लुम्बिनी प्रदेशका ९ अस्पतालमा ६० वर्ष माथिका नागरिकलाई उपचारमा ५० प्रतिशत छुट

स्वास्थ्यसमाचार/ संघिय सरकारले लुम्बिनी प्रदेशका ६ वटा थप अस्पतालहरुमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा विस्तार हुने भएको छ । ज्येष्ठ ‘नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७७’ अनुसार लुम्बिनी प्रदेशमा थप ६ बटा अस्पतालमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा विस्तार हुन लागेको हो।

यो सँगै लुम्बिनी प्रदेशमा ज्येष्ठ नागरिक निःशुल्क एवं सहुलियतपूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालहरुको संख्या ९ पुग्नेछ। यसअघि २०७०÷७१ देखि लुम्बिनी प्रदेशका ६ वटा अस्पतालहरुले यो सेवा सञ्चालन गर्दै आएको थियो।

यी अस्पतालमा ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई निश्चित स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट दिनुपर्नेछ। ७० देखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा ७५ प्रतिशत, ८० देखि ८४ वर्षसम्मकाले शतप्रतिशत छुट दिनुपर्नेछ। ८५ वर्षभन्दा माथिकालाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवाहरु निशुल्क हुने व्यवस्था छ।

तर अस्पतालले उपलब्ध गराएको वार्ड वा बेडको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गरे सरकारले दिएको यी कुनै पनि सुविधा लागू हुने छैन।
अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवालाई ज्येष्ठ नागरिक मैत्री बनाउन आकस्मिक, बहिरङ्ग र अन्तरङ्गसेवा प्रयोग गर्न सहज हुने गरी आवश्यक भौतिक पूर्वाधारको निर्माण गरिएको हुनुपर्ने निर्देशिकाले व्यवस्था गरेको छ।

आर्थिक वर्ष २०७८/७९ देखि सेवा विस्तार हुने अस्पतालहरुको लुम्बिनी प्रदेशमा सेवा सुरु गर्ने अस्पतालहरुको सूचीमा पृथ्वीचन्द्र अस्पताल नवलपरासी, गुलेरिया अस्पताल, प्युठान अस्पताल, पाल्पा अस्पताल, रोल्पा अस्पताल र तुलसीपुर अस्पताल छन्। यसअघि लुम्बिनी प्रदेशमा भेरी अस्पताल, लुम्बिनी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानले यो सेवा सुरु गरिसकेका छन्।

 

सम्बन्धित शिर्षक :