कोरोना खोप लगाएपछि यस्ता लक्षण देखिए सरकारले निशुल्क उपचार गर्छ :प्रवक्ता गौतम

दुख्ने, सुन्निने, रातो हुनसक्ने, ज्वरो आउन सक्ने, बान्ता आउने, मांसपेसी वा जोर्नीको दुखाइ हुने हुन्छ आत्तिन नहुँने

स्वास्थ्यसमाचार/ सरकारले कोरोना खोप लगाए पश्चात कुनै व्यक्तिलाई साइड इफेक्ट भएमा निस्शुल्क उपचार गर्ने जनाएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय का प्रवक्ता डा जागेश्वर गौतमले खोप लगाएपछि कुनै व्यक्तिलाई साइड इफेक्ट देखिएमा सम्पूर्ण उपचार खर्च सरकारले नै व्यहोर्ने बताएका हुन्।

‘पहिलो चरणमा हामीले अस्पतालबाट खोप अभियान सुरू गर्न लगाएका छौं डा। गौतमले  भने, ‘त्यसैले खोप लगाएर कुनै समस्या देखिए त्यसको व्यवस्थापनका लागि हरेक अस्पतालमा कसले हेर्ने भनेर तोकिसकेका छौं।’

सामान्यता खोप लगाएपछि केही मानिसमा सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, ज्वरो आउन सक्ने, बान्ता आउने, मांसपेसी वा जोर्नीको दुखाइ हुने हुन्छ।खोप लगाएपछि यस्ता समस्या शरीरमा एन्टीबडी बन्ने हुँदा आत्तिन नहुँने भाइरोलोजिष्ट डा वासुदेव पाण्डे बताउँछन्।

‘यो समान्य लक्षण हो। यस्ता लक्षण देखिँदा आत्तिनु हुँदैन,’ डा पाण्डे भन्छन्, ‘केही समस्या आएको खण्डमा आएमा तुरून्तै स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्दछ।’

सरकारले पहिलो चरणको खोप अभियानमा संघ, प्रदेश र स्थानीय तहमा सबै प्रकारका स्वास्थ्य संस्थामा कार्यरत कोभिड १९ को नियन्त्रण तथा जोखिम न्यूनीकरणमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिडको संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई प्राथमिकतामा राखेको छ।

केही भएमा खोप लिने स्वयं जिम्मेवार

कोराना विरुद्धको खोप लगाउन चाहनेहरूले खोपका कारणले भविष्यमा कुनै भवितव्य परी आए आफैं जिम्मेवार रहेको भनी मञ्जुरीनामामा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको छ।

‘नेपाल सरकारबाट कोभिड(१९ विरुद्धमा उपलब्ध भएको खोप मैले मेरो राजीखुशी लिएको छु र पछि कुनै भवितव्य परी केही भएमा कोही कसैलाई दोष नदिई म स्वयं जिम्मेवार हुनेछु,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड(१९ विरुद्धको खोप अभियान संचालनका लागि खोप लिनेलाई विवरण भर्न दिएको खोप कार्डमा लेखिएको छ।

‘खोपका कारण भएको समस्याको उपचार सरकारले निशुल्क रूपमा गर्छ,’ डा। गौतम भन्छन्, ‘ तर, मानिसलाई तल—माथि भएको खण्डमा सरकार जिम्मेवार हुँदैन।’मन्त्रालयका अनुसार खोपका कारण मानिसको मृत्यु भएमा त्यसको क्षतिपूर्ति सरकारले लिँदैन।

कोरोना भाइरसविरुद्धको खोप महामारी नियन्त्रणका लागि तत्काल प्रयोग गर्नुपर्ने नयाँ खोप भएकाले खोप उत्पादक कम्पनीहरूले साइड इफेक्ट देखिएमा त्यसको क्षतिपूर्ति नतिर्ने जनाएको छन्।सरकारले खोपका कारण कुनै अवाञ्छित घटना भए त्यसको क्षतिपूर्ति नतिराउने कुनै पनि खोप उत्पादक कम्पनी, आयातकर्ता र वितरकलाई नतिराउने निर्णय गरेको डा। गौतमले बताए।हेल्थपोष्टवाट

सम्बन्धित शिर्षक :