रक्त क्यान्सरका सुरुवाती ६ लक्षण

ब्लड (रक्त) क्यान्सरका सुरुवाती लक्षण निकै सामान्य हुनसक्छन्
– छालामा डाबर वा फोका तथा रङमा बदलाव ब्लड क्यान्सरका लक्षण हुनसक्छन्
– उपचारमा ढिलाइ हुँदा ब्लड क्यान्सर खतरनाक हुन्छ

ब्लड क्यान्सर एक खतरनाक रोग हो। हामी धेरैलाई थाहै छ, हाम्रो रगत दुई प्रकारका कोषिका (सेल) मिलेर बनेको हुन्छ, रातो रक्तकोषिका र सेतो रक्तकोषिका। हाम्रो शरीरमा पर्याप्त रगत हुनु अति आवश्यक छ किनकि शरीरका विभिन्न अंगसम्म अक्सिजन तथा अन्य पोषकतत्व रगतको माध्यमले नै पुग्दछन्। ब्लड क्यान्सरको सुरुवात बोनम्यारोबाट हुन्छ किनकि रगत बोनम्यारोमै बन्छ। ब्लड क्यान्सर विभिन्न प्रकारका हुन्छन्। सुरुवाती अवस्थामा ब्लड क्यान्सरका लक्षण अति नै सामान्य हुन्छन्, जसलाई मानिसले बेवास्ता गरिदिन्छन् र पछि यसले घातक रूप धारण गर्छ। तसर्थ, ब्लड क्यान्सरबारे समयमै सचेत रही समयमै उपचार गराउन यसका सुरुवाती सामान्य लक्षणबारे ज्ञान हुनु अति नै आवश्यक छ, जसलाई यहाँ प्रस्तुत गरिन्छ।

१. बारम्बार इन्फेक्सन हुनु
ब्लड क्यान्सर हुँदा बिरामी बारम्बार इन्फेक्सनको सिकार हुन्छ। वास्तवमा, ब्लड क्यान्सरका बिरामीको रगतमा यस्ता कोषिका (सेल) विकसित हुन्छन्, जसले स्वस्थ सेललाई नोक्सान पुर्याउन थाल्छन्। हाम्रो शरीरका प्रत्येक अंगमा रगत पुग्छ, यसैले ब्लड क्यान्सरको लक्षण पनि शरीरका कुनै पनि अंगमा देखिन सक्छ। सामान्यतया: ब्लड क्यान्सर हुँदा बिरामीको छालाको इन्फेक्सन, जस्तै, छालाको रङ रातो, कालो वा खैरो हुनु, डाबर वा फोका हुनु, फोक्सोको इन्फेक्सन हुनु, घाँटी वा मुखको इन्फेक्सन हुनुजस्ता लक्षण देखापर्न सक्छन्। कुनै एक अंगको मात्र नभई एकैसाथ धरै किसिमका इन्फेक्सन पनि हुन सक्छन्।

२. घाउचोट लाग्दा रगत बन्द नहुनु
हाम्रो शरीरमा जब घाउचोट लाग्छ, सामान्यतया: केही समयमै रगत आफैं बन्द हुन्छ। यसको कारण यो छ कि, बाहिरी हावाको सम्पर्कमा आउँदा रगतको जम्ने प्रक्रिया सुरु हुन्छ। तर, ब्लड क्यान्सरको बिरामीमा यस्तो हुँदैन। यदि कुनै व्यक्तिमा घाउचोट लाग्दा केहीबेरमा रगत बग्न बन्द हुँदैन वा घाउ निको हुन वा पुरिन सामान्यभन्दा बढी समय लाग्छ भने यो ब्लड क्यान्सरको संकेत हुन सक्छ। यसबाहेक घाउचोट नलागेको अवस्थामा बिनाकारण नाक वा गिजाबाट निस्कनु तथा महिनावारीको समयमा अत्यधिक रगत बग्नु पनि ब्लड क्यान्सरका संकेतमा पर्दछन्। त्यसैले यस्ता लक्षण देखिए समयमै चिकित्सकसित जाँच गराउनु आवश्यक हुन्छ।

३. हर समय थकान र सुस्तता
थकान र सुस्तता निकै सामान्य लक्षण हुन्, जुन जुनसुकै अवस्थामा हामीमा देखिन सक्छ। तर, थकानका कारण हाम्रो नियमित काममा समस्या आउन थाल्यो र दिनभरि नै सुस्त रहन पुगिन्छ भने एकपटक स्वास्थ्यजाँच गराउनुपर्ने हुन्छ किनकि यो ब्लड क्यान्सरको सुरुवाती लक्षण पनि हुनसक्छ।

४. तीव्र गतिमा वजन कम हुनु
यदि हामीमध्ये कसैलाई अचानक आफ्नो वजनमा कमी आएको महसुस भइरहेको छ भने सबैभन्दा पहिले आफ्नो वजन तौलनु आवश्यक छ। यदि महिना दिनभित्रै बिना कुनै प्रयास साढे दुई किलोभन्दा बढी तौल घटे यो शरीरमा कुनै समस्याको संकेत हुनसक्छ। ब्लड क्यान्सर हुँदा पनि व्यक्तिको वजन बिनाकारण कम हुन थाल्छ।

५. जोर्नी तथा हड्डीमा पीडा हुनु
शरीरका जोर्नीहरूमा पीडा हुने समस्यालाई पनि हामी ज्यादै सामान्य मान्ने गर्छौं। सामान्यतया; जोर्नीहरूमा पीडा हुनुका अनेक कारण हुनसक्छन्, जसमा बाथ, थकान, चोटपटक, हड्डीकाे कमजोरीलगायत पर्दछन्। तर, हाम्रो जोर्नी वा हड्डीमा हुने पीडाको कारण ब्लड क्यान्सर पनि हुनसक्छ।

६. भोक कम लाग्नु तथा पेटको रोग हुनु
ब्लड क्यान्सरले हाम्रो पाचनतन्त्रलाई समेत नराम्ररी प्रभावित बनाउँछ। त्यसैकारण ब्लड क्यान्सर हुँदा मानिसमा भोक कम लाग्ने हुन्छ र कब्जियत तथा अपच हुने, दिसा तथा पिसाबमा रगत जानेजस्ता पेटका अनेक किसिमका लक्षण देखिन्छन्। हामीमा यदि यस्ता लक्षण देखिए तुरुन्त चिकित्सकसित यसको कारण जान्ने प्रयास गर्नुपर्छ।हेल्थपोष्टबाट

सम्बन्धित शिर्षक :