बुटवलका मेयर स्वास्थ्यकर्मी लिएर ६ हजार संक्रमितका घर–घरमा पुगे

स्वास्थ्यसमाचार/ जनप्रतिनिधि सेवक र स्थानीय पालिकालाई सेवाकेन्द्रका रुपमा लिएका बुटवलका मेयर शिवराज सुवेदी स्वास्थ्यकर्मी र आयुर्वेद बोकेर संक्रमितको घरदैलोमा पुगेका छन् ।

कोभिडको संक्रमणमा परेर बुटवलमा आइसोलेशनमा बसेका नागरिकलाई घरघरमै पुगेर आयुर्वेद ओखती प्रदान गर्ने र उनीहरुको मनोबल बढाउने काम भइरहेको छ । बुटवल उपमहानगरले महामारीका दुबै लहरमा नमुना काम गरेको छ र त्यसको समग्र नेतृत्व मेयर सुवेदीले गरेका छन् ।

‘महामारीलाई जित्ने पहिलो र प्रभावकारी उपाय भनेकै स्वयमको उच्च मनोबल हो रहेछ, यसैलाई कसरी बढाउन सकिन्छ भनेर घरदैलोमै पुगेर ढाड्स दिने काम सुरु गरिएको हो’ प्रमुख सुवेदीको भनाइ छ ।

बुटवल ११ का वडाअध्यक्ष रामचन्द्र खनाल, सदस्य सुश्मा अर्यालसहित स्वास्थ्य कर्मीलाई लिएर शुक्रबार बिहान देवीनगरको चौराली टोलमा घरमै आइसोलेशन बसेका संक्रमितलाई भेट्दै प्रमुख सुवेदीले मनोबल उच्च राख्न आग्रह गरे । कुनै पनि स्वास्थ्य समस्या उत्पन्न भएमा तत्कालै सम्पर्क गर्न भन्दै उनले स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकसमेतको फोन नम्बर लेखिएको पत्र दिए ।

घरदैलो अभियानमा रहेका प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी र उनीहरुलाई सघाउने स्वास्थ्यकर्मी, वडाका जनप्रतिनिधि, कर्मचारी तथा बुटवलका सामाजिक संघसंस्था र निजी क्षेत्रसमेत छन् । संक्रमितको घरदैलोमै पुगेर आयुर्वेद ओखती वितरण गर्ने, मनोबल बढाउन स्वास्थ्यलाभको कामना गर्ने काम मुलुकमै नमुना काम भएको भन्दै यहाँका सामाजिक संघसंस्था र नागरिक अगुवाहरुले समेत प्रशांसा गरेका छन् ।

संक्रमित भएर घरमै आइसोलेसनमा बसेकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र उनीहरुको मनोबल उचो राख्न स्वास्थ्यकर्मी लिएर मेयर सहितको टोली घरघरमा पुगेपछि यसको अरु पालिकाले समेत अनुसरण गरेका छन् । बुटवलले महामारी नियन्त्रणका लागि सञ्चालन गरेको अभियानले संक्रमितको मनोबल बढाउने मात्रै होइन सबैतिर सकारात्मक सन्देश समेत प्रवाह गरेको पत्रकार महासंघ लुम्बिनीका पूर्व उपाध्यक्ष भरत केसीले बताए । उनले मेयर नै आफै घरदैलोमा खटेर उदाहरणीय काम गरेको पत्रकार केसीको प्रतिक्रिया छ ।

हालसम्म करिब ६ हजार जनाको घरदैलोमा पुगेर आयुर्वेद ओखती प्रदान गर्नुका साथै स्वास्थ्य अवस्थाको नियमित जानकारी लिइएको छ । समुदायमा स्वास्थ्य समस्याको पहिचान र तिनको समाधानका उपायको खोजी, बुटवल र आसपासमा काम गर्न आएका विभिन्न जिल्लाका मजदुरको अवस्थाको सोधीखोजी र उद्दारदेखि राहत वितरणलाई समेत संगसंगै सञ्चालन गरिएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

बुटवल उपमहानगरमा हालसम्म ९ हजार संक्रमित भएको तथ्यांक छ । अधिकांशले संक्रमण जितेका छन् । संक्रमित भएका, लक्षण देखिएका र कन्ट्याक ट्रेसिङमा परेकाहरूको दैनिक निःशुल्क रूपमा परीक्षण भइरहेको उपमहानगरका स्वास्थ्य शाखाबाट परीक्षणको समन्वय गरिरहेकी स्वास्थ्यकर्मी गीता पाण्डेले बताइन । आयुर्वेद चिकित्सा नेपालको पुरानो र प्रभावकारी उपचार विधि हो । यसलाई बुटवलले व्यवहारमै उतारेको छ । बुटवलमा संक्रमित भएका करिब ६ हजार जनालाई आयुर्वेद ओखती वितरण गरिएको छ ।

सात्विक भोजन, योगाभ्यास र सकारात्मक शोंच राख्न भन्दै प्रमुखको सन्देशसहित अपिललाई बुटवलका स्वास्थ्य शाखाका प्रमुख उमादेवी थापा, गीतादेवी पाण्डे, युवराज पाण्डे, कल्पना भट्टराई, बैद्य निरिक्षक यमलाल भुसालसहितका जनस्वास्थ्य अधिकृत र वडा तथा टोल स्तरबाट पनि विभिन्न ठाउँमा सञ्चार गरिएको छ ।

सावधानी र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

उपमहानगरका जनप्रतिनिधि तथा विज्ञहरूले सकारात्मक सन्देश प्रवाह गर्न र मनोबल उच्च राख्न आग्रह गरेका छन् ।

जनस्वास्थ्यको संवेदनशीलता र महामारीविरुद्धको जारी अभियानलाई प्रभावकारी बनाउन सबैले स्वनियममा बस्नुपर्ने र मापदण्ड पालना गर्न आग्रह गरिएको हो । बुटवलमा संक्रमितको घरदैलोमै पुगेर आयुर्वेद ओखती वितरण गर्ने क्रममै समुदायलाई स्वास्थ्य मापदण्ड अपनाउन र कुनै पनि प्रकारको लापरबाही नगर्न आग्रह गरिएको प्रमुख सुवेदीले बताए ।

योगा, ध्यान र आयुवेद बोकेका स्वास्थ्यकर्मीलाई जिम्मेवारी तोकेर फिल्डमा परिचालन गरिएको उनको भनाइ छ ।

सम्बन्धित शिर्षक :