भारतले दिएकाे कोरोनाविरुद्धको खोप ४ लाख ५० हजारलाई पुग्ने

काठमाडौं । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार बिहान नेपाल ल्याइएको छ। जुन खोपले सातै प्रदेशका ४ लाख ५० हजार जनालाई पुग्ने अनुमान गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १० लाख डोज खोप भण्डारण गरिएको जानकारी दिए। यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले अनुदानमा उपलब्ध भएको खोप ५ लाख जनालाई पुग्ने अपेक्षा गरिए पनि केही खेर जान सक्ने बताए। ‘अलिअलि खेर जान पनि सक्छ। खेर गएको अवस्थामा ४ लाख ५० हजारलाई खोप पुग्ला’, उनले भने।

यो खोप दुई साताभित्र पहिलो डोज लगाउने तयारी छ। यद्यपि, मिति यकिन भइनसकेको मन्त्रालयले जनाएको छ। पहिलो खोप सातै प्रदेशमा एकसाथ खोप लगाउने तयारी छ। अनुदानमा प्राप्त खोपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खोप रेफ्रिजेरेटर भ्यानमा राखेर टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा व्यवस्थापन गरिएको छ। यस खोपलाई प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा पठाउने तयारी रहेको विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले बताए। पहिलो चरणमा चिकित्साकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न व्यक्ति र सुरक्षाकर्मीलाई उपलब्ध गराइनेछ।

राष्ट्रिय खोप सल्लाहकार समितिले पहिलो खोप लगाएको व्यक्तिलाई चार सातापछि दोस्रो डोज खोप दिन सिफारिस गरेको छ। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पहिलो खोप कुन मितिमा लगाउने भनेर यकिन भइसकेको छैन। ‘दुई पटक खोप लगाउनुपर्छ। पहिलो डोज खोप लगाएको चार सातापछि दोस्रो डोज (मात्रा) लगाउनु पर्छ’, उनले भने।

औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि माघ २ गते ससर्त अनुमति दिएको थियो। सेरम इन्स्टिच्युट अफ इन्डियाले यो कोभिसिल्ड खोप अक्सफोर्ड र एस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको हो। यो खोप भारतमा पनि लगाउन सुरु गरिएको छ।

थप ४० लाख डोज आवश्यक
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई कोरोना भाइरसविरुद्ध थप ४० लाख डोज खोप आवश्यक पर्ने बताएका छन्। बालुवाटारमा बिहीबार भारत सरकारका तर्फबाट राजदूत विनयमोहन क्वात्राले उपहारस्वरूप दिएको १० लाख डोज खोप बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले थप खोप खरिद गर्नुपर्ने बताएका हुन्।

‘भारत सरकारले नेपाललाई कसरी उपलब्ध गराउन सक्छ, छलफल गर्न आवश्यक छ’, प्रधानमन्त्री ओलीले भने। उनले आवश्यक खोप खरिद गर्न नेपाल तयार रहेको बताए। उनले भारत सरकारले बाँकी खोप पनि उपलब्ध गराउने विश्वास व्यक्त गरे। भारतले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्नु मित्रताको प्रतीकका रूपमा रहेको उनले उल्लेख गरे।-अन्नपूर्णबाट

सम्बन्धित शिर्षक :