सैनामैनामा ४५ आइसोलेसन बेडसहित कोरोना विशेष अस्पताल सञ्चालनमा

स्वास्थ्यसमाचार/रुपन्देहीको सैनामैना नगरपालिकामा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा आएको छ । नगरको वडा नम्बर १ वनकट्टा स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा कोभिड अस्पताल सञ्चालनमा आएको हो ।

अस्पतालमा हाल तीनवटा मोनिटरयुक्त बेड, पाँचवटा अक्सिजनयुक्त बेड र ४५ वटा आइसोलेसन बेड रहेको छ । यसैगरी एकजना विशेषज्ञ डाक्टर, एकजना हेल्थ असिस्टेन्ट, दुईजना स्टाफ नर्स, चारजना अनमी र एकजना अहेब कार्यरत छन् ।

बिहीबार अस्पतालको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य भूमिश्वर ढकालले अहिले नयाँ भेरियन्टको कोरोना भाइरस तीब्र गतिमा फैलिरहेकाले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गगे । उनले जिल्ला प्रशासनले आजदेखि लागु गरेको निषेधाज्ञाको समेत पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए । ढकालले प्रदेश सरकारले कोरोना रोकथामका लागि आवश्यक बजेट विनियोजन गरेको बताउँदै थप कार्य योजनाका लागि सर्वदलीय बैठक राखेर अघि बढिने बताए ।

नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले अस्पतालमा ३० वटा अक्सिजन सिलिण्डर, एउटा एक्सरे, तीन वटा प्यारामिटर थप भएमा ५० वटा बेडमै संक्रमितलाई सहज तरिकाले उपचार गर्न सकिने बताए ।

उनले यो सुविधा उपलब्ध भएमा नगरसँगै आसपासका पालिकाहरुमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले कोरोना रोकथामका लागि सैनामैना नगरपालिकाले जिल्लामै उत्कृष्ट कदम चालेको बताए ।

रुपन्देहीका १६ वटै पालिकाले यसको सिको गर्न जरुरी रहेको उल्लेख गर्दै कोरोनाबाट बच्नका लागि सबै सचेत हुनुपर्ने औल्याए ।सैनामैना नगरपालिकाका स्वास्थ्य संयोजक हेमराज पन्थीका का अनुसार अस्पताल उद्घाटन भएकै दिन एकजना जटिल स्वास्थ्य अवस्थाका र दुईजना सामान्य अवस्थाका संक्रमित भर्ना भएर उपचार लिन शुरु गरेको बताए ।

सम्बन्धित शिर्षक :