तिलोत्तमाका सबै वडामा स्वास्थ्य संस्था स्थापना गर्दछौ :प्रमुख घिमिरे

विद्यालयबाटैं विद्यार्थीहरुलाई स्वास्थ्य सेवा दिनेगरी १२ विद्यालयमा विद्यालय नर्स कार्यक्रम कार्यान्वयन

तिलोत्तमा नगरपालिका रुपन्देहीका नगरप्रमुख बासुदेब घिमिरे साढे ३ वर्षको कार्यकालमा नगरपालिकामा स्वास्थ्य शिक्षा खानेपानी समस्या, सडक पूर्वाधार र फोहर ब्यबस्थापन लगायका क्षेत्रमा उल्लेख्य सुधार गरेका छन् । नगरपालिका प्रमुख घिमिरेले स्वास्थ्य क्षेत्रमा कुनैपनि नागरिक रगत अभाब नहोस भनेर सोधभर्ना प्रतेक बडामा सरकार स्वास्थ्य संस्था नगरपालिकाले गर्भबति महिलालाई नगरपालिकाले आतिरिक श्रोतबाट निःशुल्क क्यालसियम चक्की बितरण जस्ता लोकपृर्य कार्यक्रम ल्याएको छ। नेपालमै धेरै कुरामा अग्रगामि छलाड मागरेको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेब घिमिरे बताउँछन् । नगरप्रमुखसग गरेको कुराकानी ।

स्वास्थ्य क्षेत्रमा के–कस्ता योजनाहरू कार्यान्वयनमा ल्याउनुभएको छ ?

हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था स्थापना गर्ने योजनाका साथ हालसम्म १६ वटामा सरकारी स्वास्थ्य संस्था सञ्चालन गरिएको छ ।आनन्दवन स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गर्न अस्पताल भवन शिलन्यास भएको छ ।

नगरमा स्थायी बसोबास भएका व्यक्तिहरुले रक्तसञ्चार सेवा केन्द्रबाट रगत सेवा लिएमा वार्षिक १५ पोका बराबरको शुल्क बिलअनुसार शोधभर्ना दिने व्यवस्था मिलाइएको छ । नगरका बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलालाई एक हजार प्रोत्साहन भत्ता दिने गरिएको छ ।

गर्भवती महिलालाई नगरपालिकाको स्रोतबाट निःशुल्क क्यालसियम चक्की वितरण गरिँदै आइएको छ । हरेक पटक गर्भ परीक्षण गराउँदा गर्भवतीलाई उपहार दिनेगरी गर्भवतीसँग उपमेयर कार्यक्रम कार्यान्वयन गरिएको छ । विद्यालयबाटैं विद्यार्थीहरुलाई स्वास्थ्य सेवा दिनेगरी १२ विद्यालयमा विद्यालय नर्स कार्यक्रम कार्यान्वयन गरिएको छ ।

आर्थिक समृद्धिको लागि हामीले तिलोत्तमा लगानी सम्मेलन सम्पन्न गर्यौं । लगानी सम्मेलनमा जनाइएको प्रतिबद्धताअनुसार लगानी आउने क्रम जारी छ । कोरोना महामारीको कारण केही काम प्रभावित भए पनि त्यसले पुनः गति लिँदैछ । लगानी सम्मेलनमा जनाइएको प्रतिबद्धताअनुसार दुग्ध प्रशोधन परियोजना, कोल्डस्टोर परियोजना, तिलोत्तमा चक्रपथमा रेल सञ्चालन परियोजनालगायत लगानीका धेरै परियोजनाहरु अघि बढेका छन् । यी परियोजनाहरु कार्यान्वयनमा आउँदा यहाँको आर्थिक गतिविधि स्वभाविक रुपमा बढ्नेछ ।

यस्तै नगरपालिकाले साना उद्योगहरु स्थापना गर्ने उद्देश्यले औद्योगिक ग्राम बनाउने काम पनि अघि बढाएको छ । यी सबै विषयहरु यहाँको आर्थिक विकास र समृद्धिको लागि केन्द्रीत छन् । हामीले कृषि क्षेत्रको उत्थानको लागि अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउने, दुधमा अनुदान दिने, पशु बीमामा अनुदान दिने, कृषि उपकरणमा अनुदान दिने, बिउबिजनमा अनुदान दिने तमाम कार्यहरु गर्दै आएका छन् । यी कार्यक्रमले यहाँको कृषि क्षेत्रको विकासको लागि महत्वपूर्ण भूमिका खेलेको हामीहरुको विश्वास छ ।

कार्यसम्पादनको तीन वर्षमा के–कति विकास निर्माणका कामहरू भए ?

तिलोत्तमा नगरपालिका नयाँ नगरपालिका हो । साविकका सात वटा गाविस मिलेर यो नगरपालिका निर्माण भएकोले हामीले नगरपालिकाको रुपमा प्रारम्भिक चरणबाट काम थालेका हौं । ‘समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर शहर; सुशासनयुक्त, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर’ भन्ने दीर्घकालीन सोंचका साथ ५ वर्षको आवधिक योजना र १५ वर्षको रणनीतिक योजना निर्माण गरी समग्र विकास निर्माणका कामहरु अघि बढाइएको छ ।

नगरपालिकामैं बैंक काउण्टर स्थापना गरी क्यासलेश नगरपालिका बनाइएको छ भने पेपरलेश नगरपालिकाको अवधारणाअनुसार अघि बढिएको छ । स्थानीय सरकारको रुपमा हामीले स्थानीय कानुन निर्माणदेखि पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउने, काठमाडौं बाहिर पहिलो लगानी सम्मेलन गर्ने, सुशासन, प्रवद्र्धनात्मक अभियानलगायत सबै प्रकारका कामहरु एकसाथ अघि बढाएका छौं । नगरबासीलाई सबैभन्दा नजिकको अभिभावकीय सरकारको अनुभूति दिनेगरी हामीले कार्यसम्पादन गर्दै आएका छौं ।

भौतिक र शैक्षिक क्षेत्रमा के–कस्ता काम गर्नुभयो त ?

भौतिक क्षेत्रको रुपमा कुरा गर्नुपर्दा हामीले सडक कालोपत्रे, ग्राभेलदेखि आफ्नै सुविधासम्पन्न प्रमुख प्रशासकीय भवन निर्माणसम्मका काम गरेका छौं । १७ वडाका आफ्नैं वडा कार्यालय भवन यहीँ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी काम अघि बढेको छ ।नगरपालिकाको आफ्नैं सुविधासम्पन्न सभाहल तथा अतिथि गृह निर्माण गरिएको छ । पर्यापर्यटनको प्रवद्र्धनसँगै नगरपालिकाको आन्तरिक आय बढाउन शंकरनगर वनवाटिकामा बहुउद्देश्यीय भ्यूटावर निर्माण गरिएको छ ।
मोटरेवल पुल निर्माण, कल्भर्ट निर्माण, ह्युमपाइप व्यवस्थापन, सिंचाईकुलो, ढल तथा नाली निर्माण, तटबन्धनलगायतका काम गरिएको छ । नगरको स्रोतबाट नयाँ विद्युतीकरण तथा पुराना पोल विस्थापन, ट्रान्समिटर जडानका काम पनि भएका छन् ।

शिक्षाको सन्दर्भमा कुरा गर्दा हामीले सामुदायिक विद्यालयका बालविकास केन्द्र र कक्षा १ देखि ५ सम्मका लक्षित वर्गका २५ सय ६७ विद्यार्थीलाई हरेक दिन २५ रुपैंयाँ बराबरको दिवा खाजाको व्यवस्था गरेका छौं । जंगफुडलाई निरुत्साहित गरी घरमैं बनेका स्वास्थ्यबद्र्धक खाजा प्रयोगलाई प्रोत्साहन गर्न कक्षा १ देखि ५ सम्मका सबै बालबालिकाहरुलाई टिफिनक्यारी प्रदान गरिनुको साथैं सबै सामुदायिक विद्यालयहरुमा एकै प्रकारको रंगरोगन गरिएको छ ।

मावि तह सञ्चालन रहेका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी, दरबन्दी कम रहेका विद्यालयमा नगरपालिकाको शिक्षक अनुदान कोटामा १४ जना शिक्षक नियुक्त गरी सहयोग, बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरुलाई नगरपालिकाबाट मासिक तीन हजार रुपैंयाँ प्रोत्साहन भत्ता थप गरिएको छ ।

नगर प्रमुख छात्रवृत्ति कोषबाट हरेक वर्ष सबै सामुदायिक विद्यालयका १-१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिँदै आइएको छ भने सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क स्यानेटरी प्याडको व्यवस्था गरिएको छ । यातायात सञ्चालनका लागि १० विद्यालयहरुलाई १०-१० लाख अनुदान प्रदान गरिएको छ ।

सबै विद्यालयमा आकर्षक बाल विकास कक्षा व्यवस्थापन गरिएको छ भने स्थानीय पाठ्यक्रम कार्यान्वयन गरिनुको साथै तिलोत्तमा सिटी कलेज, प्राविधिक शिक्षालय स्थापना पहल गरिएको छ । समग्रमा भन्नुपर्दा सबै सामुदायिक विद्यालयलाई निजी विद्यालय सरहको हैसियतामा पुर्याउँदै सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको थप आकर्षण बढाउने गरी काम गरिएको छ ।

पर्यटन विकासका लागि कुनै सम्भावनाहरू छैनन् ?

पर्यटन विकासको लागि हामीले केही कामहरु प्रारम्भ गरेका छन् । यहाँका पर्यटकीय स्थानहरुको प्रचारप्रसार गर्ने, ती स्थानमा पूर्वाधार बनाउने, संघीय र प्रदेश सरकारलाई पूर्वाधार निर्माणमा सघाउन आग्रह गर्नेलगायतका काम हामीले गर्दै आएका छन् ।यस्तै होमस्टे प्रवद्र्धन, सघन सरसफाई, सडकमा बुद्धमूर्ति स्थापना, वनवाटिकामा बहुउद्देश्यीय भ्यूटावर निर्माणलगायतका कामहरु पर्यटन विकासका लागि गरिएका प्रयासहरु हुन् । यस्तै नयाँ बन्ने घरहरुलाई निर्धारण गरिएको कलर कोड पनि पर्यटनसँग सम्बन्धित विषय हो भन्ने लाग्छ ।

बढ्दो बेरोजगारीलाई न्यूनीकरण गर्न कुनै योजनाहरू अगाडि सार्नुभएको छ ?

बेरोजगारीलाई न्यूनीकरण गर्नको लागि हामीले उद्यमशीलताको विकासको लागि युवाहरुलाई सीपमुलक तालिमको व्यवस्थादेखि उनीहरुलाई व्यवसायमा जोड्न विनाधितोमा ऋण दिनेसम्मका कामहरु गरेका छन् ।

उद्यमशीलता प्रवद्र्धन गरेर युवाहरुलाई स्वरोजगार बनाउने र विदेश जाने क्रम रोक्नेमा हामीहरुको ध्यान केन्द्रीत छ । पछिल्लो समयमा कोरोना महामारीपछि बढेको बेरोजगारी समस्या न्यूनीकरण गर्न हामीहरुले मूलतः दुई वटा परियोजना अघि सारेका छौं । युवाहरुलाई उत्पादनसँग जोडी स्वरोजगार बनाउन विनाधितोमा सहुलियतपूर्ण कर्जा दिन सुरु गरिएकोमा व्यवसायिक आलुखेती प्रवद्र्धन परियोजना समेत सञ्चालन गरेको छ ।

स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति बढीमा चार लाख रुपैंयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्न थालेपछि युवाहरुमा आशाको सञ्चार भएको हामीहरुको अनुभव छ ।

मूलतः विदेशबाट फर्किएका बेरोजगार युवाहरुलाई लक्षित गरी सानोतिनो रकमबाट केही काम गर्न चाहनेहरु यो कर्जाबाट लाभान्वित हुने हामीहरुको विश्वास छ । यस्तै तिलोत्तमा नगरपालिकामा यो वर्षबाट ६० बिगाहा क्षेत्रफलमा आलुको सामूहिक खेती सुरु गरिएको छ । कोरोना महामारीमा स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्दै आलुको उत्पादन बढाउन यो कार्यक्रम अघि बढाइएको हो ।

किसानलाई ज्ञान, सीप तथा प्रविधिमा सहयोग पुर्याउन नगरपालिका र युएनडिपीको सहयोगमा प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारीले परियोजना सञ्चालन गरेको छ । यसअघि घरपरिवारको लागि मात्र खपत हुने आलु खेती गर्ने किसानले यो वर्ष परियोजनाअन्तर्गत् सात बिगाहासम्मको एउटै प्लटमा आलु खेती गरेका छन् । आलुबाहेक अन्य सिजनमा समेत सामूहिक र चक्लाबन्दी खेती गर्ने किसानलाई नगरपालिकाले सधैं प्रोत्साहन गर्ने नीति लिएको छ ।

आर्थिक वर्षमा बजेट खर्चको अवस्था कस्तो रह्यो ?

तिलोत्तमा नगरपालिकाले बजेट खर्चलाई लक्ष्यअनुरुप नैं गर्दै आएको छ । खासगरी आर्थिक वर्षको अन्त्यमा हतार हतार बजेट खर्च गर्दा विकास निर्माणको काम गुणस्तरीय नहुने गरेको पाइएपछि हामीले विकास निर्माणको भुक्तानी जेठ महिनाभित्रै गरिसक्ने अभ्यास थालेका थियौं । तर, गत आर्थिक वर्षमा कोरोना महामारीको कारण त्यो प्रभावित भयो ।

कोरोना महामारीको कारण गत आर्थिक वर्षको बजेट कार्यान्वयनमा समस्य आएकोमा भौतिक पूर्वाधार निर्माणलाई चालु आर्थिक वर्षमा निरन्तरता दिएर काम भएको छ । हामीकहाँ बजेट खर्च अत्यन्त सन्तुलित रुपमा हुने गरेको छ ।

चालू आर्थिक वर्षका लागि कति बजेट विनियोजन भएको छ ? बजेटले कुन–कुन क्षेत्रलाई प्राथमिकता दिएको छ ?तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७\७८ को बजेट स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा केन्द्रीत गरेको छ । कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई मध्यनजर गरी ल्याइएको चालु आर्थिक वर्षको बजेट १ अर्ब ८९ करोड २६ लाख ७२ हजार ५ सय ६४ रुपैंयाँको छ ।

बजेटमा सामाजिक सुरक्षाको २५ करोड बाहेक चालुतर्फ ५२ करोड १ लाख २१ हजार ५ सय ६० अर्थात् ३१.६७ प्रतिशत र पूँजीगत तर्फ १ अर्ब १२ करोड २५ लाख ५१ हजार ४ रुपैंयाँ अर्थात् ६८.३३ प्रतिशत रकम खर्च प्रस्ताव गरिएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको बजेटको आकार ३५ करोडले बढी हो ।

बजेटमा आम्दानीका स्रोतको रुपमा आन्तरिक राजस्व ५७ करोड ९२ लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब २३ करोड ३४ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट ३ करोड, गत वर्षको मौज्दातबाट १ करोड, लागत सहभागितामार्फत् ४ करोड प्राप्त हुने लक्ष्य निर्धारण गरिएको छ ।

बजेटमा शिक्षामा ३५ करोड ६८ लाख, स्वास्थ्यमा १३ करोड ६० लाख, कृषि, पशुपालन र सिँचाईमा ९ करोड ७६ लाख विनियोजन गरिएको छ । उद्योग तथा वाणिज्य क्षेत्रको लागि ६ करोड ७५ लाख, भवन, शहरी विकास र पूर्वाधारको लागि ४४ करोड ५८ लाख, युवा साझेदारी कार्यक्रम तथा खेलकुद मैदान पूर्वाधारको लागि २ करोड २२ लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको लागि २ करोड २२ लाख विनियोजन गरिएको छ ।

तिलोत्तमानगर पालिकामा सुशासनको अवस्था कस्तो छ ? कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध कस्तो छ ?

हामीले नगरका सबै निर्णय, बजेट कार्यान्वयन सबैलाई पारदर्शी बनाउने गरेका छन् । हरेक कार्यपालिका बैठकका निर्णयहरु सार्वजनिक गर्ने, समय–समयमा सार्वजनिक सुनुवाई गर्ने, नगरबासीका गुनासाहरु सुन्ने र सम्बोधन गर्नेलगायतका कामहरु हामीले सुशासन प्रवद्र्धनको लागि गर्दै आएका छौं ।

हामीकहाँ कर्मचारी र जनप्रतिनिधिहरुको सम्बन्ध अत्यन्त सुमधुर छ । कर्मचारी र जनप्रतिनिधि दुवै को काम, लक्ष्य र उद्देश्य भनेकैं जनताको सेवा गर्ने, विकास निर्माण गर्ने, समृद्धि ल्याउने भएकोले यसमा कुनै अलमल वा अर्थोक केही छैन ।

अन्तमा, तिलोत्तमा आफैंमा मुलुककैं अग्रणी पालिका हो । यसले गरेका अभ्यास अरुका लागि पनि अनुकरणीय छन् । यो अवस्थामा तपाईं स्थानीय तहको समृद्धिको लागि के–कस्ता कुराहरूको आवश्यक पर्ने ठान्नुहुन्छ ?

स्थानीय तहको समृद्धिको लागि सबैभन्दा महत्वपूर्ण कुरा नेतृत्वको इच्छाशक्ति नैं हो । हिजो जे गरियो त्यहीँ तरिकाले आज काम गर्दा समृद्धि आउन सक्दैन । फरक शैली र व्यवहारले काम गर्नुपर्दछ भन्ने मलाई लाग्छ । अरुको कुरा सुन्ने, अरुका सुझाव लिने गरियो भने फरक तरिकाले काम गर्न सकिन्छ । तिलोत्तमा नगरपालिकामा हामीहरुले सधैं नगरबासीलाई माथि राखेर काम गर्ने गरेका छौं । नगरबासीको सहयोग, सुझाव, सहकार्यले नैं हामीले केही फरक काम र अभ्यास गर्न सकेका हौं ।

हाम्रो मुलुकमा विकास भनेको केवल सडक कालोपत्रेलाई मात्र भन्ने आमप्रवृत्ति छ । समाजिक विकास सबैभन्दा ठूलो विषय हो भन्ने मलाई लाग्छ ।भौतिक पूर्वाधारलाई टिकाइराख्न पनि मानिसमा सामाजिक विकास अपरिहार्य छ । यसलाई नेतृत्वले बुझ्न सकेमा समृद्धिलाई अलि छिटो नजिक ल्याउन सकिन्छ भन्ने मलाई लाग्छ ।

सम्बन्धित शिर्षक :