फोहोरको समस्या अब केवल स्थानीय सरोकारको विषय नरहेको बताउनुभयो। ‘बुद्धको सन्देश विश्वभर फैलाउने हाम्रो देशको प्रवेशद्वारमा फोहोरको डंगुर र दुर्गन्ध फैलिनु सिंगो राष्ट्रका लागि लज्जाको विषय हो,’ उहाँले भन्नुभयो, ‘जनस्वास्थ्य, पर्यटन र नेपालको अन्तर्राष्ट्रिय छविमा यसले नकारात्मक असर पारिरहेको छ।’

डेंगु, झाडापखाला र टाइफाइडजस्ता सरुवा रोगको जोखिम उच्च रहेको उल्लेख गर्दै सांसद थापाले समस्याको दीर्घकालीन र दिगो समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो। ‘समस्या पुरानो हुन सक्छ, तर समाधान खोज्ने जिम्मेवारी वर्तमानको हो,’ थापाले भन्नुभयो, ‘जनताको स्वास्थ्यसँग खेलबाड गर्न मिल्दैन, अब बहाना होइन समाधान चाहिएको छ।’

सिद्धार्थनगर नगरपालिकाले फोहोर व्यवस्थापनको प्रयास गरे पनि हालसम्म कुनै दिगो निकास निस्कन नसक्दा सहरका चोक-चोक र सडकमा फोहोर थुप्रिएको छ। स्थानीय निकाय र संघीय सरकारबीच समन्वयको अभावमा तीन महिनादेखि समस्या बल्झिँदै गएको छ।

सम्बन्धित शिर्षक :